
News Summary
Generated by OK AI. Editorially reviewed.- मधुबाला १४ फेब्रुअरी १९३३ मा दिल्लीमा जन्मिएकी थिइन् र ९ वर्षको उमेरमा फिल्मी करियर सुरु गरिन्।
- उनको अभिनय र सौन्दर्यको चर्चा भए पनि, जीवनीकारहरूले उनको निष्ठा, स्वभाव र स्वास्थ्य समस्या पनि उल्लेख गरे।
- मधुबाला १९६९ मा निधन भएकी थिइन् र उनको जीवन संघर्ष र सफलताले भारतीय फिल्म उद्योगमा स्थायी छाप छोडेको छ।
मधुबाला एक उत्कृष्ट अभिनेत्री थिइन्, तर उनको अभिनयभन्दा पनि उनको सौन्दर्यको चर्चा बढी भयो ।‘फिल्म इन्डिया’ का सम्पादक बाबूराव पटेल भन्थे, ‘मधुबाला भारतीय फिल्म उद्योगकी सबैभन्दा प्रतिभाशाली, बहुमुखी र सुन्दर अभिनेत्री थिइन् ।’
आफ्नो समयकी प्रख्यात अभिनेत्री बेगम पारा भन्थिन्, ‘कहिलेकाहीँ म मधुबालाको झलक देख्थेँ, जब उनी बिहानको यात्रामा जान्थिन् । यदि तिमीले उनको अनुहार देख्यौ भने तिम्रो दिन बन्न सक्थ्यो ।’
निरूपा रॉयको विश्वास थियो कि ‘मधुबालाको टाउकोदेखि खुट्टाको नङसम्म शरीर पूर्णरूपमा सिद्ध थियो । त्यसमा कुनै दोष थिएन । ‘रेल का डिब्बा’ फिल्ममा मधुबालासँग काम गर्ने शम्मी कपूर उनलाई देख्नासाथ आफ्नो संवाद बिर्सिन्थे । देवानन्द मधुबालाको उन्मुक्त हाँसोको प्रशंसक थिए ।
तर उनमा कुनै कमी थिएन भन्ने होइन । खातिजा अकबरले मधुबालाको जीवनी ‘द स्टोरी अफ मधुबाला’ मा लेखेकी छन्, ‘आफ्नो बाबुप्रतिको उनको निष्ठा, सही समयमा सही निर्णय लिन नसक्नु र अत्यधिक भावुक स्वभावले उनको जीवन जटिल बनाएको थियो र यसका धेरै खराब परिणाम उनले भोग्नुपर्यो ।’
फिल्म पत्रिका ‘स्टार एन्ड स्टाइल’ का पूर्व सम्पादक गुलशन इविंग भन्थे, ‘उनमा कुनै कपट थिएन । उनमा बच्चाको जस्तो मन र सादगी थियो ।’ प्रख्यात अभिनेता देवानन्दलाई मधुबालाको उन्मुक्त हाँसो सबैभन्दा मनपर्थ्यो ।
उनले आफ्नो आत्मकथा ‘रोमान्सिङ विद लाइफ’ मा लेखेका छन्, ‘मधुबालाको अनुहार बिहानको ओजजस्तै सधैं ताजा रहन्थ्यो । उनको व्यक्तित्वको सबैभन्दा विशेष कुरा उनको प्रख्यात हाँसो थियो । कुनै पनि अवसरमा उनी उन्मुक्त हाँस्थिन् । कसैलाई थाहा हुँदैनथ्यो कि उनी कहिले, कुन कुरामा हाँस्छिन् र कति समयसम्म हाँस्छिन् ।
कहिलेकाहीँ त उनी सटको क्रममा अचानक हाँस्न थाल्थिन् । तब निर्देशकले सेटको बत्ती निभाएर चिया मगाउँथे र मधुबाला कहिले आफ्नो हाँसोमा नियन्त्रण गर्छिन् भनेर पर्खन्थे ।’
महल फिल्मले दियो राष्ट्रिय पहिचान
मधुबालाको वास्तविक नाम मुमताज जहाँ बेगम देहलवी थियो । उनको जन्म १४ फेब्रुअरी, १९३३ मा दिल्लीमा भएको थियो । ९ वर्षको उमेरमा उनले आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् र उनको पहिलो फिल्म ‘बसन्त’ थियो ।
यो फिल्मको छायांकनपछि मुमताज दिल्ली फर्किइन् । त्यसपछि देविका रानीले ‘ज्वार–भाटा’ मा भूमिका दिन दिल्लीबाट मुमताजलाई बोलाएकी थिइन् । पछि मुमताजले यो भूमिका गरिनन्, तर उनको बाबुले मुम्बई (त्यतिबेला बम्बई) मा बस्ने निर्णय गरे ।
त्यही समयमा प्रख्यात निर्देशक केदार शर्माले ‘बेचारा भगवान’ नामक फिल्म सुरु गरे, जसमा उनले आफ्नी पत्नी कमला चटर्जीलाई नायिका बनाएका थिए, तर अचानक कमलाको निधन भयो र फिल्म रोकियो ।
शोकबाट मुक्त भएपछि केदार शर्माले यो फिल्म बनाउने निर्णय गरे र बाल कलाकार मुमताजलाई आफ्नो सहायक राज कपूरसँग नायिकाको रूपमा लिए र मुमताजको नाम बदलाएर मधुबाला राखिदिए ।
फिल्मको नाम पनि परिवर्तन गरेर ‘नीलकमल’ राखियो । सन् १९४९ मा मधुबालाको फिल्म ‘महल’ ले उनलाई नवआजाद देशका युवाहरूको सपनाकी रानी बनायो ।
राजकुमार केसवानीले आफ्नो किताब ‘दास्तान–ए–मुगल–ए–आजम’ मा लेखेका छन्, ‘एक चञ्चल सुन्दरी र बारम्बार नजिक आएर पनि नजरबाट ओझेल हुने त्यो परीलोकको अनुहार । यो फिल्मले बक्स अफिसमा सफलताको झण्डा गाड्यो र मधुबालालाई कुनै पनि फिल्मको सफलताको ग्यारेन्टी बनायो ।’
हलिउडमा भूमिका पाउने सम्भावना
यसैबीच, न्यूयोर्कको ‘थिएटर आर्ट्स ’ पत्रिकाले मधुबालाको तस्बिरसहित एक लेख प्रकाशित गर्यो, जसको शीर्षक थियो, ‘विश्वको सबैभन्दा ठूलो स्टार जो बेभर्ली हिल्समा बस्दैनन्।’
तीन पटकको ओस्कार विजेता फ्रान्क कापर एक फिल्म समारोहमा भाग लिन बम्बई आएका थिए । ‘मूभी टाइम्स’ का सम्पादक बीके करंजिया आफ्नो पत्रिकाको एक अंक लिएर कापरको अन्तर्वार्ता लिन गए ।
त्यो पत्रिकाको मुख्य पृष्ठमा मधुबालाको तस्बिर थियो । करंजियाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘कापरले पत्रिका देख्नासाथ मलाई सोधे, यो केटी को हो ? के यिनी वास्तवमै यति सुन्दर छिन् ? के म उनीसँग भेट्न सक्छु ? म उनलाई हलिउडमा भूमिका दिलाउन सक्छु ।’
ताज होटलमा मधुबालासँग भेटघाट तय गरियो । करंजियाले उत्साहित भएर यो कुरा मधुबालाको बाबु अताउल्लाह खानलाई बताए ।करंजियाले लेखे, ‘उनका बाबुले भने कि मधुबालालाई चक्कु र काँटाले खाना खान आउँदैन, त्यसैले उनी यो भेटमा जाँदिनन् । यदि उनले मेरो कुरा मानेका भए मधुबालाले विश्वभरि पहिचान कमाएकी हुन्थिन् ।’
दिलीप कुमारसँगको प्रेम
दिलीप कुमार र मधुबाला एक-अर्कालाई प्रेम गर्थे, तर मधुबालाको बाबुलाई दिलीप कुमारको छायाँ पनि मन पर्दैनथ्यो । उनलाई उनको नामसम्म पनि अरुचि थियो ।
बीआर चोपडाको फिल्म ‘नया दौर’ मा दिलीप कुमारसँग नायिकाको भूमिकाका लागि पहिले मधुबालालाई छानिएको थियो । यो फिल्मको छायांकन बम्बईमा हुने थियो, तर पछि निर्माता बीआर चोपडालाई लाग्यो कि यो फिल्मको छायांकन भोपालमा पनि गर्नु आवश्यक छ ।
खातिजा अकबर लेख्छिन्, ‘मधुबालाको बाबु अताउल्लाह खानले आफ्नी छोरीलाई बम्बई बाहिर छायांकन गर्न अनुमति दिन अस्वीकार गरे । उनलाई लाग्यो कि बम्बई बाहिर जाँदा मधुबाला र दिलीप कुमारबीचको प्रेम अझ गहिरिन्छ, त्यसैले उनी यसका लागि राजी भएनन् । त्यतिबेलासम्म फिल्मको दश दिनको छायांकन भइसकेको थियो । तैपनि बीआर चोपडाले मधुबालाको ठाउँमा वैजयन्तीमालालाई फिल्ममा लिए ।’
त्यहीँबाट दिलीप कुमार र मधुबालाको जोडी अलग भयो । यो मामलालाई बीआर चोपडाले अदालतमा पुर्याए, जसले गर्दा दिलीप कुमार र मधुबालाबीच यति कटुता आयो कि दुवैको सम्बन्ध बिग्रियो ।
हृदयमा प्वाल भए पनि कडा मेहनत
मधुबालालाई जन्मजात मुटुको समस्या थियो । उनको मुटुमा प्वाल थियो । त्यतिबेलासम्म त्यो रोगको कुनै उपचार थिएन । रोगका बावजुद उनले ‘मुगल–ए–आजम’ फिल्मको छायांकन पूरा गरिन्, जुन उनको स्वास्थ्य अवस्थाको प्रतिकूल थियो ।
उनमा आफ्नो कामप्रति गजबको समर्पण थियो । ‘मुगल–ए–आजम’ का सहायक निर्देशक सुल्तान अहमद बताउँछन्, ‘तपाईंलाई फिल्मको पहिलो दृश्य याद होला, जसमा मधुबालालाई मूर्ति बनाएर उभ्याइएको थियो । मधुबाला जरीको कामले भरिएका भारी कपडाको तौलसहित ती सट ठिक नहुन्जेल घण्टौंसम्म तातो गर्मीमा कुनै गुनासो नगरी उभिइरहिन् । फिल्मको अन्तिम दृश्यमा मधुबाला प्रायः भारी फलामको साङ्लोमा बाँधिएकी हुन्छिन् ।’
राजकुमार केसवानी लेख्छन्, ‘साङ्लो यति भारी थियो कि जब–जब उनी त्यसलाई लगाएर उभिन खोज्थिन्, उनी घुँडाले टेकेर लड्थिन्, तर उनले हिम्मत हारिनन् र आफ्नो पूरै ताकत लगाएर कामलाई सम्पन्न गरिन् । यी साङ्लोको बोझ मधुबालाको तौलभन्दा पनि बढी थियो, जसलाई लगाएर हिँड्नु अत्यन्त कठिन र पीडादायी काम थियो ।’
उनलाई उपचार गर्ने बम्बईका शीर्ष हृदय रोग विशेषज्ञ डाक्टर जाल वकीलले उनलाई धेरै मेहनतको काम नगर्न र फिल्ममा नाच्ने दृश्य त बिल्कुल नगर्न चेतावनी दिएका थिए।
खातिजा अकबर लेख्छिन्, ‘यो आश्चर्यको कुरा हो कि, धेरै प्रतिबन्ध लगाउने उनका बाबु अताउल्लाह खानले उनलाई कम फिल्म लिन बाध्य गरेनन् । उनको कामको बोझ कम गर्ने प्रयास गरिएन । उनले ‘गेटवे अफ इन्डिया’ र ‘मुगल–ए–आजम’ फिल्मको रातमा पनि छायांकन गरिन् ।
कुनै पनि निर्माताले मधुबालाको कामको बोझ कम गरेनन् । नाच्नु, पानीमा भिज्नु र खुट्टामा साङ्लो लगाएर हिँड्नु, मधुबालाले सबै गरिन् । धेरै पटक यस्तो पनि भयो कि उनी काम गर्दागर्दै बेहोस भइन्, तर ठिक भएपछि फेरि काम सुरु गरिन् ।
किशोर कुमारसँग ‘बेमेल विवाह’
उनले पहिल्यै विवाह गरिसकेका किशोर कुमारसँग विवाह गर्ने निर्णय गरिन् । किशोरले उनलाई उपचारका लागि लन्डन लगे । डाक्टरहरूले उनलाई भारी र तनावपूर्ण काम गर्न निषेध गरे । उनलाई बच्चा नजन्माउन सल्लाह दिइयो ।
डाक्टरहरूले उनलाई ठिक हुने कुनै आशा देखाएनन् । उनलाई भनियो कि उनी १० वर्षसम्म पनि बाँच्न सक्थिन् वा एक वर्षमा पनि उनको मृत्यु हुन सक्छ । यो निष्कर्ष लिएर उनी बम्बई फर्किइन् कि, उनको बाँकी समय धेरै छैन ।
आफ्नो जीवनको अन्तिम ९ वर्ष उनी पटक-पटक मरिरहिन् । मधुबालाकी बहिनी मधुरले खातिजा अकबरलाई बताएकी थिइन्, ‘लन्डनबाट फर्किएपछि किशोर कुमारले उनलाई हाम्रो घर ल्याए । उनले भने कि, उनी धेरै व्यस्त छन् र मधुबालाका लागि उनको समय छैन । मधुबालालाई यो कुराले धेरै दुख्यो । उनी गम्भीर रूपमा बिरामी थिइन् ।
त्यतिबेला उनलाई आफ्नो पतिको आवश्यकता थियो । किशोर कुमारले उनको उपचारको सम्पूर्ण खर्च उठाउने प्रस्ताव गरे, तर के यो पर्याप्त थियो ?’
किशोरले उनलाई फोनमा कुरा गर्थे, तर बिस्तारै किशोरको उनलाई भेट्न आउने क्रम कम हुँदै गयो । खातिजा अकबर लेख्छिन्, ‘यो एक बेमेल विवाह थियो, जो हतारमा गरिएको थियो । यो विवाहबाट उनले कहिल्यै खुसी पाइनन् । मधुबालालाई किशोरबाट अत्यधिक प्रेमको आवश्यकता थियो, जो उनले पाइनन् ।’
अन्तसम्म कायम रह्यो सौन्दर्य र आकर्षण
मधुबालाको किशोर कुमारसँग विवाह गर्ने जे कारण भए पनि, प्रेम त्यसको कारण थिएन । उनको अन्तिम समयमा दिलीप कुमार उनलाई भेट्न गए । उनको भनाइ थियो, बिरामी अवस्थामा पनि उनी उत्तिकै आकर्षक देखिन्थिन् ।
उनलाई भेट्नेहरूमा बीके करंजिया पनि थिए, उनले लेखे, ‘उनको अनुहार पँहेलो भएको थियो । उनी कमजोर भएकी थिइन्, तर तैपनि उनी सुन्दर देखिन्थिन् ।’आफ्नो ३६औँ जन्मदिनको नौ दिनपछि २३ फेब्रुअरी, १९६९ मा मधुबालाले मृत्युसँगको अन्तिम लडाई लडिन् र सधैंका लागि आफ्नो आँखा बन्द गरिन् ।
बीबीसीबाट
प्रतिक्रिया 4