
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘करुणा’ले राधिका शाक्यको जीवन संघर्ष, त्याग र समाजप्रति सर्मपणभावलाई उजागर गरेको छ।
- उहाँले आर्थिक अभाव र अत्याचारसँग लड्दै सफलता प्राप्त गर्नुभएको छ।
- केपी ओलीसँगको सम्बन्ध र उहाँको जीवन दर्शनले ‘करुणा’को मुख्य विषयवस्तु बनाएको छ।
‘करुणा’ले चिनाएको हैन राधिका शाक्यलाई । उहाँको आर्दश, मानवीय अभियान र सत्य, निष्ठा तथा आफ्नाप्रतिको सर्मपणभावले चिनेको हुँ उहाँलाई । यो परिचयको डोरी धेरै अघिबाट तन्किएको छ मेरा मनमा । उहाँसँग भेटघाट छैन, फेरि पनि परिचित छु म उहाँको दैनिकीसँग ।
परिचयको डोरी प्रधानमन्त्री एवम् नेकपा एमालेको अध्यक्ष केपी सरप्रति उहाँको सर्मपणभावबाट सुरु भएका हुन् । त्यो सर्मपणभाव उहाँहरूबीचको पहिलो भेटबाट सुरु भई अनवरत निश्चलतापूर्वक अघि बढिरहेको छ । शान्त समुन्द्रको नीलो पानी जसरी । समुन्द्रमा यदाकदा सुनामी आउँछन्, तर उहाँहरूको सम्बन्धमा सानो छाल पनि आएको छैन्।
‘मेरो नाम केपी ओली, ज्यान यही हो । मसँग सम्पतिको नाममा केही पनि छैन । मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिँन । मैले तिमीलाई समय पनि दिन सक्दिँन । ’विवाहका लागि केटी हेर्न जाँदा केपी सरको परिचय दिने शैली अनौठो थियो । सायद केटी पक्षलाई केपी सरको परिचय तितो थियो । तर, सत्य थियो ।
पारिवारिक सालिनतामा हर्किनुभएकी राधिका शाक्यका लागि केपी सरको त्यही तितो सत्य सर्मपर्णभावको अनुपम अवसर बनिदिएको हुनुपर्छ ।
राधिका शाक्यले विवाहका लागि तत्काल जवाफ दिनुभएन । तर, केपी सरको सत्य मुस्कानले उहाँको मनमा प्रेमको अंकुरण पलाइसकेको थियो । उहाँले सत्यलाई स्वीकार गर्नुभयो । संघर्षलाई अंगाल्नुभयो । र, योद्धालाई साथ दिनुभयो ।
भाग्य आफैंले बनाउने हो । तर परिवेश कहिलेकाँही फरक पनि हुँदोरहेछ । राधिका शाक्यले केपी सरको भाग्य बनाइदिनुभयो भन्छु म । योग्यता, क्षमता, सक्रियताले मात्र भाग्य निर्धारण गर्दैन । त्यसका लागि वातावरण र प्रेमिल साथ पनि आवश्यक हुन्छ । केपी सरको योग्यता, क्षमता र सक्रियतामा कसैले पनि प्रश्न गर्ने ठाँउ छैन । फेरि पनि केपी सरको भाग्य निर्धारणमा राधिका शाक्यको निस्वार्थ सर्मपणभावको मुख्य भूमिका छ ।
राधिका शाक्यमा अहमता छैन । ठूलो पार्टी अध्यक्षको धर्मपत्नी हुनुको अहमता छैन, नेपालको प्रधानमन्त्रीको धर्मपत्नी हुनुको अहमता छैन । न राष्ट्र बैङकको अधिकृतबाट सेवा निवृत्त भएको अहमता नै छ ।
अहमता मानिसको स्वभाव हो । राधिका शाक्यको सालिनतामा अहमतालाई जस्केलाबाट समेत चिहाउने छुट छैन । मैले ‘करुणा’का सबै शीर्षकहरू पढेँ । स्कुललाई जीवनको दृढ संकल्प मानेर अध्यनमा पौडिरहेको राधिका शाक्यको चेतनाले सफलताको चुचुरा मात्र देखेको थियो । आर्थिक अभावले पढाइमा ब्रेक नलागोस भनेर उहाँले स्कुल पछिको समय साथीभाइसँग रमाउने वा अतिरिक्त कक्षा लिने कुरामा खर्चनुभएन । त्यो समय क्यूरिओमा काम गरेर खर्च जुटाउने अभियानमा व्यतीत गर्नुभयो ।
‘करुणा’मा उहाँको क्यूरियो काम– अभियान पढेपछि मलाई गाँउघरका बालबालिकाहरूको याद आयो । हाम्रो देशका धेरै ग्रामीण क्षेत्रका बालबालिकाहरूले अहिले पनि राधिका शाक्यकै जस्तो पीडा भोगिरहेका छन् ।
पढाइ खर्चको जर्गेना गर्नकै लागि अहिले पनि धेरै बालबालिकाहरू विदाको समयमा साथीभाइसँग खेल्दैनन् बरु सिजनअनुसार ऐँसेलु, काफल, गुँरास जस्ता जंगली फल टिपेर बजारमा बेच्न लैजान्छन् । आफन्त– अभिभावकको पछि लागेर जोखिम मजदुरी गर्न अभ्यस्त हुन्छन् ।
नीति र विधिमा बालश्रमको कुरा भएपनि व्यवहारमा त्यसले काम गरेको देखिँदैन । गरिबी र विपन्नताले उजाडिएको धेरै वस्तीका बालबालिकाहरू अध्ययनका लागि आफैँ जोखिम मोलेर पैसा जम्मा गर्नुपर्ने बाध्यतासँग अचेटिएका छन् ।
‘करुणा’ विक्रीबाट उठेका पैसा तिनै ग्रामीण बालबालिकाको शैक्षिक सुधारमा खर्च गरियो भने कति सुन्दर संयोग हुन्थ्यो होला ‘करुणा’ र राधिका शाक्यको जीवन संघर्षको कथा बीचमा !
मृत्युलाई परास्त गरेर अध्ययनमा अघि बढेको राधिका शाक्यको दैनिकी, अभाव र अत्याचारसँग पौठेजोरी खेल्दै उत्कृष्टताको उचाइमा पुगेको हो । राजनीतिक चेतसँग अघि बढेको सत्य, निष्ठा र सर्मपणसहितको उहाँका पाइलाहरू अन्याय र अत्याचारलाई कुल्चदै तङ्ग्रिएको थियो । त्यसैले उहाँलाई बेतुकका बिझाँइहरूले तर्साउँदैन थियो ।
त्यसकारण उहाँलाई केपी सरको समय चाहिँदैन थियो । धागो धरोको आश थिएन । केपी सरको सत्य र दृढ संकल्पित आत्मबलले समाजमा व्याप्त असमानता, अत्याचार र गरिबी अन्त्य गर्न सक्छ भन्ने विश्वासका साथ उहाँले केपी सरसँग विवाह गरेर अनवरत साथ दिने निर्णय गर्नुभएको थियो ।
साँच्चै उहाँले केपी सरको समय र आर्थिक सहयोग कहिल्यै अपेक्षा गर्नुपरेन । राष्ट्र बैंकको जागिरबाट उहाँले केपी सरको समेत खर्च थेग्नुभयो । रोगले थलिएका बेला उहाँले पूरै समय केपी सरलाई दिनुभयो । तर, विवाहपछिको प्रेमील उत्कर्षमा पनि उहाँले केपी सरसँग समयको अपेक्षा गर्नुभएन ।
राजनीतिक परिवेशबाट हुर्किएको र राष्ट्र बैंकको अधिकृतबाट अवकास पाएपछि राधिका शाक्यले चाहनुहुन्थ्यो भने पार्टी कमिटी वा कतै उपयुक्त नियुक्ती लिएर रवाफ देखाउन सक्नुहुन्थ्यो । तर उहाँलाई त्यसो गर्न पारिवारिक संस्कार, आफूभित्र हुर्कीएको सर्मपणभाव र केपी सरको राजनीतिक त्यागले पनि दिएन ।
उहाँको एउटै धेय थियो– केपी सरको सफलताको सारथि बन्नु ।
राधिका शाक्य सफल बन्नुभएको छ, आफ्नो उद्देश्यमा । किनभने, केपी सरको सफलतामा कोही असली हकदार छन् भने त्यो राधिका शाक्य नै हुनुहुन्छ ।
‘करुणा’मा केपी सरले मीमांसा लेख्नुभएको छ ।
‘फर्क, फर्क हे जाउ समाउ
मानिसहरूको पाउ,
मलम लगाउ आर्तहरूको
चहराइरहेको घाउ’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको यो लाइनलाई केपी सरले राधिका शाक्यको जीवन दर्शनका रुपमा व्याख्या गर्नुभएको छ । लेख्नुभएको छ– ‘मानिसहरूको दुख देख्न नसक्ने ‘करुणा’को भाव उनमा अत्यन्तै प्रबल छ । कसैको अलिकति दुःख देख्यो भने आफैँ भावुक हुने, आफैँ रुन थाल्ने । के गर्न सकिन्छ, त्यसमा लागिरहने सहयोगी मन र भावना उनीमा छ । खालि भावनाले दुःख मान्ने मात्र होइन, त्यो दुःखलाई कसरी न्युन गर्न सकिन्छ भन्नेमा आफ्ना तर्फबाट लागि हाल्ने स्वभाव पनि छ उनीमा ।’
केपी सरको मीमांसामा उल्लेख भएका शाब्दिक ब्याख्याले राधिका शाक्यको ‘करुणा’ भावको पुष्टि गरेको छ ।
राधिका शाक्यको ‘करुणा’को पुष्टि ‘केपी ओली ट्रस्टले पनि गर्छ । आफ्नो जीवनभरको कमाइले सिर्जिएको बालकोटको घरलाई साक्षी राखेर राधिका शाक्यले ‘केपी ओली ट्रस्ट ’ बनाउनुभएको छ । राधिका शाक्यकै संरक्षकत्वमा अघि बढेको ‘केपी ओली ट्रष्ट’ले पाटन महापालको गल्लीमा चुहिने छानोसहितको पूरै संसारको सानो घरलाई उपेक्षा गर्ने आँट गर्दैन । उतिबेला पाटन महापालको जस्तै नियतीमा गुजुल्टिएका गाँउले घरका छानाले पानी थेग्ने र धुवाँ उड्ने सपना देख्ने छ ‘केपी ओली ट्रष्ट’को सिरानीमा निदाएर ।
अन्तमा,
‘करुणा’, राधिका शाक्यको अनुभूति, भोगाइ, त्याग, सर्मपणको दस्तावेज हो । केपी सरले मीमांसामा पनि उल्लेख गर्नु भएको छ–‘पुस्तकमा औपन्यासिकता भर्न वा रोचकता थप्नका लागि अनावश्यक विषय वा प्रसँग तानतुन गरेर जोडिएको छैन । दृष्टि, भोगाइ र अनुभूति अभिव्यक्त छन् तर कल्पनाप्रधान कुनै कथा बुँनिएको छैन, कथानक थपिएको छैन ।’
हो, ‘करुणा’ले समाजको सत्य बोलेको छ । भोगाइको तथ्य पस्केको छ । सर्मपण, आर्दश, आस्था र त्यागको सन्देश दिएको छ । राधिका शाक्यले पाटन महापालमा चुहिएको छाना भएको घरबाट सुरु गरेको विद्रोह र विवेकको संघर्ष बालकोट वा बालुवाटारमा पुग्दा पनि निरन्तर रहेको सत्य– कथा उधिनेको ‘करुणा’ले सालिनताले सफलता निम्ताउँने तथ्य ओकलेको पनि छ ।
‘करुणा’ फगत अनुभव सँग्रहको पुस्तकमात्र हैन, ‘करुणा’साक्षी हो समयको, दस्तावेज हो विगतको र मार्गदर्शन भविष्यको ।
‘करुणा’ पुस्कत हैन पुस्ता हो समयको !
प्रतिक्रिया 4