
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालले ६१ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गरियो।
- उनले नेपाली फिल्म क्षेत्रमा ४ दशकदेखि योगदान दिएका छन्।
- उनले विविध चरित्र निर्वाह गर्दै आफ्नो अभिनय यात्रालाई निरन्तरता दिएका छन्।
आज अभिनेता राजेश हमालको जन्मदिन ! यो अवसरमा उनलाई धेरै शुभकामना !
हमालको उमेर कति भयो होला ? प्रशंसकले बारम्बार सोधिरहने प्रश्न हो यो । उमेरबारे फ्यानको कौतुहलतामा हमाल ठट्यौली जवाफ दिँदै भन्छन्- ‘मेरो उमेर २५ भन्दा माथि छैन ।’
हमालले सोमबार ६१ वर्षमा टेके । नेपाली फिल्मको कर्ममा दिएको उनले दिएको योगदान, निरन्तरता र इमान्दारिताको तुलनामा उमेर गौण हो । ४ दशकसम्म एउटै विधामा टिक्नु चानचुने कुरा होइन ।
उही गति र शानदार उपस्थिती । उही क्रेज, जोश अनि जाँगर । गजबको विशेषता र शैली नै हमालको पहिचान हो । नेपाली समाजका थुप्रै चरित्रमा हमालले आफूलाई उभ्याइसकेका छन ।
अभिनय गर्न आउँदैन भनेर आलोचना गर्नेहरूलाई गतिलो उदाहरण हुन् उनले निर्वाह गरेका चरित्र । फिल्म ‘भीष्म प्रतिज्ञा’मा उनले निर्वाह गरेको तराइको पात्रले त्यतिबेला सकारात्मक सन्देश प्रवाह गर्यो ।
दुःखी पात्र बनेर गरिब नेपाली युवाको प्रतिनिधित्व गरेको फिल्म ‘भरिया’को भारी बोकेर जीवन चलाउने भूमिकादेखि सैनिक अधिकृत हुँदै गाउँले चरित्र निर्वाह गरेको कारण उनको पात्रले मन जिते ।
अभिनयको विविधतामा आफूलाई प्रस्तुत गर्न सकेनन् भन्ने आरोपबारे उनले प्रष्टीकरण दिने गरेका छन्– ‘म फिल्मबाहेक अन्य विधामा लागेको भए यति धेरै भूमिकामा देखिन सक्दिनथेँ होला । मैले जीवनमा नै नसोचेको र नदेखेको अनि नभोगेको चरित्र निर्वाह गर्ने अवसर पाएको छ । मलाई लाग्छ, कलाकारिताको यो यात्रामा मैले जति चरित्र निर्वाह गरेको सायदै अरू कलाकार हुनुहुन्छ होला । मैले अभिनय गर्न जानिन, सकिन र सक्दिन भन्नेहरूले मैले निर्वाह गरेका फिल्म हेर्ने कि ?’
हमालले प्रतिप्रश्न गर्ने गरेका छन्, ‘मैले गरेको गाउँले, पहाडिया, मधेशी, हिमाली, सहरिया, खलनायक, विद्रोही युवा, धनी युवा, डाक्टरदेखि सरकारी कर्मचारी आदि पात्रमा मैले आफूलाई प्रस्तुत गरेँ । यी सबै चरित्रमा आफूलाई प्रस्तुत गर्दा मैले जानी नजानी विविधता प्रस्तुत गर्न सकेको जस्तो लाग्छ ।’
हजुरबुबादेखि पनाती उमेरसम्म हमालको क्रेज कस्तो छ भन्ने कुरा त हालै प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा अवतार’मा लागेको दर्शकको भीडले पुष्टि गर्छ । पुनरागमन फिल्मको रुपमा चर्चा पाएको यसलाई हेर्न दर्शक उर्लिनुको मुख्य कारण हमाल नै थियो ।
८ बर्ष फिल्म क्षेत्रबाट अलग रहँदा पनि हमालको चर्चा कहिल्यै सेलाएन । यसको बलियो उदाहरण उनको कमब्याक फिल्मले पाएको चर्चालाई हेर्दा हुन्छ । हमाल ८ बर्षपछि अभिनयमा फर्किएको फिल्म जेठ महिनामा नै रिलिज हुनु र यही महिना उनको जन्मदिन पर्नु पनि गजब कै संयोग हो ।
अहिले आफ्नो यही फिल्म उपहारको रूपमा लिएर हमाल देश दौडाहामा छन । यो उमेरमा पनि कर्मप्रति हमालले देखाएको लगाव र फिल्म युनिटलाई दिएको साथको यतिबेला चर्चा हुने गरेको छ ।
आफू आबद्ध भएका फिल्म होस या विज्ञापन नै किन नहोस, या कुनै सामाजिक सस्था वा क्रियाकलाप नै, उनी शतप्रतिशत दायित्व पुरा गर्न पछाडि पर्दैनन । हमालले पेशाप्रति देखाएको नैतिकता र इमान्दारिता आजका पुस्तका लागि पनि मार्गदर्शन बन्न सक्छ ।
जतिबेला वर्षमा मुस्किलले ५ वटा मात्र फिल्म निर्माण हुन्थे, एउटा फिल्म खेलेपछि अर्को बन्ने हो कि होइन वा कहिले बन्ने हो, फेरि खेल्न पाईने हो कि होइन ? परिणाम अनिश्चित थियो । सीमित फिल्म वरपर घुमिरहेको रहेको नेपाली फिल्मको विकल्प र उपाय हुँदाहुँदै पनि हमालले फिल्म नै रोजे । यसैमा तनमनसहित आफूलाई समर्पित गरे ।
त्यो युगको कालखण्डमा प्रवेश गरेर, आजको यो कालखण्डमा निरन्तर लागिरहनु पछाडि धैर्यता र समर्पणले मात्र पनि हुँदैन थियो । यस्तो बलियो मन र फराकिलो सोचले नै आज हमाल सबैको हाई हाई बन्न सफल भएका छन् ।
आजसम्म २३० भन्दा धेरै फिल्म खेलिसकेका हमालले तिनमा निर्वाह गरेका चरित्र जीवन्त छन् । दर्शकको हृदयमा अमिट छाप बनेर बसेका छन् । हमाल सम्झिन्छन्, ‘मैले पहिला हेरेको नेपाली फिल्म हिजो आजभोली हो । त्यति बेला मलाई यो फिल्मको कथावस्तु मन परेको हो भने आफ्नो कालखण्डमा स्तरिय लागेको फिल्म भने माइतीघर हो ।’
अभिनेता हामाललाई आफूले खेलेका नेपाली फिल्ममध्ये मनपरेको भने ‘युगदेखि युगसम्म’ र ‘देउता’ हुन । नेपाली फिल्ममा ‘महानायक’को रूपले चिनिने हमालले आफूलाई भने कहिले पनि महानायक ठानेनन् र त्यो भन्न पनि लगाएनन् । उनी आफूलाई केवल कलाकारको रूपले चिनाउन चाहन्छन । उनको यो पाटोलाई शालिनताको रूपमा लिइन्छ ।
पिताको सोच, योजना, उद्देश्य र विचार विपरित लागेर नेपाली फिल्म क्षेत्रको लागि बाँचेका एक युगनायक हुन राजेश हमाल । उनको त्याग, समर्पण र संघर्षप्रति नेपाली फिल्म र यससँग सम्बन्धित सबैले सम्मान र सदभाव प्रस्तुत गर्नैपर्छ ।
उनै राजेश हमाललाई ६१ औं जन्मदिनको शुभकामना !
प्रतिक्रिया 4