
News Summary
Generated by OK AI. Editorially reviewed.- सहरी विकास मन्त्रालयले २०८२/८३ का लागि ३ करोड रुपैयाँ गणेशमान सिंह स्मृति भवन निर्माणका लागि विनियोजन गरेको छ।
- बजेटको अधिकांश कांग्रेस निकट कार्यकर्तालाई लाभ हुने गरी ल्याइएको र राजनीतिक एजेन्डाका लागि प्रयोग हुने आशंका छ।
- मन्त्रालयले ९२ अर्ब ६३ करोडबाट बढाएर १ खर्ब १८ अर्ब बजेट ल्याएको छ।
२७ जेठ, काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड रुपैयाँ विनियोजन गर्यो ।
मन्त्रालयले गणेशमान सिंह स्मृति भवनका नाममा बजेट विनियोजन गरे पनि खासमा यो नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माण गर्न हो ।
तरुण दल अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।
सहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ । यद्यपि, सार्वजनिक रूपमा आलोचना भएपछि उक्त विज्ञप्ति गुरुङले सच्याएका छन् । तर, यथार्थ भने बाहिरिइसकेको छ ।
त्यो एउटा प्रतिनिधिमूलक बजेट शीर्षक मात्रै बाहिरिएको हो । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा रहेको सहरी विकास मन्त्रालयको आयोजना विकासे भन्दा कार्यकर्तामुखी देखिएको छ ।
आफ्ना पिताका नाममा मन्त्री सिंहले नयाँ पुराना गरी ४० बढी आयोजनामा बजेट हालेका छन् । मन्त्रालयले करोडौं बजेट विनियोजन गरी गणेशमान सिंहका नाममा पार्क, भवन, सभाहल जस्ता पूर्वाधार बनाउने योजना बनाएको छ ।
मन्त्रालयले छुट्याएको गणेशमान सिंहका नाममा विनियोजित बजेट र योजना सर्वसाधारणभन्दा कांग्रेस निकट कार्यकर्तालाई लाभ हुने गरी ल्याएको देखिन्छ ।
काठमाडौं जरसिंह पौवामा पार्क निर्माण गर्ने र यसका लागि आवश्यक पर्ने प्रतिवेदन तयार पार्नेसहित गरी साढे ४ करोड बढी बजेट छुट्याइएको छ ।
गणेशमान सिंहका नाममा छुट्याइएका बजेट र योजना
- काठमाडौं जरसिंह पौवामा गणेशमान सिंह पार्क निर्माण : ४ करोड
- पाँचथर फिदिम नगरपालिका–४ मा गणेशमान सिंह पार्क तथा खेल मैदान निर्माण : ३ करोड
- झापा शिवशताक्षी नगरपालिका–११ मा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आवश्यक पूर्वाधार : ४ करोड
- झापाकै गणेशमान सिंह अध्ययन प्रतिष्ठान : थप ३ करोड
- झापाकै दमक–८ मा गणेशमान मार्ग : ३ करोड
- मोरङ बेलबारी नगरपालिका–११ मा गणेशमान सिंह रंगशाला : ३ करोड
- बारा निजगढ नगरपालिका–४ मा गणेशमान सिंह पार्क मोहरी व्यवस्थापन : ४ करोड
- काठमाडौं शंखरापुरमा गणेशमान सिंह लोकमार्ग : ८ करोड
- काठमाडौं–१३ मा गणेशमान सिंह स्मृति भवन : ३ करोड
- काठमाडौं–२९ मा वीर गणेशमान सिंह ज्येष्ठ नागरिक सेवा केन्द्र : ३ करोड
- काठमाडौं–३१ मा गणेशमान सिंह वाटिका स्तरोन्नति, पूर्वाधार निर्माण : ३ करोड
- काठमाडौं–१५ शोभा भगवतीमा गणेशमान–मंगलादेवी पार्क निर्माण : ३ करोड
- भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा गणेशमान सिंह स्मृति वाटीका पूर्वाधार स्तरोन्नति : ३ करोड
- पोखरा उपमहानगरपालिका–४ मा गणेशमान सिंह स्मृति प्रदेश भवन : ३ करोड
- पर्सा ठोरी–२ मा वीर गणेशमान पार्क निर्माण : १ करोड ६० लाख
- ललितपुर–१ मा गणेशमान सिंह शान्ति पार्क र गणेशमान सिंह संग्रहालय : २ करोड
- दैलेख भैरवी गाउँपालिका–१ मा गणेशमान प्रतिष्ठान भवन निर्माण : १ करोड ६० लाख
- सुर्खेतको चौकुने नगरपालिका–३ मा गणेशमान स्मृति भवन : १ करोड
- धनगढी उपमहानगरपालिका–१ मा गणेशमान स्मृति बगैँचा पुस्तकालय ५० लाख
- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा गणेशमान सिंह स्मृति सभाहल : ४० लाख
- सिन्धुपाल्चोक इन्द्रावती–३ मा गणेशमान सिंह स्मृति भवन पूर्वाधार निर्माण : ४० लाख
- अछाम कमलबजार नगरपालिका–८ मा गणेशमान सिंह स्मृति पार्क, पदमार्ग : ७० लाख
- काठमाडौं–१४ बल्खुमा गणेशमान सिंह स्र्पोट्स पार्क निर्माण : ४० लाख
- दाङ घोराही उपमहानगरपालिका–९ मा सर्वोच्च नेता गणेशमान सिंह अध्ययन केन्द्र पूर्वाधार निर्माण : ४० लाख
- चन्द्रागिरि नगरपालिका–१३ मा गणेशमान सिंह बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माण : ७० लाख
- बझाङ जयपृथ्वी नगरपालिका–१० मा गणेशमान स्मृति भवन निर्माण : ४० लाख
- काठमाडौं तारकेश्वर नगरपालिकामा गणेशमान सिंह स्मृति पार्क : २५ लाख
- काठमाडौं नागार्जुनमा गणेशमान सिंह पार्क जाने बाटो निर्माण : ४० लाख
- प्युठान नगरपालिका–७ मा गणेशमान स्मृति पार्क निर्माण : २५ लाख
- अछाम मंगलसेन–४ मा गणेशमान सिंह स्मृति सामुदायिक भवन पूर्वाधार निर्माण : २५ लाख
- ललितपुर महालक्ष्मी नगरपालिका–९ मा गणेशमान सिंह पार्क स्तरोन्नति : ७० लाख
- इलामको माइ नगरपालिका–२ मा गणेशमान सिंह स्मृति वाटिका पूर्वाधार निर्माण : २५ लाख
- काठमाडौं शंखरापुरमा गणेशमान स्मृति पार्क मार्ग स्तरोन्नति : ४० लाख
- काभ्रे मण्डनदेउपुर–९ मा गणेशमान स्मृति पार्क निर्माण : ३ करोड
- काठमाडौं चन्द्रागिरि–१४ स्थित गणेशमान पार्क निर्माण : ३ करोड
मदन भण्डारीका नाममा पनि उस्तै
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका दिवंगत पूर्वमहासचिव मदन भण्डारीका नाममा पनि बजेटमा तजिबिजी गरेको देखिन्छ । मदन भण्डारी फाउन्डेसनको पूर्वाधार निर्माण भन्दै ३ करोड बजेट छुट्याइएको छ ।
फाउन्डेसन एमाले निकट गैरसरकारी संस्था हो, जहाँ जबजलाई केन्द्रित गरेर एमाले कार्यकर्ताले कार्यक्रम गर्दै आएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकामा मदन भण्डारी स्मृति सभाहलका लागि ५ करोड छुट्याइएको छ । मोरङ उर्लाबारीमा मदन भण्डारी प्लानेटोरियम निर्माण गर्न ३ करोड र बारा कलैयामा मदन–आश्रित भवन निर्माण गर्न ३ करोड बजेट सहरी विकासले कार्यक्रम हालेको छ ।
त्यस्तै कपिलवस्तुको मदन–आश्रित स्मृति भवनका लागि ३ करोड रुपैयाँ सहरी विकासले छुट्याएको छ । बर्दिया गुलरियास्थित मदन–आश्रित स्मृति प्रतिष्ठान भवन निर्माण गर्न पनि ३ करोड छुट्याइएको छ ।
बजेट बढाएर खुद्रे योजना
सहरी विकास मन्त्रालयल बजेट अनुसार १ लाखको समेत ५०औं आयोजना छन्, बाडेगाउँको कृष्णप्रसाद भट्टराईको आश्रम नजिकको पहिरो संरक्षण गर्न १ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै शंखमुलमा पूर्वकर्मचारी सेवा परिषद् नेपाल भवनका लागि पनि १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले सहरी विकास मन्त्रालयको आगामी आवको बजेट २६ अर्बले बढाएको छ । जानकारका अनुसार अहिले सहरी विकास मन्त्रालय खुद्रे आयोजना बाँडफाँट गर्ने मुख्य अड्डा जस्तै भएको छ । चालु आव २०८१/८२ मा सहरी विकास मन्त्रालयको बजेट ९२ अर्ब ६३ करोड थियो । यस वर्ष बढाएर १ खर्ब १८ अर्ब पुर्याइएको छ ।
सहरी विकासमा बढेको अस्वाभाविक बजेट राजनीतिक एजेन्डा व्यवस्थापनका लागि बजेट छर्ने प्रवृत्तिको निरन्तरताका रूपमा विज्ञले लिएका छन् ।
सामान्य प्रशासन तथा संघीय मामिला मातहत रहेको स्थानीय पूर्वाधार विभाग अहिले सहरी विकास मन्त्रालय ल्याइएको छ । यसै विभाग मार्फत सरकारले खुद्रे आयोजना घुसाइरहेको छ ।
सहरी विकासले स्थानीय पुल र झोलुंगे पुलमा मात्र झन्डै ९ अर्ब बजेट विनियोजन गरेको छ । तराई–मधेस समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागिमात्र १ अर्ब विनियोजन गरिएको छ ।
सहरी विकास मन्त्रालय मार्फत ७ सय २७ किलोमिटर सहरी तथा ग्रामीण सडक, ४६ स्थानीय पुल सडक बनाउने बजेटमा छ ।
प्रतिक्रिया 4