+
+
Shares

अमेरिकाबाट डिपोर्ट हुनेमा विद्यार्थी भिसामा अमेरिका गएका युवक पनि

अध्यागमन विभाग स्रोतका अनुसार, केही वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएर न्यू ह्याम्पशायरमा अध्ययन गरिरहेका युवक पनि डिपार्टमा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागका अनुसार, ३७ नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ, जसमा एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका थिए।
  • अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या गत वर्षहरूमा पनि बढ्दो रहेको विभागले जनाएको छ।
  • अमेरिकाबाट अवैध रुपमा प्रवेश गर्ने र डिपोर्ट हुनेहरूबारे अनुसन्धान जारी रहेको छ।

२६ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेको व्यक्ति पनि भएको खुलेको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार, केही वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएर न्यू ह्याम्पशायरमा अध्ययन गरिरहेका युवक पनि डिपार्टमा परेका छन् ।

अधिकारीहरुका अनुसार, काठमाडौं स्थायी ठेगाना भएका ती युवक त्यहाँको कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए । ‘साथीहरुसँग विवाद गरेको विषय रहेछ, केही समय नियन्त्रणमा राखेर डिपोर्ट गरिएको रहेछ’, स्रोतले अनलाइनखबरसँग भन्यो ।

डिपोर्ट भएर आउनेमा अर्का एक जना डिभी परेर १० वर्षअघि अमेरिका गएका व्यक्ति थिए ।  ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए ।

चार्टर्ड विमानमा फर्किएर आएपछि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरुले उनीसँग समेत सोधपुछ गरेका थिए । त्यसक्रममा उनलाई राज्यसँग कुनै गुनासो भए नभएको समेत सोधिएको थियो । त्यसक्रममा उनले आफ्नो केही गुनासो नभएको बताएका थिए ।

‘वैधानिक हिसाबमै गएकाले सोधपुछ गर्नुपर्ने धेरै विषयहरु थिएन, सामान्य विवरण लिएर उहाँलाई पठाइदियौं’, ब्यूरोका एक अधिकारीले भने । फर्किएर आएकाहरुमा ५ जना महिला समेत थिए । उनीहरु पनि अवैध बाटोबाट अमेरिका पुगेका थिए ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट आएका ३७ जनालाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो ।

‘राति प्रहरीले उहाँहरुसँग सामान्य सोधपुछ गरेर प्रहरीले सबैलाई छाडेको छ’, रिजालले अनलाइनखबरसँग भने, ‘आवश्यक परेका बेला फेरि सोधपुछ गर्न मिल्ने गरी पठाइएको हो ।’

प्रहरीले उनीहरुसँग अवैध बाटोबाट अमेरिका पठाउने मानिसहरुबारे जानकारी लिन खोजेको थियो । तर, उनीहरुले प्रहरीसँग त्यति समन्वय नगरेको अधिकारीहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् । उनीहरुले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् ।

अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?