+
+
Shares

तीन वर्षपछि रास्वपालाई फर्केर हेर्दा मैले जे देखें

सपना र संकल्पले मात्र पार्टी बन्दैन। संगठनको बल, नेतृत्वको स्फूर्ति, अनुशासन र सामूहिक समझदारी पनि आवश्यक हुन्छ। के हामीले यी तीन वर्षमा यस्ता पक्षमा जोड दिन सक्यौं त ?

क्रान्तिशिखा क्रान्तिशिखा
२०८२ जेठ २९ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा तीन वर्षअघि विश्वास र आशाका साथ स्थापना भयो, तर संगठनात्मक कमजोरी र आन्तरिक विवादले चुनौतीहरू सामना गरिरहेको छ।
  • लेखकले पार्टीको पुनःसंरचनाका लागि आत्मचिन्तन, आत्मसुधार र साझा सपना पुनःस्थापना आवश्यक बताउनुभयो।
  • सत्य र इमानदारीको आधारमा जनताको भरोसा जित्न पार्टीले संगठन, संवाद र जिम्मेवारीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

कहिलेकाहीं हामी इतिहासको यस्तो मोडमा आइपुग्छौं, जहाँ फर्केर हेर्न मन लाग्दैन, तर नहेरी पनि अगाडि बढ्न सकिन्न। हामी यही मोडमा छौं जहाँ तीन वर्षअघिको विश्वास र आजको विवशता आमनेसामने छन्। सपना र आजको सत्य एकअर्काको आँखामा आँखा जुधाइरहेका छन्।  एकातिर विश्वासको उज्यालो, अर्कातिर विवशताको अँध्यारो।

आजभन्दा तीन वर्ष अगाडि असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भयो। त्यतिबेला हामीसँग धेरै थोक थिएन। खास भन्ने हो भने त्यतिबेला हामीसँग केही थिएन, न कुनै सुविधा थियो, कर्मचारी थिएनन्, पद थिएन, न संरचना न सत्ता।

हामीसँग केही जोशिला अनुहारहरू थिए, केही अनुभवी आँखाहरूले देखेका सपनाहरू थिए, केही थाकेका हातहरूले बोकेको हिम्मत थियो, र केही अघाएका मनहरूमा जागेको नयाँ आशा थियो। हामीले विलासिता त्यागेका थियौं। हामीसँग रोडम्याप थिएन, तर एउटा पीडाको बेजोड गिन्ती थियो।

त्यो यात्रा चुनावी योजना देखिए पनि, भावनात्मक विस्फोट थियो। भ्रष्ट राजनीति तोडेर वैकल्पिक भविष्य बनाउने सपना थियो। नेपाली जनताका अधुरा आशाहरूको एक साझा प्रतिबद्धता थियो। त्यो अहिंसात्मक आन्दोलनको उद्घोष थियो, जसले विभाजन र हिंसाको बाटो छोडेर सबै नेपालीको अधुरो सपनालाई पूर्णता दिने प्रतिज्ञा बोकेको थियो।

हामीसँग न त ठोस रणनीति थियो, न त अघिल्लो यात्राको अनुभव। तर जुन कुरा सायद अरूसँग थिएन, त्यो हामीसँग थियो निष्कलंक हृदय, शुद्ध आकांक्षा र अडिग भावना। हामी शक्तिमा होइन, भावनामा विश्वास राख्नेहरू थियौं। हामीले सबै सुविधा त्यागेर, आफ्ना भोलिका सम्भावनाहरूलाई जोखिममा राखेर, देशका लागि राजनीति रोज्ने आँट गरेका थियौं।

हामी सिद्धान्तका घेराभित्र होइन, सपना र संकल्पको उज्यालोमा बाँधिएका थियौं। हामी सत्ता होइन, संवेदनाको खोजीमा थियौं। हामी वैचारिक घोषणापत्र होइन, सपनाको ध्वजावाहक थियौं। हामी कुनै ‘इज्म’ को जालमा होइन, परिवर्तनको तीव्र इच्छामा बाँधिएका थियौं। हामी ‘ठूलो योजना’ होइन, सानो तर सत्य लाग्ने विश्वासमा उभिएका थियौं।

त्यही भावना नै हाम्रो इन्धन थियो। जस्तो सुकै सपना बोकेका चाहे हार्वर्ड विश्वविद्यालयमा पढ्न पाएका नेपाली उत्पादन होउन् या दार्चुलामा सामान्य सुविधामा चित्त बुझाएका नेपाली सबैलाई जोडेका थियौं। अहिलेसम्म लोकतन्त्रको नाममा जसले जे जे बेच्दै आए, यो मात्रै लोकतन्त्र होइन भन्नको लागि, केही दिनको आवेगमा होइन, जीवनभरिको बेचैनीलाई न्याय गर्न एउटा पार्टी त चाहिने नै भयो।

हामीले सम्झिनुपर्छ सभापतिको रिहाइ जति महत्वपूर्ण छ, उत्तिकै महत्वपूर्ण छ बोस्टनदेखि दार्चुला र रोल्पासम्म जहाँ-जहाँ परिवर्तनको सपना बोकेर बसेका नेपाली छन्, तिनलाई जोड्ने हाम्रो साझा सपना। त्यो सपना, जुन हामीले तीन वर्षअघि देखेका थियौं।

हामीले साझा सपना देखेका थियौं, साझा शक्तिमा विश्वास राखेका थियौं। हाम्रो आत्मविश्वास यति प्रबल थियो कि कहिलेकाहीं त्यसले आत्मपरीक्षणको ऐना धमिलो बनाइदियो। तर हामी त्यही धमिलोपनलाई पनि अर्थ लगाउने प्रयासमै अल्झियौं। त्यही धमिलो दृष्टिलाई नै दृष्टिकोण ठान्दै बस्यौं। त्यहीमा आशा देख्यौं, त्यसैलाई सच्याउने सट्टा सम्हाल्न खोज्यौं।

कहिलेकाहीं हामी आफ्नै नियतलाई तर्कको आवरणले ढाक्न थाल्यौं, कहिले अरूका कमजोरीमा दोषारोपण गर्ने तिर्सनामा रमायौं। यही बीचमा समय चुपचाप हाम्रो हातबाट चिप्लिंदै गयो। हामी आफैंलाई पूर्ण रूपमा चिन्न र बुझ्नुअघि नै थुप्रै मूल्यवान् कुरा गुमाइसकेका थियौं।

आत्मछलनका ती सूक्ष्म तर निर्णायक क्षणहरूमा, राजनीतिक यात्राको किताबका केही महत्वपूर्ण पानाहरू च्यातिंदै गए। आत्मअन्वेषण सम्भव थियो, तर हामीले ती क्षणहरूलाई  तर्कको पिंजडामा थुनेर राख्यौं। जहाँ स्वचिन्तन होइन, अन्तरप्रसन्नता पलाउँथ्यो। यही क्रममा, हामी न सत्यसँग आँखा जुधाउन सक्यौं, न आफूसँग इमानदार हुन।

हामीलाई लाग्थ्यो प्रतिस्पर्धा आवश्यक छैन, किनभने हाम्रो नियत, उद्देश्य निर्मल थियो, आशय पवित्र थियो। तर बिर्सियौं नियतले मात्र पुग्दैन। जनताले हाम्रो मनको चाहनाभन्दा बढी, हाम्रो निर्णयका परिणामहरूमा विश्वास गर्छन्। उनीहरूले आशय होइन, हाम्रा असर अनुभव गर्छन्।

हामी अघि बढिरह्यौं कहिले आत्मबलको ज्वालामा, कहिले सपना बोकेको विवेकको आलोकमा। हामीलाई लाग्थ्यो प्रतिस्पर्धा निष्पक्ष हुनेछ, प्रतिद्वन्द्वीहरू विचारमा फरक तर इरादामा इमानदार, नियतमा निष्ठावान् हुनेछन्।

हामी लोकतन्त्रलाई लिलामीमा राखिएको देखेर उठेका थियौं, जुन विवेकले हामीलाई उठाएको थियो, त्यो समयसँगै राजनीतिक सन्धि जस्तो फिक्का हुँदै गयो। जसले हामीलाई एकजुट गर्नु सट्टा भित्र–भित्र विखण्डन जस्तो गरायो।

राजनीतिमा सपनाले मात्र पार्टी बन्छ भन्ने होइन। संगठनको बल, नेतृत्वको स्फूर्ति, अनुशासन र सामूहिक समझदारी पनि आवश्यक हुन्छ। हामीले यी तीन वर्षमा ती सबै पक्षहरूलाई कसरी सामना गर्‍यौं?

कहिलेकाहीं स्वार्थ र इगोले हाम्रो साझा ध्येयलाई पछि पारे। हामीले अन्तरमुखी बनेर समस्या समाधान गर्न ढिलो गर्‍यौं। नतिजा? हामीले धेरै अवसर गुमायौं, र संगठन कमजोर बन्दै गयो।

यस्तो हुनुको अर्को एउटा कारण थियो। राजनीतिका उकालोहरू हामीले चाँडो काटेका थियौं। व्यवस्थालाई गलत प्रयोग गर्नेमाथि ‘हामीलाई राम्रो गर्लान्’ भन्ने सोचले ओतप्रोत भयौं। उनीहरूले पिठ्यूँमै ताछ्ने बञ्चरो बोकेर आएका रहेछन्। हाम्रो सदाशयको भूमिमा उनीहरूले अविश्वासको बीउ रोपे, हामी भने त्यो बीउलाई आफ्नै उदारताको पानी हालेर स्याहार गरिरह्यौं।

यसमा प्रफुल्ल हुनुपर्ने केही छैन, यो हाम्रो अपरिपक्वता थियो। हाम्रो कमजोरी थियो। आफ्नै कमजोरीलाई हामीले ताकत मान्यौं। त्यही ताकतले आफू त गल्यौं गल्यौं; हामीलाई वैकल्पिक भन्नेहरूको नजरमा पनि कमजोर भयौं।

आज हाम्रो सभापति सामान्य समस्यामा हुनुहुन्न। तर सामान्य परिस्थितिमा उहाँकै सपना बोकेर हामी अगाडि बढेका थियौं। त्यो सपनालाई यथार्थ बनाउनुपर्छ भन्ने साथीहरूको अठोट र साथमा हामी बलियो थियौं। तर आज हाम्रो पार्टीको आन्तरिक क्षमता, हाम्रो संगठनको आत्मबल, सबै एकैचोटि प्रश्नमा परिरहेको छ।

हामीले सम्झिनुपर्छ सभापतिको रिहाइ जति महत्वपूर्ण छ, उत्तिकै महत्वपूर्ण छ बोस्टनदेखि दार्चुला र रोल्पासम्म, जहाँ-जहाँ परिवर्तनको सपना बोकेर बसेका नेपाली छन्, तिनलाई जोड्ने हाम्रो साझा सपना। त्यो सपना, जुन हामीले तीन वर्षअघि देखेका थियौं।

हामीले कहिल्यै कांग्रेस, एमाले, माओवादीका परिवर्तनशील युवाहरूसँग खुला संवाद शुरू गर्‍यौं ? कुनै साझा पहलको प्रयास गर्‍यौं ? सञ्चारमाध्यमका साथीहरूसँग पनि पटक-पटक संवाद गर्न खोज्यौं, संवादको पुल बनाउने प्रयास गर्‍यौं—तर किन सफल भएनौं ? के हामी संवादको रणनीतिमा कमजोर थियौं, कि तिनको पूर्वाग्रहमा दबियौं ?

हामी कसैलाई पनि देवत्वकरण गर्ने स्कुलिङबाट आएका थिएनौं। हामीले हरेक सदस्य साथीको निष्ठा र संकल्पप्रति विश्वास गरेरै प्रतीकात्मक अर्थमा भनेका थियौं हरेक व्यक्ति रवि हुनुपर्छ। नेतृत्वको ऊर्जा, पारदर्शिता र असल नियत सबैमा फैलिनुपर्छ भन्ने हाम्रो आदर्श थियो। तर व्यवहारमा भने हामी आफैं चिप्लियौं।

कि हामीले त्यतिबेलै झुट बोलेका थियौं ? शक्ति हुँदा हामीले नियमन गुमायौं, शक्ति गुमेपछि नियमन खोज्न थाल्यौं।

हामीले केन्द्रमै एकता गराउन सकेनौं। बाहिरी तत्वसँग भन्दा हामी रास्वपा केन्द्रीय समितिका कतिपय सदस्यभित्रै कसैको बोलचाल बन्द, कसैको व्यक्तिगत जीवन माथि प्रहार, कसैको हैसियत माथि अनुचित कुरा गरियो संवादहीनता, गुटगत सोच बलियो भयो। संगठनभित्रको शून्यता, असहमतिको घृणा र नेतृत्वप्रतिको अविश्वासले हाम्रो मेरुदण्ड चिरेको हो, बाहिरी आलोचनाले मात्र होइन।

‘रास्वपाको आयु धेरै छैन’ भन्ने आशंका शुरूदेखि नै चारैतिर गुञ्जिरहन्थ्यो। आज त्यही आशंकालाई सत्य ठहर्‍याउने प्रयत्न फेरि पनि चर्किंदैछ। पार्टीभित्रका कुरा गोप्य रहनै सकेनन्, केन्द्रीय समितिको बैठक होस् वा अत्यन्त संवेदनशील निर्णयहरू, एकछिन नबित्दै भित्री कुरा  बाहिर आइहाल्थ्यो। आइरहन्छ। मिडियासम्म पहुँच भएका जो–कोहीले रास्वपाको भित्री गल्ली देख्न पाउँथे, तर हामी भने बारम्बार मौन बस्यौं मौनताले गम्भीरता होइन, कमजोरीको सन्देश दियो। गोपनीयताको संरचना च्यातिंदै गयो, र नेतृत्वले त्यसलाई सम्हाल्न चासो दिएन।

आफ्नै विधि मिच्नेहरूमाथि पनि हामीले कारबाही गर्न सकेनौं। अनि त्यही क्षमताविहीनताका साथ, हामी अरू दलबाट जवाफदेहिता र अनुशासनको अपेक्षा गर्न थाल्यौं—यो आफैंमा विडम्बना हो।

यसैबीच, हामी भित्रभित्रै रास्वपा पछाडि छोडेर नयाँ ‘ठाउँ’ खोज्न थालेका थियौं। कसैले पुराना दलको छायाँमा आश्रय खोजे, कसैले अवसरको ढोका ढक्ढक्याए। तर फेरि पनि, हामीमध्ये अधिकांश त रास्वपामै कर्तव्यबद्ध देखिएकै हो। अवसरको खोजी स्वाभाविक प्रक्रिया हो, तर असफलता वा कमजोरी देख्नासाथ त्यसलाई राजनीतिक अस्त्र बनाउने अभ्यास गम्भीर चुनौती हो।

र यही यात्रामा हामीले एउटा मूल कुरा बिर्सियौं— दूरीबाट देखिने अवसर र सम्बन्धभन्दा गहिरो कुरा हो क्षमता। जहाँ क्षमता हुन्छ, त्यहीं टिकाउ सफलता हुन्छ, त्यहीं साँचो सन्तुष्टि पाइन्छ। क्षमता विना त्यो अवसर बोझ बन्न सक्छ। र हामी अहिले यही बोझ त तानेर हिंडिरहेका छैनौं ?

अनि यसरी चुनावमा होमिंदा जितिन्छ भन्ने विश्वास गर्छौं भने त्यो हामीले आफैंलाई गरेको अन्याय हो र जनतालाई छरेको भ्रम हो। हामी खेलमा आफ्नै इमानदारीलाई किन्न खोजिरहेका छौं ! सोचौं त ! तर के हामी त्यो तीन वर्ष पार गर्दा, पहिलो दिनको संकल्प सम्झिरहेका छौं?

कि साना-साना स्वार्थहरूले हामीलाई बाँध्न थालिसकेको छ? के हामी पनि, थाहै नपाई, कांग्रेस, एमाले वा माओवादी जस्ता बन्न थालेका छौं? के हामी साँच्चिकै ‘स्वतन्त्र पार्टी’ बन्दैछौं कि अरू पार्टीहरूको उपग्रह अर्थात् ‘स्याटेलाइट’ मात्रै बन्दैछौं? कतै हामी वास्तविक अर्थमा कम, तर फेसबुक पोस्ट र ट्वीटमा मात्रै बढ्ता क्रान्तिकारी बनिरहेका त छैनौं ?

यदि साँच्चिकै स्वतन्त्र बन्नु छ भने, यी सानातिना दैनिक जीविकाका बन्धनबाट हामीले आफैंलाई मुक्त पार्नुपर्छ।

अहिले हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको हाम्रै ‘म’ हो। हाम्रो सबैभन्दा ठूलो प्रतिस्पर्धी हामी आफैं हौं। जसका लागि सपना देखेर हामी यहाँसम्म आएका थियौं त्यो सपनासँग गरिने सम्झौताहरूलाई जित्ने दिन, हामीलाई कांग्रेस, एमाले, माओवादी वा अन्य कुनै पार्टीलाई हराउनै पर्दैन। जनताले स्वतः हामीलाई जिताइदिनेछन्।

तर, के हामी आउने निर्वाचनका लागि मानसिक र वैचारिक रूपमा तयार छौं? के हामी हाम्रो काम, गन्तव्य र आत्मसँग पूर्ण प्रतिबद्ध छौं?

हामीले थुप्रै योजना बनायौं, सुनायौं। ती मध्ये एउटा थियो नारायणगढ, बुटवल वा मेची-महाकाली अभियान ! के यी सबै साँच्चिकै जनताको मन जोड्ने प्रयास थिए? कि ती केवल फाइलमा अंक थप्ने, संख्या देखाउने र ब्युरोक्रेटिक शैलीमा ‘काम देखाउने’ औपचारिकता मात्रै थिए?

हामीले यी अभियानहरूलाई जनताको आशा र विश्वासको आधार बनाउन सक्यौं कि केवल मञ्चमा उभिएर भाषण ठोकेर फर्कियौं? यी केवल प्रश्न वा आक्षेप होइनन्। यी त आत्मसमीक्षाका मेनु हुन् जसउपर हामीले कठोर समीक्षा गर्नुपर्छ।

म कसैलाई लक्षित गरेर होइन, सार्वजनिक आत्मालोचना र सामूहिक विवेचनाको लागि यो भन्छु। रास्वपा अधुरो सपना पूरा गर्ने आन्दोलन हो। यदि हामीले आफ्नै कमजोरीहरूलाई जित्न सक्यौं भने, जनताले हामीलाई आफ्नो मन र मत दुवैले विजयी बनाउनेछन्। केवल चुनाव जित्नु उद्देश्य होइन। त्यो सपनासँग गरिएको सम्झौताहरूको जित हुनुपर्छ।

हामी अहिले जुन संकटको घडीमा पार्टी जीवनमा छौं, यो नेपालकै इतिहासमा न त पहिलो चोटि हो, न अन्तिम पटक।

अझ ठूलो संकट आउन सक्छ र हामी त्यो संकटको लागि तयार हुनुपर्छ। जुन संकट जसलाई आउँदा पनि बराबरी महत्व दिनुपर्छ। तर त्यस्तो तयारी गर्दा, हाम्रो मूल सपना बिर्सिनुहुँदैन। आज हामी त्यो सपना बिर्सिएका छौं। सपना बिर्सेर, हामी २०८४ मा जान सक्दैनौं। त्यो सपना विनाको २०८४ केवल भ्रम हो। त्यो भ्रमको जालमा फसेर हामी फेरि ‘अचेत’ नहोऔं।

हिजो हामी पद पाउन हतारिएका थियौं, आज पद गुमाउन त्यत्तिकै हतारिएका छौं। पार्टी भन्दा अगाडि आफ्नै ब्रान्ड बनाउनेहरूलाई आज पनि म प्रश्न गर्न चाहन्छु। पार्टीको अहित जनताको हित चाहन्छ भनेर कसरी पत्याउने ?

हामी भन्थ्यौं हाम्रो लागि सपना ठूलो हो, पद होइन। तर आज लाग्छ पद ठूलो हो, सपना होइन। सपना गौण भयो? हामी यो अवस्थामा कसरी पुग्यौं? तीन वर्षमा त्यस्तो के भयो, जसका लागि हामीले जीवनभरिको सपना, सामूहिक आकांक्षा र जनताको विश्वाससँग सम्झौता गर्नुपर्ने भयो? किन हामीले आफ्नो स्वाभिमानलाई मोलमा राख्यौं?

यस वेला मनमा एउटा प्रश्न लगातार घुमिरहेको छ, के यो पदको लोभले हाम्रो यात्रा यतिमै ध्वस्त भयो ? के हामीले आफ्नो मूल्य र लक्ष्यलाई त्यागेर अस्थायी फाइदामा आत्मसमर्पण गर्‍यौं?

हामीमध्ये कोही सांसद भयौं, कोही मन्त्री, कोही केन्द्रीय सदस्य। म स्वयंले पनि केही जिम्मेवारी पाएकी छु। तर यी सबै जिम्मेवारीले हामीलाई त्यो सपना सम्झायो त? जुन  नेपालका दुर्गममा बस्ने नागरिकहरूले देखेका थिए जो अझै राज्यको सेवाबाट वञ्चित छन्, तर परिवर्तनप्रतिको आस्था गुमाएका छैनन्।

हामी आज दोबाटोमा छौं। हामीले चाहने हो भने फेरि पनि सुरुवात गर्न सक्छौं तर यसपटक आत्मचिन्तन सहित, आत्मसुधार सहित। यो केवल पार्टी बचाउने होइन, आफ्नो सपनाको पुनर्जन्म गर्ने क्षण हो।

के हामीले हाम्रो उपलब्धिलाई तिनका अपेक्षासँग गाँस्न सकेका छौं? कि केवल आफ्नो पद, शक्ति र मानमर्यादामै सीमित भयौं?

हामीले केन्द्रीय समितिलाई निर्णय गर्ने शक्ति होइन, निर्देशन लिने औपचारिकता बनायौं। जहाँ सल्लाह होइन, आदेश सुनाइन्छ। अनि त्यही समिति जसको आवाजलाई हामी आफैंले कमजोर बनायौं, फेरि त्यहींबाट चामत्कारिक समाधानको अपेक्षा गर्न थाल्यौं। हामीले निर्णयको प्रक्रिया अपारदर्शी बनायौं, तर पारदर्शिता गुमाउँदा जिम्मेवारी भने बाँकी सबैलाई थमायौं।

केन्द्रीय समिति आज निर्णय लिन सक्ने संरचना होइन, आलोचना सहन बाध्य पंक्ति बनेको छ। अधिकार नभएको ठाउँमा जब जिम्मेवारी बोकिन्छ, त्यहाँ निष्क्रियता मात्र बाँकी रहन्छ। यो संरचना अब अदृश्य भएर बाँच्नुपरेको, तर आलोचित भएर मर्नुपर्ने निकाय बन्दै गएको छ।

सचिवालयको बोलाइ नै ‘विधि’ बन्यो। आज एउटा निर्णय लिइन्छ, भोलिपल्ट त्यो बदलिन्छ। तर प्रश्न गर्नेहरूको ठाउँ छैन। कसैले भिन्न मत राख्यो भने त्यो तुरुन्तै ‘अनुशासनको प्रश्न’ बन्छ। हामी यस्तो संरचना बनाउँदैछौं जहाँ सत्य भन्दा शक्तिको आवाज ठूलो हुन्छ।

लोकतन्त्र भन्नेबित्तिकै हामी अधिकारको कुरा गर्छौं, तर भित्रभित्रै असहिष्णुताको बीउ हुर्काउँछौं। फरक मतप्रति सम्मान होइन, शङ्का पलाउँछ। प्रश्न गर्नेलाई ‘द्रोही’ ठानिन्छ, चाकडी गर्नेलाई ‘निष्ठावान्’ मानिन्छ। अनि हामी आफूलाई लोकतान्त्रिक पार्टी भनिरहन्छौं।

पार्टीभित्र कसैले विचार राख्यो भने हामी अचम्म मान्छौं। तर आफूले भनेका हरेक कुरा चाहिं अन्तिम सत्य ठान्छौं। हामीलाई लाग्छ सत्ता सधैं सही हुन्छ, विरोध भने झुटो। यतिबेला सत्ता सचिवालय बनिरहेको छ।

हाम्रो सबैभन्दा ठूलो दुर्बलता के हो भने हामी कसैको उचाइ स्वीकार गर्न सक्दैनौं। कोही अलिकति अगाडि बढ्यो भने त्यो खतरा लाग्छ। ‘म अगाडि, बाँकी सबै पछि’ भन्ने सोच बनिसकेको छ। यही सोचले संगठनभित्र साना–साना स्पर्धालाई गहिरो द्वन्द्वमा रूपान्तरण गरिरहेको छ।

हामीले शुरू गरेको सपना, आज व्यक्तिगत असहिष्णुता र संस्थागत कमजोरीको दलदलमा अल्झिएको छ। तर हामी अझै पनि आँखा चिम्लेर, कान थुनेर र आलोचना नझेल्ने अडानका साथ भनिरहेका छौं, सब ठीक छ, बस अरूले नबोलून्।

अब हाम्रो योजनाहरू यस्ता हुनुपर्छ, जसले हामीलाई साँच्चिकै ‘स्वतन्त्र’ बनाओस्। नभए हामी अरू पसलहरूको बीचमा अर्को औसत पसलमै सीमित हुनेछौं। भित्तामा झुन्ड्याइएको सुन्दर बोर्ड, तर भित्र उस्तै थकित सम्भावनाहरू। युवाहरूले बोकेका सपनाहरू फेरि एकपटक चुपचाप विदेशतिर लम्किनेछन्। जनतामा फेरि निराशा छाउनेछ, युवाहरूको सपना फेरि मरेर जानेछ। अनि फेरि कुनै अर्को पार्टी आउनेछ, जसले हाम्रा २१/२२ सिटहरू जोडेर उपप्रधानमन्त्रीको माला लगाइदिनेछ। हामी सतही परिवर्तन र ‘कस्मेटिक’ सुधारलाई उपलब्धि ठानेर रमाउनेछौं।

हामीसँग धेरै पढेलेखेका विचारशील साथीहरू हुनुहुन्छ, कृपया; विश्व इतिहास पल्टाऔं। परिवर्तनका  इतिहास पढौं, क्रान्तिका निष्कर्ष बुझौं। हाम्रो काम एउटा नयाँ राजनीतिक संस्कार बनाउने हो जहाँ जनताको भरोसा भोटसम्म सीमित नहोस्, जहाँ हाम्रा सपना केवल चुनावी भाषणका पंक्तिहरूमा मर्न नपरोस्। बोल्नु नपर्ने कुरा नबोलौं।

२००७ सालदेखि आजसम्मको इतिहास फर्केर अधुरो सपना बोकेर अघि बढ्ने पुस्ता हौं। बीपी कोइरालाको समाजवाद, जसले सामाजिक न्यायको सपना देखाएको थियो, अधुरै रह्यो। पुष्पलालको सामन्तवाद, पूँजीवाद र निरंकुशता विरुद्धको क्रान्ति, सुवर्णशमशेरको लोकतन्त्रको आदर्श, मदन भण्डारीको जनताको बहुदलीय जनवाद, बाबुराम भट्टराईको नयाँ शक्ति, मधेश आन्दोलनको आत्मसम्मान र नागरिक आन्दोलनहरूको स्वाभिमान—सबै आधा बाटोमै रोकिए। यी सबै सपना अधुरो रहनु केवल तिनको कमजोरी थिएन, त्यो हाम्रो साझा लाचारी पनि हो। हामीले कहिल्यै ती सपनाहरूलाई जोडेर नयाँ युगको कथा लेख्ने आँट गरेनौं।

पछिल्ला तीन वर्षमा हामीसँग त्यो अवसर थियो के हामीले अग्रजहरूको अधुरा सपना सम्हालेर नयाँ पुस्ताको साझा सपना बनाउन सकेका छौं? कि हामी पनि उही पुरानो परिपाटी दोहोर्‍याइरहेका छौं? कांग्रेसको सपना कांग्रेसको मात्र होइन, त्यो यथार्थमा आम नागरिकको थियो जसलाई इतिहासको कालखण्डमा खुलेको पार्टीले वाणी मात्रै दिएको थियो। कांग्रेस मात्रै होइन एमालेको इतिहास, माओवादीको विद्रोह, मधेशको आक्रोश, जनताको चिच्याहट यी सबै हामीभित्र गढिएका कताकता अधुरा सत्यहरू हुन्।

अझ यी त राजनीतिक विद्रोहहरू थिए। हाम्रो लोकतन्त्रले सामाजिक विद्रोहहरू देख्नै बाँकी छ। यी सब हुँदा पनि हामीले अझै पनि विचार होइन, व्यक्ति हेर्ने गल्ती दोहोर्‍याइरहेका छौं। रास्वपालाई पनि एउटै आँखाले हेरिएको छ— एउटा अनुहार, एउटा नाम भनेर सीमित बनाइएको छ।

तर रास्वपा त्यो छायाँमा जन्मिएको पार्टी हो, जसले बीपीदेखि बाबुरामसम्म, योगमायादेखि देवी खड्कासम्म, मधेशदेखि हिमालसम्म फैलिएका अधुरा सपना समेटेर ती टुक्रिएका, विखण्डित आकांक्षाहरूलाई एउटै विचारको धागोमा उनेर साँच्चै नयाँ नेपालको माला बन्नुपर्ने थियो।  के हामीले यो तीन वर्षमा ती सपनाहरू एउटै धागोमा उन्ने प्रयास गर्‍यौं?

हाम्रा अग्रजहरूले सुम्पेको विरासतलाई अगाडि लैजाने जिम्मेवारी हाम्रै त हो। उज्ज्वल थापाको मार्गचित्रमा रञ्जु दर्शनाहरूले हिजो लिएको सुधारको संकल्प, आजका स्वतन्त्र मेयरहरूले काठमाडौं, धरान र धनगढीमा बनाइरहेका योजनाहरूलाई राजनीतिक अभिमुखीकरण दिनु हाम्रो काम होइन र?

पक्कै हो। तर हामीले तिनीसँग कहिल्यै सहकार्यको प्रयास गर्‍यौं? प्रयास गरे पनि उनीहरूको इगोले हामीलाई चुप गरायो। हामीले त्यसलाई उनीहरूको रणनीति सोच्यौं। आफ्नो संवादको ढोका फेरि खोल्ने साहस गरेनौं। हामीले चाहेको राजनीति यति उदात्त हुनुपर्थ्यो कि त्यसले सानातिना वैचारिक वा भावनात्मक तगारा सहजै खुलाउन सक्नुपर्थ्यो।

हामीले कहिले सोच्छौं ? कसरी यी सबै विचार, सपना र सामर्थ्यहरूलाई एउटै प्लेटफर्ममा ल्याउन सकिन्छ र त्यो केन्द्रबिन्दु रास्वपा बन्न सक्छ? सोच्छौ होला तर त्यसमा पनि आफ्नै भाग त हेरिरहेका हुँदैनौं ?

हामीले कहिल्यै कांग्रेस, एमाले, माओवादीका परिवर्तनशील युवाहरूसँग खुला संवाद शुरू गर्‍यौं ? कुनै साझा पहलको प्रयास गर्‍यौं ? सञ्चारमाध्यमका साथीहरूसँग पनि पटक-पटक संवाद गर्न खोज्यौं, संवादको पुल बनाउने प्रयास गर्‍यौं—तर किन सफल भएनौं ?

के हामी संवादको रणनीतिमा कमजोर थियौं, कि तिनको पूर्वाग्रहमा दबियौं ? कि मात्र प्रतिक्रियात्मक भएर उही पुराना आरोप–प्रत्यारोपको परिधिमा घुमिरह्यौं?

जुन (न) काम त कांग्रेस, एमालेले वर्षौंदेखि कुशलतापूर्वक गरिरहेकै छन्। हामी त्यसैको प्रतिछायाँमा सीमित भइरहेका त छैनौं? हामी त विकल्प पो बन्न आएका थियौं।

यो निर्णायक घडीमा सम्हालिनुपर्ने जिम्मेवारी केवल नेतृत्वको काँधमा होइन समर्थकको विवेक र प्रतिबद्धतामा पनि छ। पुनर्निर्माणको काम संगठनको संरचना मात्र होइन हाम्रो साझा सपना, विश्वास र चेतनाको पुनर्जागरण हो

हामीले यात्रा थाल्दा गल्ती गरेका होइनौं तर हिंड्दै जाँदा हामी आफ्नो यात्राप्रति यति मख्ख पर्‍यौं कि हाम्रो मूल लक्ष्य नै बिर्सियौं। हामी जनताको पीडाबाट जन्मिएका थियौं, तर अन्ततः तिनै शक्तिका लक्ष्यहरूको साझेदार बन्यौं, जसको विरोधमा हामी उभिएका थियौं। यो सुन्न गाह्रो लाग्छ, स्वीकार्न झनै— तर सत्य यही हो। हामीले त्यस्तो गल्ती गर्‍यौं, जसले धेरैको भरोसा भत्कायो।

रास्वपाको जन्म हुँदा कुनै सामान्य समय थिएन। समाज थाकिसकेको थियो ! उस्तै-उस्तै अनुहारहरू, उस्तै खोक्रा भाषणहरू र बारम्बार दोहोरिएको धोका देखेर पूर्ण रूपमा विरक्तिएको थियो। जनतालाई नयाँ ‘वाद’ चाहिएको थिएन— उनीहरूलाई चाहिएको थियो सत्य, सरल इमान।

हामीले भनेका थियौं हामी अर्को नाम होइनौं, विकल्प हौं। ‘अरू जस्तै’ होइनौं, जनताको आँखामा भरिएको आशा हौं।

तर आज, तीन वर्षपछि, त्यो भावना र विवशता आमनेसामने छन्। हामी राजनीतिक गणनामा होइन, जनताको मौन चिच्याहटमा विश्वास गरेर आएका थियौं।

तर आज… तीन वर्षपछि… जब हामीसँग केही कुर्सी छन्, केही संरचना बनेका छन्, जब हामी पनि अब ‘व्यवस्था’ का एक हिस्सा हौं, के हामी अझै त्यही आगो बोकेर हिंडिरहेका छौं? कि त्यो आगो अब केवल न्यानोपनको सम्झना मात्रै बनिरहेको छ ?

हामीले जनताको आँखाबाट संसार हेर्ने अठोट गरेका थियौं— तर फेरि आफ्नै फ्रेमबाट हेर्न थालेका छौं। हामीले जनताको भाषामा राजनीति गर्ने वचन दिएका थियौं तर फेरि पुरानै भाषाको अनुवाद जस्ता भयौं।

आज रिल रिवाइन्ड गरेर हेरौं। हामी संसद्मा छौं, नीति निर्माणमा छौं, यी आफैंमा असाधारण उपलब्धिहरू हुन्। तर अब मूल प्रश्न उठ्छ हाम्रो पार्टीभित्र संवादको संस्कृति कस्तो बनिरहेको छ? हामी कसरी सुन्छौं? कसरी असहमतिलाई ठाउँ दिन्छौं? आलोचनालाई सिकाइको मौका बनाउँछौं कि आक्रमणको बहाना।

आजको यो दिनमा उत्सव मनाउँदै गर्दा उभिएर हामीले आफूलाई सोध्नैपर्छ के हामी अझै त्यही आगो बोकेर हिंडिरहेका छौं कि हामी पनि बिस्तारै बलेका अंगारमा पानी हाल्दैछौं।

के हाम्रो आँखा अझै पनि जनताको भरोसा देखेर रसाउँछ, कि अब त्यो आँखा सत्ताको चमकमा झिम्किन थालिसकेको छ? के रास्वपा अझै पनि जनताको विश्वासपत्र हो, कि अब त्यो पनि केवल अर्को पार्टीको प्रतिलिपि बन्दैछ?

आज, जनताले हाम्रा आँखामा हेरेर सोधिरहेका छन्– त्यो विकल्प अझै बाँचेको छ कि केवल अर्को संस्करण बन्दैछ? तीन वर्षपछि हामी फर्केर हेर्दा नबोलियोस्— हामीले राजनीति मात्र सिक्यौं, तर विश्वास गुमायौं।

यो यात्रा कहिल्यै सजिलो थिएन, न अब सजिलो हुनेछ। तर हामीले शुरू गरेको त्यो सपना धुलो, घाउ र थकानले थिचिएको तीन वर्षको यात्रामा हराउन मिल्दैन। त्यो सपना कुनै पदको होइन, आशाको थियो। हामीले देखेको त्यो सपना आजको राजनीतिमा अटाउन सक्दैन, किनभने त्यो सपना सत्यको थियो नाफाको थिएन।

अब उडान लिंदा केही सिक्नै पर्छ। अहिलेसम्म जे भयो, जे देखियो, जे महसुस गरियो मेरा अनुभूतिहरूको प्रतिबिम्ब थियो। तर आज म केवल भूतकालको गन्ध बोकेर बाँचिरहेकी छैन। हामी विगतमा अडिएका छैनौं। हामी अहिलेको सत्यसँग जुधिरहेका छौं, अभ्यास गरिरहेका छौं— बहुल विचारलाई केवल सुन्ने होइन, बाँड्ने, सहने र अपनाउने अभ्यास गर्दैछौं। हो, हाम्रो सीप सीमित छन्। हाम्रा अनुभवहरू अधूरा छन्।

मलाई मात्रै होइन, धेरै साथीहरूलाई लाग्दो हो— “हामीलाई अझै धेरै कुरा आउँदैन।” यही अधुरोपन, यही अपूर्णता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

यही अधुरोपन, यही अपूर्णता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। हाम्रा सीमितता नै हाम्रो दर्पण हुन् जहाँबाट हामी आफ्नै प्रतिबिम्ब देख्छौं र भन्छौं हामी अझै अधूरा छौं, तर अधूरोपन लज्जा होइन, ऊर्जा हो।

हामी जे–जे जान्दैनौं, त्यो सिक्नुपर्ने हो। र जो जान्दछन्, उनीहरूले बाँड्नुपर्ने हो। किनभने ज्ञान बाँड्दा घट्दैन—झन् बढ्छ, गाढा हुन्छ र सामूहिक चेतनामा रूपान्तरण हुन्छ। व्यक्तिगत प्रसिद्धिभन्दा ठूलो कुरा हो—साझा प्रयत्न, साझा सपना र साझा समर्पण।

कलेक्टिभिज्म अर्थात् सामूहिकतावाद केवल नारा होइन— हाम्रो यात्राको मेरुदण्ड हो। तर सत्य के हो भने, हामी ‘हामी’ भित्रै कताकता अझै पनि वैयक्तिकतावाद अर्थात् इन्डिभिडुअलिज्मको छायाँ देखिरहेका छौं। आफ्नै पहिचान, आफ्नै चर्चाको पछि दौडिने बानीले कहिलेकाहीं सामूहिक यात्राको लय भत्काउने खतरा बढाउँछ।

केवल व्यक्तिगत ब्रान्डिङमा केन्द्रित हुँदा मानिस चर्चित त हुन सक्छ, तर त्यो चर्चा प्रायः क्षणिक र सतही हुन्छ। जबसम्म प्लेटफर्म बलियो हुँदैन, व्यक्तिको सफलताले पनि लामो यात्रा गर्न सक्दैन।

बलियो संस्था र साझा मूल्यहरू नै दिगो परिवर्तनका आधार हुन्। किनभने व्यक्तिको उचाइ संस्थाको गहिराइमा टिकेको हुन्छ, र त्यो गहिराइ सामूहिक योगदानबाटै सम्भव हुन्छ।

आजको प्रश्न केवल पार्टी पहिले जस्तै रहन्छ कि रहँदैन भन्ने होइन आजको चिन्ता एउटा पुस्ताले बोकेको अमूल्य विश्वास बच्छ कि हराउँछ भन्ने हो। त्यो विश्वास, जसले हामीलाई हुर्कायो, जोड्यो र सम्भावनाको नाममा एउटै आवाज हो। त्यो विश्वास मर्‍यो भने, केवल रास्वपा होइन एउटा पुस्ताको भरोसा, भविष्यप्रतिको आशा र नयाँ राजनीतिप्रतिको सम्भावना पनि मर्छ।

त्यसैले अब हामी ‘म’ बाट ‘हामी’ बन्ने साहस गरौं। व्यक्तिगत आकांक्षा र सामूहिक जिम्मेवारी बीचको सन्तुलन मिलाउँदै अघि बढौं। ज्ञान, श्रम र श्रेय बाँडौं। किनभने साँचो परिवर्तन तब मात्र सम्भव हुन्छ, जब हामी केवल आफ्ना लागि होइन— एक–अर्काका लागि पनि बाँच्न थाल्छौं। सोच्न थाल्छौं।

पार्टीमा चेन अफ कमान्ड नहुँदा संगठन दिशाविहीन, गुटबन्दीग्रस्त र अराजक बन्छ। निर्णयहरू उल्टिन्छन्, तहबीच हस्तक्षेप बढ्छ, र नीति होइन व्यक्ति चल्छ। यही कमजोरीले पुराना पार्टीहरू बिग्रिए। रास्वपामा पनि यस्ता संकेत देखिन थालेका छन्। अब हस्तक्षेप होइन समन्वय, मनपरी होइन अनुशासन, र अस्पष्टता होइन स्पष्ट नेतृत्व अपरिहार्य छ। नत्र परिवर्तनको सपना बोकेको यो पार्टी पनि पुरानै अभ्यासको शिकार भई इतिहासमा फेरि एक अधुरो प्रयासको संज्ञा मात्र बन्न सक्छ।

गुनासो आयो भने केवल चित्त बुझाउने शब्दले होइन, सत्य सुन्ने साहसले जवाफ दिनुपर्छ। साना समस्यालाई बेवास्ता गर्दा तिनै समस्या भोलि विस्फोट भएर संगठन हल्लाउन सक्छन्। अब बहाना होइन, पारदर्शिता र जवाफदेहिता हाम्रो संस्कार बन्नुपर्छ। हाम्रा कार्यविधि कागजमा होइन, व्यवहारमा समान रूपमा लागू हुनैपर्छ, विशेषतः जिम्मेवारी बोकेकाहरू झन् बढी उत्तरदायी हुनुपर्छ। आर्थिकदेखि सांगठनिक सबै कुरा स्पष्ट र एकरूप हुनुपर्छ, किनभने यो पार्टी अनुहारको परिवर्तन होइन, संस्कारको क्रान्ति हो।

रवि लामिछानेले व्यक्त गरेको असन्तुष्टिको झल्कोलाई संगठनमा रूपान्तरण गर्नु केवल नेतृत्वको कार्य थिएन। त्यो साहस, दृष्टि र समर्पणको संगम थियो, जसप्रति हामी कृतज्ञ छौं। त्यसप्रति कृतज्ञ हुनु कमजोरी होइन, आत्मचेतनाको सम्मान हो। यो त सत्यप्रति नतमस्तक हुनु हो। तर त्यो कृतज्ञतालाई सधैं एउटै अनुहारमा पार्टीको भविष्य देख्नुपर्ने मानसिकता बनाइयो भने त्यो निष्ठा होइन, व्यक्तिपूजाको प्रारम्भ हुन्छ। कृतज्ञता स्थायित्वको जग हो, तर स्थायित्वको बहाना बन्न थाल्यो भने त्यो जग पनि चिरिन्छ। व्यक्तिलाई अमर बनाउनेभन्दा विचारलाई अमर बनाउनु ठूलो न्याय हो। सम्मानको सर्वोच्च रूप भनेको व्यक्तिलाई होइन, उसले उठाएका मूल्यहरूलाई अमर बनाउनु हो।

यी सबै अनुभव र यथार्थले अब हामीलाई अरू जस्तै गल्ती गर्ने छुट दिंदैन। हामी जनताको भरोसामा टाँसिएको सपनाको प्रतिबिम्ब हौं। त्यो भरोसामा खिया लाग्न दिनु गद्दारी हुन्छ। पहिलो, नागरिक सचेतना, देशको प्रत्येक वडा, पालिका र गाउँ–शहरमा विभिन्न पुस्ताका नेपालीहरूलाई नागरिक अधिकार, सार्वजनिक दायित्व र जिम्मेवारीबारे सूचीकृत जनचेतना कार्यक्रम मार्फत सचेत गरिनुपर्छ। सत्ता परिवर्तनभन्दा पहिले चेतनाको परिवर्तन अनिवार्य छ। दोस्रो, सुशासन तालिम, अब ढुक्कसँग भन्न सकिन्छ कि चुनाव जितेर सरकारमा पुग्नु मात्रै विकास र सुशासनको ग्यारेन्टी होइन। सत्ता केवल अवसर हो, जिम्मेवारी होइन भने त्यो आफैंमा भ्रष्टाचारको बीउ हो। त्यसैले पार्टीका तल्लोदेखि माथिल्लो तहसम्म सुशासन के हो, कानूनी राज्य के हो, र ती मूल्यहरू व्यवहारमा कसरी लागू गर्न सकिन्छ भन्नेबारे गहिरो शिक्षा, तालिम र अभिमुखीकरण कार्यक्रमहरू अनिवार्य रूपमा चलाइनुपर्छ। कागजमा होइन, नागरिकको अनुभूतिमा संविधान बाँचोस् भन्ने हो भने अब यो बाटो अपरिहार्य छ। अब यो यात्रामा ढिलाइ, अलमल वा विकल्प छैन, यो हाम्रो उत्तरदायित्व हो, उत्तरदायित्वबाट पछि हट्ने छुट हामीसँग छैन।

हामी आज दोबाटोमा छौं। हामीले चाहने हो भने फेरि पनि सुरुवात गर्न सक्छौं तर यसपटक आत्मचिन्तन सहित, आत्मसुधार सहित। यो केवल पार्टी बचाउने होइन, आफ्नो सपनाको पुनर्जन्म गर्ने क्षण हो।

हिजो जुन भावना लिएर हामी उठेका थियौं त्यो भावना अझै मरेको छैन। त्यो सपना अझै जनताको आँखामा बाँकी छ। तर पूरा गर्न अब आवेग होइन, अनुशासन चाहिन्छ। शब्द होइन, कर्म चाहिन्छ। लोकप्रियता होइन, उत्तरदायित्व चाहिन्छ। अब हामीलाई लाग्दैन कि अरू पार्टीभन्दा फरक हुनु नै पर्याप्त छ। फरक र सही हुनुको बीचमा ठूलो अन्तर हुन्छ। हामी सबैले आफूभित्रको नेतृत्वलाई फेरि एकपल्ट हेर्नुपर्छ के म पनि त्यो सपना बोकेको मान्छे हुँ कि केवल त्यो सपनाको दर्शक? के म संगठनको भार उठाउन तयार छु कि केवल प्रतिक्रिया दिन समर्थक।

त्यसैले, यो निर्णायक घडीमा सम्हालिनुपर्ने जिम्मेवारी केवल नेतृत्वको काँधमा होइन समर्थकको विवेक र प्रतिबद्धतामा पनि छ। पुनर्निर्माणको काम संगठनको संरचना मात्र होइन हाम्रो साझा सपना, विश्वास र चेतनाको पुनर्जागरण हो।

आजको प्रश्न केवल पार्टी पहिले जस्तै रहन्छ कि रहँदैन भन्ने होइन आजको चिन्ता एउटा पुस्ताले बोकेको अमूल्य विश्वास बच्छ कि हराउँछ भन्ने हो। त्यो विश्वास, जसले हामीलाई हुर्कायो, जोड्यो र सम्भावनाको नाममा एउटै आवाज हो। त्यो विश्वास मर्‍यो भने, केवल रास्वपा होइन एउटा पुस्ताको भरोसा, भविष्यप्रतिको आशा र नयाँ राजनीतिप्रतिको सम्भावना पनि मर्छ।

तीन वर्षको अनुभूति आज एउटा रेखा बनिरहेको छ। एकातिर ‘कुनैबेला’ को जोश, अर्कातिर ‘आज’ को द्विविधा। अब यो रेखा पार गर्ने बेला हो, या त हाम्रा कमजोरीसँग सहमत भई चुपचाप विश्राम लिई बस्न सकिन्छ, या ती कमजोरीहरूसँग लड्दै फेरि एउटा नयाँ अध्याय लेख्न सकिन्छ। किनभने इतिहास चुपचाप विश्राम लिनेहरूलाई होइन, गल्तीहरूसँग जुध्न तयार भएकाहरूलाई सम्झिन्छ।

रास्वपाको भविष्य कुनै शताब्दी पुराना संरचनाहरूले होइन, न पुराना स्क्रिप्ट अनुसार चल्नेछ, न त चल्तीका समीकरणहरूले लेखिनेछ। अहिलेको हाम्रो विवेक र साहसले लेखिनेछ। त्यसैले हामी सबैसँग आज एउटा प्रश्न छ— के हामी फेरि उठ्छौं? शब्द होइन, साक्षात्कारका साथ? क्रान्तिको घोषणा होइन, दैनिक चरित्रका साथ ?

यदि उत्तर ‘हो’ भने इतिहास फेरि लेखिनेछ। अबको इतिहास हाम्रो साहसको दस्तावेज हुनेछ।

लेखक क्रान्तिशिखा रास्वपा केन्द्रीय सदस्य तथा मनोसामाजिक परामर्शदाता हुन् ।

लेखक
क्रान्तिशिखा

लेखक क्रान्तिशिखा रास्वपा केन्द्रीय सदस्य तथा मनोसामाजिक परामर्शदाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?