+
+
Shares
संसद्‌मा प्रतिपक्षको विरोध : :

सभामुखले सुनेनन् विपक्षीको आग्रह

सभामुखले समय दिएपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार प्रतिनिधिसभाको बैठक प्रतिपक्षको नाराबाजी र वेल घेराउका कारण स्थगित भयो।
  • सभामुखले प्रतिपक्षका दलहरूको आग्रह नमान्दै बैठक अघि बढाए।
  • प्रतिपक्ष दलहरूले बैठक स्थगित गर्न र सहमति गर्न आग्रह गरे, तर असफल भए।

१ असार, काठमाडौं । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढेका छन् ।

प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ र नाराबाजी गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसनमा उभिएर विरोध गरिरहेको छ ।

यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठक रोकेर सहमतिको लागि पहल लिन आग्रह गरेका थिए । तर, सभामुखले मानेनन् ।

सभामुखले समय दिएपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ?’

संसद्‌मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए । अन्यथा, विरोधका बीच संसद् चलाउनु दादागिरी हुने उनको आग्रह छ ।

‘यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ प्रमुख सचेतक शाहीले भने ।

तर, सभामुखले शाहीको आग्रह मानेनन् । प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए । यस्तो अवस्थामा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए । त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए ।

आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए ।

त्यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्को बैठक नै स्थगित गर्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले सभामुखसँग समय मागे ।

सभामुखले समय दिएपछि पाण्डेले भने, ‘सभामुखज्यु, रोष्ट्रममा अर्थमन्त्रीज्यु महत्वपूर्ण कुरा सुनाइराख्नुभएको छ । तर, प्रतिपक्षमा रहेकामध्ये एउटा दल नारावाजीमा छ । यो नाराबाजीले मन्त्रीले भनेका कुरा हामी सुनिरहेका छैनौं ।’

सभा कसरी चलाउने हो त्यसबारे छलफल आवश्यक रहेको उनले दोहोर्‍याए ।

‘कसरी सभा चलाउने हो ? यो सभा चलाउने अहिलेको यो तरिका भएन सभामुख महोदय’ पाण्डेले थपे, ‘यो बैठक स्थगित गरेर, सहमति गरेर र एउटा टुंगोमा पुगेर मात्रै अगाडि बढाइयोस् ।’

फेरि पनि प्रतिपक्षी दलले गरेको आग्रह सभामुखले सुनेनन् । अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरिसकेपछि सांसदहरूलाई त्यसमाथि धारणा राख्न समय दिए ।

हाल प्रतिनिधिसभामा विरोधका रहेको दल नाराबाजी गरिरहेको छ भने विरोधमा नरहेका दल आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राखिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?