 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले अप्रिलमा पाकिस्तानसँगको सम्पूर्ण व्यापारमा प्रतिबन्ध लगाएपछि बिरे नुनको कारोबार प्रभावित भएको छ ।
- प्रतिबन्धले मूल्य बढाएको र वैकल्पिक स्रोतको खोजी आवश्यक भएको व्यापारीहरूले बताएका छन्।
- हिमालयन बिरे नुन पाकिस्तानको पञ्जाब प्रान्तको खेवडा नुन खानीबाट उत्खनन् गरिन्छ ।
२७ जेठ, काठमाडौं । पछिल्ला तीन दशकदेखि पञ्जाबको अमृतसरका विपन कुमारले पाकिस्तानबाट सिधे नुन आयात गरी भारतमा बेच्दै आएका थिए ।
तर, गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्य भएपछि नयाँ दिल्लीले पाकिस्तानबाट आयात हुने सबै किसिमका वस्तुमा पूर्ण प्रतिबन्ध घोषणा गर्यो ।
यो प्रतिबन्धले सिखहरूको आध्यात्मिक थलो अमृतसरका ५० वर्षीय व्यवसायी विपन कुमारको व्यापार एकाएक ठप्प भयो । त्रैमासिकरूपमा उनले २ हजार देखि २५ सय टन सिधे नुन पाकिस्तानबाट ढुवानी गरेर बेच्दै आएका थिए ।
‘मलाई एकदमै थोरै फाइदा बस्थ्यो तर, एकमुष्ठ बिक्री हुने भएकाले व्यवसाय टिकिरहेको थियो, प्रतिबन्धले सिधे नुनको कारोबार नै ठप्प भएको छ, अब फेरि परिस्थिति कहिले सामान्य हुन्छ थाहा छैन’, कतारबाट सञ्चालित अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरासँग कुरा गर्दै विपनले भनेका छन् ।
पर्वतीय क्षेत्रमा पाइने सिधे नुन (गुलाबी नुन पनि भन्ने प्रचलन छ) मा फलाम लगायतका ट्रेस खनिज हुन्छन्, यसलाई खानामा, सजावटका लागि प्रयोग गरिन्छ भने स्पा उपचारमा पनि यसको आवश्यकता पर्छ ।
हिन्दूहरू व्रत बस्दा वा काजक्रिया बस्दा दैनिक जीवनमा प्रयोग हुने समुन्द्री सेतो नुनभन्दा सिधे नुन नै रोज्ने गर्छन् ।
पाकिस्तानमा उत्खनन् हुन्छ सिधे नुन
हिमालयन सिधे नुन पाकिस्तानको पञ्जाब प्रान्तको खेवडा नुन खानीबाट उत्खनन् गरिन्छ । यो खानी संसारकै दोस्रो ठूलो नुन खानी हो । यो भन्दा पनि ठूलो नुन खानी क्यानडाको अन्टारियोस्थित सिफ्टो नुन खानी हो ।
खेवडा लाहोरबाट करिब २५० किलोमिटर (१५५ माइल) को दूरीमा छ । त्यसैले पनि पाकिस्तानी र भारतीय नागरिकले सिधे नुनलाई ‘लाहोरी नमक’ समेत भन्ने गर्छन् ।

खेवडा नुन खानीमा झन्डै ८ करोड २० लाख (८२ मिलियन) टन सिधे नुन भएको अनुमान छ । जसमध्ये हरेक वर्ष ३ दशमलव ६ लाख (०.३६ मिलियन) मेट्रिक टन उत्खनन् गरिन्छ । जसमध्ये झन्डै ७० प्रतिशत औद्योगिक र बाँकी घरायसी प्रयोजनमा खपत हुन्छ ।
‘खेवडा नुन खानी धेरै रमणीय छ, यहाँ हरेक वर्ष हजारौँ पर्यटकहरू भ्रमणका लागि आउँछन्’, खानी नजिकै बस्ने पत्रकार फहाद अलीले अलजजीरासँगको कुराकानीमा भने ।
उनका अनुसार यहाँ झन्डै ३० वटा नुन प्रशोधन केन्द्रहरू छन्, जहाँ ठूल्ठूला ढुंगाजस्ता नुनका ढिक्काहरू हातैले उत्खनन गरिन्छ र ट्रकहरूमा लोड गरेर पठाइन्छ ।
यसरी उत्खनन् गरेर निकालिएका नुनका ढिक्काहरू प्रशोधन नगरी कच्चा अवस्थामै भारतमा निर्यात हुने गर्दछ । आयातकर्ताहरूले पछि कच्चा नुनलाई प्रशोधन गरी पिसेर प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउँछन् ।
ह्वात्तै बढ्न थाल्यो मूल्य
भारत सिधे नुनका लागि मुख्यतः पाकिस्तानमा निर्भर छ । तर, पहलगाम आक्रमणपछि भारतले पाकिस्तानसँगको सम्पूर्ण व्यापारमा पूर्ण प्रतिबन्ध घोषणा गरेको छ, जसलाई उक्त घटनाप्रति दिल्लीको प्रतिक्रियाको रूपमा लिइएको छ ।
मिसाइल र ड्रोन हतियारसहितको सैन्य आक्रमणअघि एकअर्काविरुद्ध व्यापारमा लगाइएको प्रतिबन्ध कूटनीतिक र आर्थिक घेराबन्दीका कदम थिए, जसले दुवै देशलाई युद्धको चरम सीमासम्म पुर्याएको थियो । पछिल्लो पटक १० मेमा यी दुवै देश युद्धविरामका लागि त सहमत भए तर, व्यापार प्रतिबन्ध हटेको छैन ।
भारतीय व्यापारीहरूका अनुसार आयातमाथिको प्रतिबन्धले उनीहरूको व्यवसायमा त असर गरेको छ नै, नुनको मूल्य समेत बढ्न थालेको छ ।

‘प्रतिबन्ध घोषणा भएको एक महिनाभन्दा बढी मात्रै भएको छ तर, नुनको खुद्रा मूल्य बढ्न थालिसकेको छ’, अमृतसरका व्यापारी गुरवीन सिंह भन्छन्, ‘पहिल्यै ढुवानी गरेर भण्डारण गरेका व्यापारीले पनि बढी मूल्यमा बेचिरहेका छन् ।’
उनका अनुसार प्रतिबन्धअघि प्रतिकिलो ४५ देखि ५० रूपैयाँमा बिक्री हुने सिधे नुन अहिले प्रतिकिलो ६० रूपैयाँ पर्न थालेको छ । अमृतसरबाहेकका अन्य क्षेत्रमा सिधे नुनको मूल्यमा अझ बढोत्तरी देखिएको छ । कोलकातामा त यो साता सिधे नुन ७० देखि ८० रूपैयाँ प्रतिकिलोसम्म बिक्री भएको पाइएको छ ।
‘हामीलाई थाहा छैन यो अवस्था कहिले सामान्य हुन्छ, मौज्दात सकिएपछि संकट झन् बढ्न सक्ने देखिन्छ’, व्यवसायी गुरवीन सिंह भन्छन् ।
पूर्वोत्तर भारतमा अमृतसरबाट ढुवानी गर्दा लाग्ने खर्चका कारण नुनको मूल्य झन् बढेको छ । कोलकाताका व्यापारीहरूका अनुसार त्यहाँ नुनको मूल्यमा १५–२० प्रतिशतसम्म बढोत्तरी भएको छ तर, हालसम्म त्यसले मागमा असर गरेको छैन ।
सिधे नुनको माग भारतमा वर्षभरी नै अत्यधिक हून्छ, विशेषगरी चाडपर्वहरूमा मानिसहरू व्रत बस्दा समुन्द्री सेतो नुनको सट्टा सिधे नुन खोज्छन्’, ‘सिधे नुनको व्यापार गर्ने एक निजी कम्पनीका प्रबन्धक संजय अग्रवालले भने ।
कोलकाताका नुन व्यापारी दिनोबन्धु मुखर्जी भारत सरकारले सिधे नुनका लागि वैकल्पिक स्रोत (अन्य देश) खोज्नुपर्नेमा जोड दिन्छन् । भारत र पाकिस्तानको सम्बन्ध सधैंजसो तिक्ततापूर्ण हुने गरेको भन्दै उनले आपूर्ति शृंखला सुचारु रहनका लागि सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
तर, पाकिस्तानतर्फका नुन व्यवसायी भने भारतीय प्रतिबन्धले उनीहरूको व्यापारमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । उनीहरूको अनुसार भारतीय व्यापारीहरूले पाकिस्तानी नुनलाई रि–ब्रान्डिङ गरी आफ्नै मूल उत्पादन जसरी अन्तर्राष्ट्रिय बजारमा महंगोमा बेच्ने गरेका छन् ।
‘हालैको प्रतिबन्धले भारतसँगको प्रतिस्पर्धा हटाउने भएकाले यसले हामीलाई व्यापार अझ विस्तार गर्न मद्दत गर्नेछ’, कराँचीस्थित आरएम साल्टका प्रमुख कार्यकारी अधिकृत फैजान पंजवानीले भने ।
‘निसंकोच भारत हाम्रा लागि ठूलो बजार हो, यहाँ धेरै सम्भावना छ तर, हामी कच्चा नुनको मूल्य बढाएर निर्यात गर्न चाहन्छौं, पहिल्यैदेखि विश्वभरी नै हामीकहाँ पाइने सिधे नुनको अत्यधिक माग छ’, उनले भने ।
व्यापार किन ओरालो लाग्दै गयो ?
४० भारतीय सैनिक मारिएको सन् २०१९ को पुलवामा आक्रमणपछि यी दुई देशबीच हुने व्यापार निरन्तर घट्दै गइरहेको छ । पुलवा आक्रमणपछि भारतले पाकिस्तानलाई दिएको ‘मोस्ट फेभर्ड नेसन’ (एम.एफ.एन) दर्जा खारेज गरेर भन्सार दर २०० प्रतिशत पुर्याएको थियो ।
 भारतको वाणिज्य मन्त्रालयका अनुसार सन् २०२४ अप्रिल देखि २०२५ जनवरीभित्र भारतले पाकिस्तानमा ४४७.७ मिलियन डलर (४४.७७ करोड) बराबरको वस्तु निर्यात गरेको छ । तर, यही अवधिमा पाकिस्तानबाट भारततर्फ भएको निर्यात भने ४ लाख २० हजार डलर (५ करोड ६७ लाख) बराबरको मात्रै छ ।
भारतको वाणिज्य मन्त्रालयका अनुसार सन् २०२४ अप्रिल देखि २०२५ जनवरीभित्र भारतले पाकिस्तानमा ४४७.७ मिलियन डलर (४४.७७ करोड) बराबरको वस्तु निर्यात गरेको छ । तर, यही अवधिमा पाकिस्तानबाट भारततर्फ भएको निर्यात भने ४ लाख २० हजार डलर (५ करोड ६७ लाख) बराबरको मात्रै छ ।
सन् २०२४ मा भारतले पाकिस्तानबाट ६ सय ४२ मेट्रिक टन सिधे नुन आयात गरेको थियो, जुन सन् २०१८ मा आयात भएको ७४ हजार ४ सय ४२ मेट्रिक टनको तुलनामा निकै कम हो । दुई देशबीचको द्वन्द्वले भन्सार शुल्क बढाइएपछि व्यापार घटेको देखिन्छ ।
प्रतिबन्धअघि भारतबाट मुख्यगरी कपास, अर्गानिक रसायन, मसला, खाद्यवस्तु, औषधि, प्लास्टिकका वस्तु, दुग्धजन्य पदार्थ निर्यात हुने गर्थ्यो । पाकिस्तानतर्फ भने भारतमा तामाका सामग्री, काँचो कपास, फलफूल, खनिज पदार्थ र केही विशेष किसिमका रसायनहरू निर्यात हुँदै आएको थियो ।
‘भन्सार शुल्क बढेपछि यूएई लगायतका तेस्रो मुलुक भएर आयात गर्दा सन् २०१९ मा नुनको मूल्य प्रतिकिलो साढे ३ रूपैयाँबाट बढेर प्रतिकिलो साढे २४ रूपैयाँसम्म पुगेको थियो’, अमृतसरका नुन आयातकर्ता व्यवसायी विपिनले भने ।
‘तर, त्यतिबेला पनि हाम्रो व्यापारमा खासै प्रभाव परेको थिएन, किनभने सिधे नुनको माग उच्च थियो, ग्राहकहरू मूल्य बढे पनि चुकाउन तयार थिए तर, यसपटक पाकिस्तानले तेस्रो मुलुकबाट आयात गर्न पनि रोक लगाएको छ, जसले आपूर्तिलाई पूर्णरूपमा ठप्प बनाएको छ’, उनले भने ।
व्यापार प्रतिबन्धको खास असर सिधे नुन प्रयोग गरिने दियो बत्ती उद्योगलाई परेको छ । यस्ता दियो बत्ती भारतमा सजावटका लागि प्रयोग गरिन्छ । सिधे नुन प्रयोग गरिने दियो बत्तीले हावा प्रशोधन गर्ने जनविश्वास एवं दाबी रहिआएको छ ।
‘पाकिस्तानबाट आउँदैन भने हामीले सिधे नुन आयातका लागि वैकल्पिक देश खोज्नैपर्छ’, ग्लोबल अरोमाका संस्थापक दीपले भने ।
‘सन् २०१९ मा भन्सार शुल्क २०० प्रतिशत बढाइएपछि यस्ता दियाहरूको मूल्यमा पहिले नै वृद्धि भइसकेको छ, अब अन्य कुनै देशबाट आयात गरेपनि लागत झन् बढ्नेछ ।’
– अलजजिराबाट
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4