News Summary
Generated by OK AI. Editorially reviewed.- प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता जेठ ३१ देखि पोखरामा आयोजना हुनेछ।
- आयोजक नेसनल स्पोर्ट्स एकेडेमीले तयारी पूरा भएको र उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताए।
- प्रतियोगितामा सहभागी टोलीहरूमा रामपुर, न्यु डायमन्ड स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब छन्।
२६ जेठ, पोखरा । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेसनल स्पोर्ट्स एकेडेमीले सोमबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
आयोजक संस्थाका अध्यक्ष दिपक कोइरालाले जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो एक समारोहका बीच उद्घाटन गर्नेछन् ।
प्रतियोगितामा नयाँ टोली स्टेप रामपुरलाई सहभागी गराईएको छ । विभागीय टिम आर्मीले सहभागी हुन नसक्ने जनाएपछि रामपुरलाई अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा रामपुरसहित न्यु डायमन्ड स्पोट्र्स क्लब, गण्डकी प्रदेश, एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लिग चरणका खेल हेर्न २ सय र फाइनल दिनको खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । उद्घाटन दिनमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष कोइरालाले बताए ।
पत्रकार सम्मेलनमा कोइरालाले नीजि तथा सरकारी क्षेत्रको सहयोगमा कार्यक्रमको आर्थिक पक्षलाई व्यवस्थापन गरिएको जानकारी दिए ।
प्रतियोगितामा अखिल नेपाल खेलकुद महासंघ समेत आयोजकको रुपमा जोडिएको छ भने राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघले प्रतियोगितालाई स्वीकृति प्रदान गरेका छन् ।
प्रतिक्रिया 4