+
+
Shares

संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते ९:५९
फाइल तस्वीर

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा जुटेको छ । नयाँ वानेश्वर स्थित पार्टीको संसदीय दलको कार्यालयमा भेला भएर नेताहरू संसद् अवरोधको स्वरुपबारे छलफलमा जुटेका हुन् ।

आन्तरिक छलफलमा जुट्नु अगाडि रास्वपाका नेताहरूले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले बिहान सरकारी निवास बालुवाटारमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएका थिए ।

सभामुखको सचिवालयका अनुसार भेटमा सभामुखले भनेका छन्, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।’

तथापि, सभामुखले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको बताएका छन् । गम्भीर भएकै कारणले दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको बताएका छन् । तर, अब रोक्ने अवस्था नरहेको जवाफ रास्वपालाई सभामुखको छ ।

संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्ने उनले बताएका छन् ।

राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्ने दबाबमा रहेको सभामुखले बताएका छन् ।

‘तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं’ रास्वपालाई सभामुखको आग्रह छ ।

रास्वपाका कार्यवाहक सभापति अर्याल र प्रमुख सचेतक परियारले आफूहरुले उठाएका माग गम्भीर रहेको दोहोर्‍याएका छन् । ‘जनताको वास्वविक समस्या उठाएका छौं । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको हो’, उनीहरूले सभामुखलाई भनेका छन् ।

सभामुखलाई उनीहरूले भनेका छन्, ‘अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं ।’

रास्वपाका नेताद्वय अर्याल र परियारसँग सभामुखले करिब एक घण्टा छलफल गरेका थिए । तथापि, संसद्को अवरोध खुल्ने वातावरण नबनेको नेताहरू बताउँछन् ।

सभामुखसँगको भेटपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?