+
+
Shares
फोटोकथा :

कोठीडाँडाबाट चिया बगानका सिनेम्याटिक दृश्यहरू नियाल्दा

तिलचन अधिकारी / मिलन मुखिया तिलचन अधिकारी / मिलन मुखिया
२०८२ असार ३ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छ्याङ्ग खोलाको मौसम र चिया बगानको दृश्य मनमोहक देखिन्छ।
  • कोठीडाँडा इलामको ऐतिहासिक स्थल हो, जसको बारेमा अझै रहस्य छ।
  • यहाँ पर्यटकहरूको लागि वनभोजस्थल र रमाइलो दृश्यावलोकनको व्यवस्था गरिएको छ।

छ्याङ्ग खुलेको मौसममा चिया बगानको दृश्य हेरेर मन थाक्दैन । जति हेर्‍यो, उत्ति नै मोहनी लगाउँछ आँखालाई ।

कलकलाउँदो चियाका मुना ।  स-सना थुम्कामा कार्पेट बिछ्याएजस्तै चियाका बुट्यानहरू, ठाउँ-ठाउँमा परेड खेल्न ठिंग उभिएका सैनिकको लस्करझैँ धुपीका रुखहरू, अनि यन्त्रवत् चिया टिपिरहेका मान्छेहरू । प्रकृतिको यो फराकिलो क्यानभास कम्ता रहरलाग्दा देखिँदैन चियाको मध्य सिजनका दृश्यहरू ।

तर, माइखोलातिर बाट हतारिदै उक्लिएको भुइँकुहिरोले क्षणभरमै यी दृश्यहरू धुमिल बनाइदिन्छ ।

घाम–पानीको यो याममा कोठीडाँडाको रौनक बेग्लै हुन्छ । यो उचाइबाट इलामलाई ३६० डिग्रीमा नियाल्न सकिन्छ । पश्चिमतिर साखेजुङ, पूर्वमा श्रीअन्तु, उत्तरमा सन्दकपुर, दक्षिणमा इलाम बजार । माइखोला बग्दै–बग्दै चुलाचुलीको पहाड नाघेर तराईका समतल धरातलमा मिसिएको, चारखोलाबाट उड्दै–उड्दै कुहिरोले छिन्टापुको आकाश ढाकेको दृश्यहरू कम्ता मादक लाग्दैन ।

कोठीडाँको कुरा गरिहालौं । इलाम बजारबाट उत्तरतिर उक्लिदा जसबीरे पुगेपछि यो थुम्को भेटिन्छ ।

यो एक ऐतिहासिक थुम्को हो, जसको बारेमा कति कुरा अझै पनि रहस्यमै छ । यहाँको जमिन खोतल्ने हो भने इँटाका अवशेष भेटिन्छन् । र, त्यहाँ कुनै भव्य घरको भग्नावशेष फेला पर्छ ।

विसं १९२० मा यहाँ इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले कोठी बनाएको कतिपयको भनाइ छ । त्यही कारण यस ठाउँको नाम ‘कोठीडाँडा’ रहन गएको बताइन्छ । यस आपसपासमा पानीको स्रोत नभएका कारण पछि उनीहरू बसाइँ सरे ।

कोठीडाँडालाई अहिले स्थानीयले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेका छन् । खासगरी वनभोजस्थल र रमाइलो दृश्यवालोकनका लागि यो ठाउँ उपयुक्त छ । यहाँ अहिले चौतारो, बाटोसहित पानीको सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?