News Summary
Generated by OK AI. Editorially reviewed.- स्टेज ४ स्तन क्यान्सरलाई अब मृत्युको होइन, दीर्घकालीन रोगको रूपमा बुझ्न आवश्यक छ।
- पाटन अस्पतालमा ७५ महिलालाई निःशुल्क औषधि उपचार र मानसिक समर्थन प्रदान भइरहेको छ।
- समयमै जाँच र सकारात्मक सोचले क्यान्सरको रोकथाम र उपचारमा सफलता सम्भव छ।
‘अब के बाँकी छ र डाक्टर साब ? मलाई त स्टेज ४ क्यान्सर रे।’
यी शब्दहरू हरेक क्यान्सर विशेषज्ञको कानमा बारम्बार गुञ्जिन्छन् । तर जनचेतनाको प्रभाव र विज्ञान तथा प्रविधिको प्रगतिले अब हामी भन्न सक्छौं-क्यान्सर एक दीर्घकालीन रोग हो।
स्टेज ४ स्तन क्यान्सरमा अब डराउने होइन, सचेततापूर्वक त्यसको निदानमा केन्द्रित हुने हो ।
नेपालमा क्यान्सर भन्नासाथ मृत्युको कल्पना गरिन्छ, विशेषगरी जब यो स्टेज ४ मा पुग्छ।
तर हामीले अहिले यसलाई अन्य रोगजस्तै एक दीर्घकालीन रोगको रूपमा बुझ्न थालेका छौं, जुन उचित औषधि उपचार, मानसिक बल र एकअर्काको साथ, सहयोगले नियन्त्रण गरी लामो समयसम्म राम्रो जीवनशैलीसहित बाँच्न सकिन्छ।
जीवन फर्कियो : एक शिक्षिकाको उदाहरण
५८ वर्षीया एक शिक्षिका, थकान र छाती दुख्ने लक्षण लिएर ६ महिना अगाडि हामीकहाँ आउनुभयो । परीक्षण गर्दा स्टेज ४ स्तन क्यान्सर देखियो । यो रिपोर्ट सुनेपछि उनलाई लाग्यो- अब म चाँडै मर्छु । तर उपचार सुरु गरेपछि, नियमित औषधि, परामर्श र मनोबलका साथ उनी अहिले नियमित काममा फर्किसकेकी छिन्।
७५ महिलाको नयाँ जीवनको यात्रा : पाटन अस्पतालमा निःशुल्क उपचार
आजसम्म ७५ जना महिलाहरू पाटन अस्पतालमा स्टेज ४ ईआर-पोजिटिभ, पीआर पोजिटिभ, हर-२ नेगेटिभ स्तन क्यान्सरको निःशुल्क उपचार गराइरहेका छन्।
उपचारका लागि प्रयोग हुने औषधिहरू
-लेट्रोजोल
-रिबोसिक्लिब
यी लाखौं पर्ने आधुनिक औषधिहरू ‘द म्याक्स फाउन्डेसन’ (युएसए) को सहकार्यमा पाटन अस्पतालमा निःशुल्क उपलब्ध छन् ।
स्टेज ४ क्यान्सरसँग लड्न औषधि मात्रै पर्याप्त छैन, आत्मबल र मानसिक स्वास्थ्य बलियो बनाउन पनि उत्तिकै जरूरी छ।
यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ
-खुला संवाद गर्नुहोस्, परिवार वा चिकित्सकसँग डर र चिन्ताबारे कुरा गर्नुहोस् ।
-समूहमा जोडिनुहोस्, क्यान्सर सपोर्ट ग्रुपमा अनुभव साटासाट गर्नुहोस् ।
-ध्यान, योग वा हल्का व्यायाम गर्नुहोस्।
-नयाँ सपना जिउन सुरु गर्नुहोस्, यात्राको योजना, पढ्ने, लेख्ने वा सिर्जनशील काम गर्नुहोस्।
-सकारात्मक सोच, ‘म जित्न सक्छु’ भन्ने आत्मविश्वास उपचारकै अंश हो।
स्तन क्यान्सर : समयमै चिन्यो, जाँच गरियो भने रोक्न सकिन्छ
स्तन क्यान्सरका प्रमुख लक्षणहरू
-छातीमा गाँठो वा बाक्लोपन
-स्तनको मुन्टोबाट रगत वा पानी झर्ने
-स्तनको आकार र प्रकारमा परिवर्तन
समयमै पत्ता लगाउने उपाय
आफैँ स्तन परीक्षण : महिनावारी भएको ७ देखि १० दिनमा आफैँले जाँच गर्ने । महिनावारी सुकेका वा गर्भवती महिलाले प्रत्येक महिनाको एक दिन स्तन जाँच गर्ने बानी बसाल्नु राम्रो हुन्छ । स्तनमा छामेर आफैँले जान गर्न सकिन्छ ।
-४० वर्ष पुगेपछि प्रत्येक १–२ वर्षमा म्यामोग्राम गरौं।
रोकथामका लागि के गर्ने ?
-सन्तुलित आहार, नियमित व्यायाम
-पूर्णरूपमा स्तनपान गराउने
-धूम्रपान र मदिराबाट टाढा रहने
-तौल नियन्त्रण र तनाव व्यवस्थापन गर्ने
यस अभियानमा तपाईं पनि सहभागी बन्न सक्नुहुन्छ:
-परिवार र साथीहरूलाई जाँच गराउन प्रेरित गर्नुहोस्।
-समाजमा चेतना फैलाउनुहोस्।
-क्यान्सरका बिरामीसँग सहानुभूति राख्नुहोस्, डर होइन हौसला दिनुहोस्।
स्टेज ४ ईआर-पोजिटिभ, पीआर पोजिटिभ, हर-२ नेगेटिभ स्तन क्यान्सरका लागि लेट्रोजोल र रिबोसिक्लिब औषधि पाटन अस्पतालमा निःशुल्क उपलब्ध छन् ।
जहाँ आशा छ, त्यहाँ उपाय छ । जति समयमै क्यान्सर पहिल्याउन सक्यो, त्यति नै उपचार सहज ।
प्रतिक्रिया 4