+
+
Shares

चिडियाखानाको रेड पान्डा हाले झोलामा, चिच्याएपछि फाले घारीमा

रेड पान्डा कराएपछि थाहा पाउने डरले उनीहरूले झोला नै चिडियाखानाभित्र निगालो घारीमा फ्यालेर फरार भएको पाइएको एसएसपी अधिकारीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको सदर चिडियाखानामा रेड पान्डा चोरीको प्रयास भएको थियो, जसमा दुई जना पक्राउ परेका छन्।
  • प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई भारतीय नागरिक फरार रहेका छन् ।

२० जेठ, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा तेस्रो प्रयासमा चोरी गरेर उम्कन खोज्नहरू अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् ।

परिसरको हिरासतमा धादिङबेशी घर घएका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहार राज्य वैशालीका २६ वर्षीय मोहमद तफिक छन् । यही घटनामा संलग्न भएको आरोपमा लागेका दुई भारतीय भने अहिलेसम्म फरार छन् । उनीहरूको पहिचान भएको प्रहरीले दाबी गरेको छ, तर उनीहरू पक्राउ पर्न सकेका छैनन् ।

उनीहरूले दुई पटकसम्म चिडियाखाना गएर रेकी गर्दै तेस्रो प्रयासमा रेड पान्डा चोरेर झोलामा समेत प्याक गरिसकेका थिए । मध्यराति चिडियाखानाबाट रेड पान्डा चोरेर झोलामा समेत प्याक गरेका उनीहरू रेड पान्डा कराउन थालेपछि झोला फालेर फरार भएको पाइएको ललितपुर परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

३० वैशाखको राति १० बजेतिर चिडियाखानाबाट रेड पान्डा चोरीको प्रयास भएको सूचना परिसरमा आएको थियो त्यसपछि परिसरको टोली चिडियाखाना पुगेको थियो ।

घटनास्थलबाट पेचकस, रेड पान्डाको भुत्लासहितको झोला एक जोर जुत्ता समेत प्रहरीले बरामद गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज केलाएको प्रहरी यो घटनाका आरोपितसम्म पुग्न सफल भएको हो ।

पक्राउ परेका तफिक स्वम्भूमा चराचुरुङ्गीको व्यापार गर्दै आएका थिए । सीसीटीभी फुटेज पच्छ्याउँदै गएको प्रहरीले उनीहरुलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

रेड पान्डा चोर्ने योजनाहरू उनीहरू हाल फरार रहेका दुई भारतीयसहित चिडियाखाना पुगेको पाइएको छ । टिकट काटेर चिडियाखाना छिरेका उनीहरू रेड पान्डा बस्ने स्थान, झ्याल, ढोका र भित्र प्रवेश गर्न सकिने सम्भावित ठाउँदेखि सीसी क्यामेराको कभरेजसम्मको विश्लेषण गर्दै त्यस दिन बाहिरिएका थिए ।

पुनः अर्को दिन पनि उनीहरू त्यसैगरी टिकट काटेर चिडियाखाना छिरे । रेकी गरे घुम्ने समय सकिएपछि उनीहरू बाहिर ननिस्की क्यान्टिन भित्रै अलमलिएर बसेको एसएसपी अधिकारी बताउँछन् । राति रेड पान्डा चोर्न खोज्दा रुखमा बसेपछि त्यो दिनको योजना पनि असफल भयो । उनीहरू उत्तरतर्फको कम्पाउन्डबाट भागे ।

तेस्रो दिन ३० वैशाखमा उनीहरू दिउँसो त्यसैगरी टिकट काटेर चिडियाखानाभित्र छिरे । त्यसैगरी लुकेर क्यान्टिनमा बसे र राति भएपछि रेड पान्डालाई नियन्त्रणमा लिएर झोलामा हाले । र, लिएर निस्कने बेलामा भने रेड पान्डा करायो, त्यसपछि कर्मचारीको पनि चहल पहल बढ्यो ।

रेड पान्डा कराएपछि थाहा पाउने डरले उनीहरूले झोला नै चिडियाखानाभित्र निगालो घारीमा फ्यालेर फरार भएको पाइएको एसएसपी अधिकारीले बताए । राति १० बजेमात्रै चिडियाखानाको मुख्य गेट बन्द हुने भएकाले उनीहरूले मुख्य गेटबाटै निस्केको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?