+
+
Shares

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।

रासस रासस
२०८२ जेठ २३ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना तालको पुनर्स्थापनाको काम सुरु भएको छ।
  • डिभिजन वन कार्यालयले तालको वरिपरि पर्खाल र गाडी गुड्ने डिल निर्माण गरिरहेको छ।
  • तालको प्राकृतिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै संरक्षणका लागि प्रयास भइरहेको छ।

२३ जेठ, घोडाघोडी । कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनर्स्थापनाको काम अगाडि बढेको हो ।

यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठूलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।

मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो। त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । त्यसपछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन्। ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताए ।

‘यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्वपूर्ण छ । पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रूपमा थियो’, उनले भने, ‘बाढीले अतिक्रमण गरेपछि त्यो हटाउनुको सट्टा स्थानीयले नै थप अतिक्रमण गर्दै गएको देखिन्छ । हाल सबैको सहयोगमा यसको संरक्षणका लागि अगाडि सरेका छौँ।’

जानकारहरूका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ । पुरैना भनेको थारू भाषामा कमलको फूल हो । स्थानीय थारू समुदायमा पूजाआजा गर्दा यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो । विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै थियो ।

यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरू बासस्थान पनि हो । साइबेरिया, रुसबाट आएका चरा यहाँ बच्चा कोरलेर फर्किने गर्थे । ताल विनाश भएपछि भने त्यो चक्र खल्बलिएको छ ।

यस्तै ताल विनाश भएका कारणको प्रभावले पनि होला हाल घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरूको सङ्ख्या घटिरहेको छ । पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौरा पुरैनालगायत प्राकृतिक ताललाई आफ्नै स्वरुपमा फर्काएर समस्या समाधान गरिनुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई प्राकृतिक र सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ । त्यसको विनाशले सामाजिक प्रभाव मात्रै होइन, प्राकृतिक रूपमा पनि जैविक विविधता खल्बलिएको छ । अब यसको संरक्षण गरेर पुरानै अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?