
News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन पेन्ट्सले नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१/८२ का विजेता घोषणा गरेको छ ।
- प्रतियोगितामा कीर्तिपुरको फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन प्रस्तुत गरिएको थियो, जसमा पाँच विजेतालाई पुरस्कार वितरण गरियो।
काठमाडौं । एसियन पेन्ट्सले नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१/८२ का विजेता घोषणा गरेको छ ।
बुधबार काठमाडौंको होटल मेरियटमा एक समारोहबीच १२औं क्लाइडोस्कोप नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१/८२ को पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको हो ।
यस वर्षको प्रत्यक्ष परियोजना कीर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२ हजार ८ सय ८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो । र, यस डिजाइनमा सहभागी ५ जना विजेतालाई पुरस्कार वितरण गरिएको हो ।
विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार वितरण गरे ।
प्रथम पुरस्कार ख्वपः इन्जिनियरिङ कलेजकी अलिशा नकर्मीले हात पारिन् । प्रथम विजेता नकर्मीले ७० हजार रुपैयाँ पुरस्कार पाइन् । यस्तै द्वितीय हुन सफल पुलचोक क्याम्पसकी प्रियंका कौशिक क्षेत्रीले ४० हजार रुपैयाँ प्राप्त गरिन् । तृतीय पुरस्कार विजेता थापाथली क्याम्पसकी सुवी कँडेलले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
सान्त्वना पुरस्कार विजेता बने ख्वपः इन्जिनियरिङ कलेजकी माइका पोखरेल र काठमाडौं इन्जिनियरिङ कलेजका आयुष मल्ल । दुवै जनाले १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खेलकुदमन्त्री चौधरीले विजेतालाई बधाई दिँदै युवा प्रतिभाले नै देशको भविष्य उज्जवल बनाउने बताए ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
यस्तै देशभरिका प्रतिष्ठित आर्किटेक्चरल कलेजका वरिष्ठ प्राध्यापकहरू, पूर्वविजेता, प्रतियोगितामा सहभागी विद्यार्थीहरू तथा ख्यातिप्राप्त आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको समेत कार्यक्रममा उपस्थिति थियो ।
यो प्रतियोगिता नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहवर्द्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यसाथ आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै एसियन पेन्ट्सका कन्ट्री डिरेक्टर अभिमान ब्रारियाले क्लाइडोस्कोप प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था र उद्योगबीच सहकार्य गर्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सिर्जनशीलता र पेसागत तयारीमा सशक्त बनाउनु रहेको बताए ।
यस प्रतियोगिताले विद्यार्थीलाई वास्तविक परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै तिनीहरूको क्षमता उजागर गर्न मद्दत पुयाउने उनले विश्वास व्यक्त गरे ।
उक्त परियोजनामा सहभागीहरूले नवीनतम डिजाइन सिद्धान्तहरू प्रयोग गरी स्थायित्व, कार्यक्षमता र स्थानीय सन्दर्भको सम्मान गर्ने चुनौती सामना गरे ।
एसियन पेन्ट्सले शैक्षिक र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै युवाहरूलाई सिर्जनात्मक चुनौतीहरू मार्फत सशक्त बनाउन निरन्तर प्रयत्न गर्दै आएको छ ।
क्लाइडोस्कोपको १२औं संस्करण पुनः एकपटक युवा प्रतिभालाई सम्मान गर्ने तथा उद्योगसँग जोड़ने एक सफल प्रयासका रूपमा चिनिएको कम्पनीको भनाइ छ ।
तस्वीरहरू : चन्द्र आले
प्रतिक्रिया 4