
News Summary
Generated by OK AI. Editorially reviewed.- हामीले श्रीलंकाको क्यान्डीबाट सिरिगिया यात्रा गरी ‘द लायन रक’ चढ्न टिकट र पासपोर्ट आवश्यक भएको जानकारी पाए।
- पर्यटकलाई सहुलियतको अवसर भए पनि पासपोर्ट नभएको कारण टिकट प्राप्त गर्न समस्या भयो।
- ‘द लायन रक’को इतिहास, संरचना र लोकोकथाले यसलाई विश्वसामु एक अनौठो संरचना बनाएको छ।
हामी श्रीलंकाको पर्यटकीय भ्रमणमा छौं । हामी भन्नाले सार्थक र म : बाबु–छोरा । आज २०८१ सालको फाल्गुण ९ गते (२१ फेब्रुअरी, २०२५) हो । श्रीलंकाको प्रशिद्ध शहर क्यान्डीबाट सार्वजनिक बसमा चढेर सिरिगिया आएका । बिहान लजबाट हिँड्दै क्यान्डी लेकमा झर्यौं । हिजो हामीले यो लेकको बाहिरी पेटीपेटी हिडेर यसलाई फन्का मारेका पनि थियौं । आज क्यान्डी लेककै भिक्रीबाटो हिड्न मन लाग्यो । हिँड्दै हिजो हामीले दर्शन गरेको ‘सत्रेट टुथ रेलिक अफ बुद्ध’ मन्दिरदेखि पश्चिमतर्फ रहेको एउटा रेस्टुरेन्टमा ब्रेकफास्ट गरेका थियौं ।
क्यान्डीबाट सिगिरियाका लागि बस चड्दा लगभग १० बजेको थियो । सिरिगियामा बसबाट झर्दा झन्डै साढे एक भयो । घरमा बिहान १०–११ बजे खाना खाने बानी भएका हामी, बिहानको ब्रेकफास्टले यतिन्जेल के धानोस् ! भोक निकै लागेको छ तर भोक मेट्नुभन्दा पहिले आजको बासमा पुग्नु छ, झोलाझाम्टा बिसाउनु छ र फ्रेस हुनु छ, अनि लन्चका लागि निस्किनु छ । आजै ‘द लायन रक’ पनि चढ्नु छ । ‘द लायन रक’ हाम्रो यस भ्रमणको मुख्य आकर्षणमध्ये एक हो ।
होमस्टेमा पुग्यौँ र त्यहाँ केही समय बिताएर लन्चका लागि बाहिरियौँ । अब हामी हिन्दू समुदायका बीच ‘रावणको दरवार’का रूपमा पहिचान बनाएको ‘द लायन रक’मा चढ्ने तयारीमा जुट्यौँ ।
‘द लायन रक’मा चढ्न टिकट काट्नुपर्छ । टिकट महङ्गो छ । तर के यहाँ आइसकेपछि हामी टिकट दस्तुरको रकम सुनेर ‘द लायन रक’ चढ्ने अवसर गुमाउनु सक्छौं र !
टिकट अफिसमा पुगेपछि जानकारी हुन्छ- ‘सार्क देशका पर्यटकलाई प्रवेश दस्तुरमा एक निश्चित रकम छुट हुन्छ तर त्यसका लागि पासपोर्ट साथमा हुनु अनिवार्य छ ।’
हामीले थाहा पाएकोभन्दा केही कममै पाउने भयौं टिकट !
क्या मज्जा !!
टिकट दस्तुरमा पाइने सहुलियत किन छाड्ने ! तर पासपोर्ट त झोलामै होमस्टेमै छुटेको पो छ !!
सार्थक पासपोर्ट लिन होमस्टेतिर दौडिन खोज्यो । तर खोइ, टुकटुक नै छैन ।
परबाट एउटा कार आउँदैछ; त्यो हामी नजिकै आएर रोकिन्छ; हाम्रा कुरा सुन्छ र भन्छ— ‘बस्नोस्; रोडसम्म लगिदिन्छु । चोकमा टुकटुक पाइएला ।’
म अफिसमै रहें ।
सार्थक फर्किएर आएपछि मैले सोधें-‘कारले कति रुपियाँ ठटायो ?’
कारले पैसै लिएनछ ।
पर्यटकप्रति स्थानीय बासिन्दाको यसप्रकारको सहृदयता के पत्याउन सकिने कुरा हो !
सार्कका सदस्य राष्ट्रका नागरिकले सहुलियतमा टिकटबापत प्रतिवयस्क २० डलर बुझाउनुपर्छ । टिकट गोजीमा लिएर हामी ‘द लायन रक’को बाटो समात्छौं ।
सडकको वरपर इट्टाको प्रयोग गरी निर्माण गरिएका विविध प्रकारका संरचनाका खण्डहर छन्, कतै पोखरी छ; कतै विशाल ढुङ्गाहरू थुपारिएका। थुपारिएका ढुङ्गाले कतै निश्चित संरचनाको आकार ग्रहण गरेझैं देखिन्छ । यहाँको भूदृश्य असामान्य छ र आकर्षक।
हिड्दै ‘द लायन रक’को ठ्याक्कै तल आइपुग्यौँ । यहाँ पर्यटकको राम्रै भीडभाड छ । हामी अब दक्षिण–पश्चिम मोहडाबाट ‘द लायन रक’मा उक्लिने क्रममा छौं । हाम्रा पाइला ठाडो तथा साँगुरोसिंढीमा टेकिएका छन् ।
उचाइसँग डराउने मान्छे म । आफैँलाई भन्छु-‘यहाँ डराएर यतिखेर यो ‘द लायन रक’ चढ्ने अवसरमा चुकिस् भने सधैँका लागि चुक्चुक् मात्र रहन्छ ।’
हामीसिंढी उक्लिएर ‘रक’को एउटा खण्डमा पुग्यौँ । त्यहाँ रामायणको कथासँग सान्दर्भिक हुने किसिमका केही भित्तेचित्रहरू देखिए । गाइडहरू एकएक चित्र अगाडि उभिएर आफ्ना पर्यटकहरूलाई रामायणको कथासँग जोडेर त्यसको व्याख्या गर्दैगरेको सुनियो । भित्ताका चित्र र गाइडको व्याख्याका बीचमा राम्रो संगति पनि देखिन्छ । बेलुका बासमा ‘द लायन रक’का बारेमा युट्युबमा विवरणहरू खोतलेपछि सार्थकले भन्यो- ‘ती चित्रहरू पछि बनाइएका वा बनावटी होइनन् भन्ने पनि मानिसहरूका बीचमा विश्वास रहेछ ।’
यो खण्डबाट फर्किएर केही तल पुग्यौँ । यहाँबाट दम्स्याएलो उकालो चढेर उत्तर–पश्चिम दिशामा जानुपर्छ । अनि ‘द लायन रक’को एक फराकिलो खण्डमा पुगिन्छ । अब हामी ‘द लायन रक’को उत्तरपश्चिम मोहडामा आइपुग्यौँ । यहाँबाट ‘द लायन रक’को चोटीमा पुग्ने अत्यासलाग्दोसिंढी छ; उक्लिने र ओर्लिने मानिसहरू छुट्टाछुट्टै सिंढीमा छन् र दुवै दिशाकासिंढीमा पर्यटकको ओहोरदोहोर छ ।सिंढीको ओर्तिर-पर्तिर सिंहका पञ्जाका एउटै आकार-प्रकारका ढुङ्गा छन् । यिनै पञ्जाहरूको आधारमा यसको नाम ‘द लायन रक’ रहेको हो भनेर बुझ्न सकिन्छ ।त्यही अत्यासलाग्दो सिंढी चढेर माथि पुग्नु छ ।
हामी सिंढीमा छौं । अघिल्तिर पनि मानिस; पछिल्तिर पनि मानिस । मैले सिढीँबाट तलतिर नहेर्ने सङ्कल्प गरेँ । तर कसोकसो दृष्टि परिहाल्छ । मुटु फुट्ला जस्तो हुन्छ, मन एकतमासले आत्तिन्छ । पाइलै सर्दैन जस्तै हुन्छ । हाम्रा पछिल्तिर प्रशस्तै मान्छे छन् । तिनीहरूलाई अगाडि जान दिन मिल्ने बाटो सिढींमा छैन । ‘मन आत्तियो’ भनेर यहीँ बस्ने र फर्किने सुविधा पनि छैन । सबै उक्लिरहेका छन्, म कसरी हार्न सक्छु ! कसरी सबैभन्दा काँतर देखिन सक्छु !!
सिढीँका केही खण्डहरू उक्लिएर हामी ‘द लायन रक’को शीर्ष भागमा पुग्यौँ । पर्यटकको त यहाँ पनि भीडभाड नै रहेछ । कोही फोटो खिच्दैछन्, कोही यताउता दौडिँदै। एउटा पाको बौद्ध भिक्षु आफूभन्दा कम उमेरका मानिसहरूको समूहको केन्द्रमा छ, तिनीहरूलाई केही सम्झाउँदै छ । आक्कलझुक्कल हिन्दी बोलेको पनि सुनिन्छ ।
‘द लायन रक’को चोटीमा पानीसहितका दुइटा पोखरी छन् । पोखरीमा ओहोरदोहोरका लागि सिंढी पनि छन् । पोखरीमाथि विविध कोठाहरू जस्तै लाग्ने संरचनाका खण्डहर छन् । यी सबै खण्डहरहरूको निर्माण इट्टाबाट भएको देखिन्छ ।
वास्तवमा लायन रक सिगारिया नामको घना जंगलका बीचमा रहेको विशाल ढुङ्गा हो । यसको उचाइ जमिनको सतहबाट लगभग २०० मिटर छ । यसमा तलबाट शीर्षभागमा जानका लागि ढुङ्गा खोपेर मुस्किलले पाइला अट्ने खुट्किलाहरू निर्माण गरिएका छन् । यसको फेदीमा सिंहका पञ्जा अंकित गरिएको छ । यी पञ्जाहरूमार्फत् लायन रकका राजासँग जुध्नु सिंहसँग जुध्नु जस्तै भयानक हुन सक्नेछ भन्ने प्रतीकात्मक अर्थ सम्प्रेषण गरिएको होला । दरवारका विविध भागहरूमा कलाकृतिहरू निर्माण गरिएका छन् ।
‘द लायन रक’को वरिपरि धेरै परसम्म जंगलैजंगल देखिन्छ । जता फर्किए पनि हरियाली ! जता फर्केर बसे पनि नजर अघाउँदैन, आँखा थाक्दैन । हेरीरहूँ जस्तो । यहीँ बसीरहूँ जस्तो ।
विशाल जंगलको बीचमा यो भव्य संरचना ! रहस्यको केन्द्र !! कसले कुन कालखण्डमा कति धनजन र समय खर्च गरेर कुन प्रयोजनले निर्माण गरेको होल !!!
लायन रकसँग गाँसिएको लोकोक्ति यस्तो रहेछ- वित्रम संवत चौथौं शताब्दीतिर श्रीलंकाको कुनै एक राजाको एउटा वैध र अर्को अवैध छोरा थिए । वैध छोराको नाम मोक्काडा थियो भने अवैध छोराको नाम कश्यप। राजाको उत्तराधिकारी को हुने भन्ने बारेमा मोक्काडा र कश्यपका बीचमा हानाथाप भयो । राजाको उत्तराधिकारी आफू नहुने देखेपछि कश्यपले राजा (बाबु)को हत्या गर्यो र जंगलतिर भाग्यो ।
राज्यको उत्तराधिकार जेठो र वैध सन्तान मोक्काडालाई प्राप्त थियो । राजाको मृत्युपछि मोक्काडा सिंहासनमा बस्यो । राज्यशक्ति आफ्नो हातमा आएपछि मोक्काडाले हत्यारा कश्यपको खोजीमा आफ्ना सुरक्षा फौजलाई परिचालित गर्यो । त्यतिञ्जेलसम्ममा कश्यप आफ्ना समर्थक र सुरक्षा फौजसहित घना जंगलमा बेपत्ता भइसकेको थियो ।
कश्यपका यी सबै कार्यको पृष्ठभूमिमा थियो-उसको राजा हुने इच्छा । विशाल जंगलबीच लुक्दै भाग्दै कश्यप यही लायन रक रहेको ठाउँमा पुग्यो र यहाँ आइपुगेपछि उसलाई शत्रुपक्षबाट अब आक्रमण सम्भव छैन भन्ने भयो । यो सुरक्षा भावसँग उसको राजा हुने इच्छा फेरि जागृत भयो । लायन रकमा निर्मित संरचना त्यही कश्यपले निर्माण गरेका हुन् । कश्यपले शत्रुपक्षबाट रक्षा गर्न गोही पाल्नका लागि पोखरीहरू निर्माण गरेका थियो ।
कश्यपले यहाँ दरबार खडा गरेको सात वर्ष जतिपछि मोक्काडाले आक्रमण गर्यो । दुवै पक्षका फौजहरूका बीचमा घमासान युद्ध भयो । अन्ततः कश्यपको हत्या भयो । कश्यपको हत्यापछिका डेढसय वर्षजति लायन रक सुनसान रह्यो । पछि लायन रक र त्यसमाथि निर्मित दरबारप्रति बौद्ध भिक्षुहरू आकर्षित भए । शान्त, सुविधायुक्त र सुरक्षित यो दरवार त्यसपछि बौद्ध भिक्षुको प्रयोगमा आयो ।
पछिल्लो समय श्रीलंकन सरकारले लायन रकको शीर्ष भागमा जान र ओर्लिन फलामका सिढींहरूको निर्माण गर्यो ।विश्वका पर्यटकहरूमाझ यो एक उत्कृष्ट गन्तव्य मानिन्छ ।
यो लायन रकलाई हिन्दूहरू संस्कृत महाकाव्य रामायणको कथासँग जोडी रावणको दरबार भन्छिन् । बौद्धमार्गीहरू यो भव्य संरचनालाई बौद्ध भिक्षुको प्राचीन थलोका रूपमा सम्झन्छन् ।सरकार यहाँ चढ्न चाहने पर्यटकहरूलाई महङ्गो दरमा टिकट बिक्री गर्छ ।
साँझसाँझ पर्न लाग्यो । हामी चढ्दा उक्लने र ओर्लने सरावरी जस्तै थिए, अब ओर्लनेको संख्या ह्वात्तै बढ्यो ।हामी पनि ओर्लनु छ । ओर्लने सिंढी छुट्टै छ, तर उस्तै साँगुरो ! उस्तै अत्यासलाग्दो !!
बरु उस्तै परे नचढ्न सकिन्थ्यो । ‘द लायन रक’मा चढिसकेपछि नओर्लीकन धरै छैन । यहाँबाट नओर्लिन कुनै बहानाबाजी हुन सक्दैन । तर ओर्लिने पो कसो गरी कसको मुटु पैंचो लिएर हो !!
युनेस्कोले ‘द लायन रक’लाई विश्वका उदेकलाग्दा संरचनाको श्रेणीमा राखेको छ ।
(लेखक समाजशास्त्री हुन् ।)
प्रतिक्रिया 4