+

किशोर-किशोरीमा यौन रोगको जोखिम : संकोच र अज्ञानताको असर

२०८२ जेठ  २६ गते ११:१० २०८२ जेठ २६ गते ११:१०
किशोर-किशोरीमा यौन रोगको जोखिम : संकोच र अज्ञानताको असर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १६ देखि १७ वर्षका किशोर किशोरीहरू यौनसम्बन्धी संक्रमणको जोखिममा छन्, किनभने उनीहरूलाई आवश्यक जानकारी र सामाजिक समर्थन छैन।
  • यौन स्वास्थ्यको संरक्षणका लागि सुरक्षित यौन व्यवहार, नियमित परीक्षण र सही जानकारी आवश्यक छ।

सर, मलाई के भयो होला ? १६ वर्षीय आर्यन (नाम परिवर्तन)  क्लिनिकको कुर्सीमा चुपचाप बसेका थिए । आफ्नो यौनाङ्ग वरपरको घाउ देखाउँदै आफ्नो समस्या सुनाउँदा उनको अनुहारमा लाज, डर र आत्मग्लानी एकैसाथ झल्किँदै थियो ।

त्यही हप्ताको दोस्रो दिन, अर्की १७ वर्षीय अनुष्का (नाम परिवर्तन) दिदीसँगै अस्पताल आइन ।  गुप्ताङ्ग वरिपरि चोटजस्तो देखिएको घाउ देखाउँदै डराउँदै उनले भनिन्, ‘यो आफैँ निको हुन्छ कि केही गर्नुपर्छ?’

केही दिनपछि , १७ वर्षीय सृष्टि (नाम परिवर्तन) एक्लै अस्पताल आइन् ।  उनले आँखा झुकाउँदै भनिन्, ‘डाक्टर, मलाई थाहा छैन के भयो, तर म एकदम डराएकी छु । ’यी तिनै जना किशोर/किशोरीको कथा फरक भए पनि साझा पक्ष एउटै थियो सामाजिक सङ्कोच, जानकारीको अभाव, र अज्ञानताले जन्माएको यौनसम्बन्धी संक्रमण ।

उनीहरूको समस्या के थियो ?

आर्यनलाई ‘जेनिटल हर्पेस’ भएको पुष्टि भयो । यौन सम्पर्कबाट सर्ने एक प्रकारको भाइरस जुन जीवनभर शरीरभित्र लुकेर बस्न सक्छ र बेलाबेला सक्रिय भएर घाउ ल्याउँछ ।

अनुष्कामा ‘प्राइमरी सिलिफिस’ देखियो-यो रोगको पहिलो चरणमा यौनाङ्ग वा अन्य सम्पर्क क्षेत्रमा सानो, दुखाइरहित घाउ देखिन्छ, जुन सामान्यतया ३–६ हप्तामा आफैँ निको हुन्छ ।  प्रारम्भिक चरणमा सामान्य देखिने यो रोग समयमै उपचार नगरेमा गम्भीर नतिजा ल्याउन सक्छ ।

सृष्टिमा मोलस्कम कन्ट्याजियोसम र हर्पेस दुवै पाइयो । छालाको सम्पर्कबाट सर्ने भाइरल संक्रमण, जसले गुप्ताङ्ग वरिपरि साना बिबिरा ल्याउँछ ।

यी तीन घटनाले एउटा गम्भीर यथार्थ उजागर गर्छ, हाम्रो समाजमा किशोर किशोरीहरू यौन व्यवहारको विषयमा खुला रूपमा कुरा गर्न सक्दैनन्, न त उनीहरूले सुरक्षित सम्बन्धका लागि आवश्यक जानकारी पाउँछन् । यी त प्रतिनिधि पात्र मात्रै हुन, धेरै बिरामीहरू त चिकित्सकको सम्पर्कमा आउनै सक्तैनन् ।

यौन स्वास्थ्य भन्नाले के बुझिन्छ ?

यौन स्वास्थ्य भनेको केवल रोगबाट जोगिनु मात्र होइन । यसमा स्वस्थ, सुरक्षित, सहमतिपूर्ण र सम्मानजनक यौन सम्बन्धको विकासको कुरा पनि पर्छ । किशोर–किशोरी र युवा पुस्ता यौनिकताको प्रारम्भिक चरणमा हुन्छन्, जहाँ मार्गदर्शन नभए निर्णय भ्रमपूर्ण हुन सक्छ ।

किशोर र युवामा यौन रोगको जोखिम किन बढी ?

-यौन शिक्षाको अभाव

-सामाजिक संकोचले स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति

-असुरक्षित यौन सम्पर्क गर्ने, कन्डम प्रयोग नगर्ने प्रवृत्ति

-साथीको दबाब वा अनियन्त्रित भावना

-इन्टरनेटबाट अधुरो वा भ्रमपूर्ण जानकारी

यौन रोग  के–के हुन् ?

यौन रोग भन्नाले यौन सम्पर्कबाट सर्ने रोगहरूलाई जनाइन्छ । जसमा हर्पिस, भिरिङ्गी, सुजाक, क्लामेडिया,  एचआईभी , यौन मुसा, मोलस्कम, हेपाटाइटिस पर्छन्  । धेरैजसो सुरुवातमा लक्षण बिना पनि फैलिन सक्छन् ।

कसरी बच्ने यौन रोगबाट ?

-यौन सम्पर्क नगर्नु नै यौन रोगबाट बच्ने एक मात्र शतप्रतिशत सुरक्षित उपाय हो । यदि यौन सम्पर्कमा संलग्न हुने हो भने केही कुरामा विशेष ध्यान दिएर यौन रोगको जोखिमबाट बच्न सकिन्छ ।

-सुरक्षित यौन व्यवहार अपनाऔँ – कन्डमको नियमित र सही प्रयोग गर्नुपर्छ  ।

-नियमित स्वास्थ्य परीक्षण गरौँ – यौनमा सक्रिय भएमा वर्षमा कम्तीमा एक पटक याैनजन्य संक्रमण परीक्षण गर्नु जरुरी छ ।

-खोप लगाऔँ –  एचपिभी र हेपाटाइटिस बी को खोप सिफारिस गरिन्छ ।

-सहमतिपूर्ण सम्बन्ध – जबरजस्ती वा दबाबमा भएको यौन सम्पर्क सदैव जोखिमपूर्ण हुन्छ ।

-विश्वसनीय जानकारीमा आधारित निर्णय गरौँ – गुगल होइन, विशेषज्ञको सल्लाहमा भरोसा गर्नुपर्छ ।

-लाज होइन, सजगता आवश्यक हुन्छ । यदि कुनै शंका लागेमा वा स्वास्थ्यमा समस्या देखिएमा ढिला नगरी विशेषज्ञ  चिकित्सककोमा जानुपर्छ ।

यौन स्वास्थ्य र मानसिक स्वास्थ्य

-किशोरहरू एक पटक यौन सम्बन्धमा प्रवेश गरेपछि यदि उनीहरूमा जानकारी र समझदारी छैन भने उनीहरू केवल रोगको सिकार मात्र होइन, आत्मग्लानि, डर र सामाजिक वहिष्करणको पनि शिकार हुन्छन् । आर्यन, अनुष्का र सृष्टिको आँखाबाट यो कुरा पढ्न सकिन्थ्यो-उनीहरू केवल रोगको उपचार खोजिरहेका थिएनन्, आत्म–स्वीकृति र मार्गदर्शन पनि खोजिरहेका थिए ।

यौन स्वास्थ्यका विषयमा कुरा गर्नु ‘लाज’ को होइन, ‘आवश्यकता’ को कुरा हो । किशोर–किशोरीलाई सुरक्षात्मक व्यवहार सिकाउने, उनीहरूलाई नजिकबाट बुझ्ने, र सामाजिक रूपमा यौनिकता र सम्बन्धलाई स्वस्थ रूपमा प्रस्तुत गर्न सके मात्र हामी यस्ता सङ्क्रमणको चक्र तोड्न सकिन्छ ।

यौनिकता जीवनको स्वाभाविक पक्ष हो, यसलाई शिक्षा, समझदारी र सहमतिका साथ अघि बढाउनु नै हाम्रो जिम्मेवारी हो ।

किशोर–किशोरी यौनरोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय