
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धाको शव भेटिएपछि महिलालाई पक्राउ गरेको छ।
- ८९ वर्षीया तिलमाया खड्का शनिबार घरबाटै हराएकी थिइन् । शव भेटिएको स्थान नजिकैको घरमा खड्काले लगाउने कपडा र गहना फेला परेको छ।
- महिलाले घटनामा संलग्नता स्वीकार गरेकी छैनन् र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।.
२६ जेठ, विराटनगर । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा एक जना वृद्धाको शव भेटिएपछि प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको शव आइतबार अपरान्ह सुनसरी मोरङ सिँचाइ आयोजनाको ग्रामथान–६ खण्डमा भेटिएको हो ।
वृद्धाको कपडा भने शव भेटिएको स्थान नजिकै ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवको घरमा फेला परेको छ । वृद्धाले लगाएको गहना पनि उनकै घरमा फेला परेको छ ।
कपडा र सुनको गहना भेटिएपछि सीतालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
सीताले घरभित्र खाल्डो खनेर वृद्धाको गहना लुकाएको अवस्थामा भेटिएको उनले बताइन् ।
घटना शंकास्पद देखिएपछि ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सात दिन म्याद थप गरेको उनले बताइन् ।
मानसिक अवस्था कमजोर भएकी तिलमाया शनिबार घरबाटै हराएकी थिइन् ।
सीताकी छोरीले वृद्धालाई बचाए पनि गहनाको लोभमा आमाले नहरमा धकेलिदिएको खुलेको प्रहरी स्रोतको दाबी छ ।
दिउँसो नहरमा डुबेको अवस्थामा देखेपछि सीताकी छोरी सोनुले उनलाई निकालेर आफ्नै घरमा लगेर भिजेको कपडा फेरिदिएकी थिइन् । कपडा फेरेर उनी नजिकै रहेको मामाघर गएकी थिइन् ।
उनले फेरिदिएको कपडा सीता कै घरमा थियो । सोही कपडाका आधारमा घटना शंकास्पद देखिएको प्रहरीले बताएको छ ।
‘पक्राउ परेकी महिलाले घटनामा संलग्नता स्वीकार गरेकी छैनन, अनुसन्धान भइरहेको छ,’ डिएसपी चुडालले भनिन,‘ पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्छ ।’
प्रतिक्रिया 4