+
+
Shares

जाहेरी दिन मान्दैनन् अमेरिकाबाट निष्कासित नेपाली

अमेरिकाबाट डिपोर्टमा परेर फर्किएका नेपालीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरोले ओर्लिने बित्तिकै सोधपुछ गर्छ । उनीहरूलाई विदेश पठाउने गिरोहबारे सूचना लिन खोज्छ । तर, यसरी फर्किएकाहरूले प्रहरीलाई सहयोग गर्दैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते २१:२२
गत २१ फागुनमा अमेरिकाबाट डिपोर्ट भएर आएका नेपालीमध्ये एक । तस्वीर : अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार काठमाडौं आएका ३७ नेपाली नागरिकलाई अमेरिकाबाट डिपोर्ट गरिएको हो।
  • मानवबेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी गरेको छ।
  • फर्किएकाहरूले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएका छन्।

२५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे । अमेरिकाबाट निष्कासित हुनेमा ३२ पुरुष र ५ महिला छन् ।

उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमा डिपोर्ट गरेर काठमाडौं फर्काएको हो । काठमाडौं ल्याएलगत्तै मानवबेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी गरेको छ ।

ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, उनीहरूलाई अवैध रुपमा विदेश पठाउने व्यक्तिबारे सूचना लिने उद्देश्यले सोधपुछ गर्न लागिएको हो ।

‘मानव तस्करीमा संलग्न गिरोहबारे अनुसन्धान अघि बढाउनलाई सहयोगी हुन्छ भन्ने उद्देश्यले सोधपुछ गर्ने हो’, उनले अनलाइनखबरसँग भने, ‘उहाँहरूबाट प्राप्त सूचनाका आधारमा विस्तृत अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूलाई फेरि सोधपुछका लागि बोलाउँछौं ।’

तर, विगतको पृष्ठभूमि हेर्दा डिपोर्ट भएर आएकाहरूले उनीहरूलाई पठाउने गिरोहबारे सूचना दिँदैनन् । ब्यूरोमा लामो समयदेखि काम गरिरहेका एक अनुसन्धान अधिकारी भन्छन्, ‘उनीहरूलाई तल्लो बाटोबाट अमेरिका पठाउने व्यक्ति गाउँघरका चिनजानकै व्यक्ति हुन्छन्, फेरि विदेश पठाइदिने आश्वसन दिने हुँदा उजुरी गर्न मान्दैनन् ।’

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता पहिलो पटक २१ फागुन २०८१ मा ८ नेपाली नागरिक चार्टर्ड विमानमा काठमाडौं फर्काइएका थिए । उनीहरूलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछका लागि कार्यालयमा बोलाएको थियो ।

तर, सबैले आफूहरूलाई विदेश पठाउने व्यक्तिको परिचय खुलाउन चाहेनन् । ‘कसले लगेको थियो भन्ने समेत नबताएपछि जाहेरी दिने त टाढाको कुरा भइहाल्यो’, ती अधिकारीले भने, ‘ब्यूरोबाट छुटेपछि उनीहरू फेरि सम्पर्कमा आउन पनि चाहेनन् ।’

प्रहरीका अनुसार, त्यसबेला उनीहरूलाई राज्यसँग कुनै गुनासो छ भनेर समेत सोधिएको थियो ।

त्यसक्रममा उनीहरूले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएको ब्यूरोका एक अधिकृत बताउँछन् । ‘बरु उनीहरूले डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि फेरि अमेरिका जाने भनेका छन्’, उनले भने ।

प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । प्रहरीका अनुसार, उनीहरू विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।

‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरू अमेरिका पुगेका थिए’, उनले थपे, ‘तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’

यस्तोमा आइतबार फर्किएका नेपालीको माध्यमबाट थप अनुसन्धान अघि बढाउन सहयोग पुग्नेमा ब्यूरोका अधिकारीहरू त्यति आशावादी त छैनन् । यद्यपि, कुनै क्लू हात परे लाखौं असुली गरेर जोखिमपूर्ण यात्रा गराउनेलाई कानुनी दायरामा ल्याउन सकिन्थ्यो कि भन्ने प्रयास गरिने अधिकृतहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?