News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा बास्केटबल लिगको फाइनल खेल शनिबार हुँदैछ।
- गोल्डेनगेट र टाइम्स बास्केटबल क्लबबीच फाइनल प्रतिस्पर्धा हुनेछ
- हाउण्ड्स र कीर्तिपुरले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
३ असार, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनल खेल आगामी शनिवार (असार ७ गते) हुने भएको छ । आयोजक नेपाल बास्केटबल संघ (नेबा) का अनुसार फाइनल खेल लगनखेलस्थित नेपाली सेना शारीरिक तथा तालिम केन्द्रमा हुनेछ ।
गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । ६ टोली सहभागी लिगमा डबल राउण्ड रोविनको खेलपछि गोल्डनेगेट र टाइम्स शीर्ष दुईमा रहेर फाइनल पुगेका हुन् ।
यसअघि लिग चरणका सबै खेलहरू कीर्तिपुरस्थित कीर्तिपुर कभर्डहलमा खेलाइएको थियो । तर फाइनल खेल भने लगनखेलस्थित सेनाको कभर्डहलमा खेलाउन लागिएको नेबा अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।
‘फाइनल र तेस्रो स्थानको लागि खेल लगनखेलमा खेलाउनेछौँ । दुवै खेल दिउँसो हुनेछ । दर्शकहरूका लागि पनि फाइनल खेलको मज्जा लिने राम्रो अवसर हुनेछ’ नेबा अध्यक्ष गुरुङले भने ।
आगामी शनिवार प्लेअफ अन्तर्गत दुई खेल (फाइनल र तेस्रो स्थानको लागि खेल) हुनेछ । तेस्रो स्थानको लागि खेल विहान ११ बजे सुरु हुनेछ । त्यसपछि फाइनल खेल साढे ३ बजे हुनेछ ।
लिगमा गोल्डेनगेट पहिलो र टाइम्स दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् भने हाउण्ड्स तेस्रो र कीर्तिपुर बास्केटबल क्लब चौथो भएको थियो । अब हाउण्ड्स र कीर्तिपुरले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
गोल्डेनगेट र टाइम्सको फाइनल यात्रा
गोल्डेनगेटले सानदार प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्दा टाइम्सले भने अन्तिम समयमा मात्र फाइनलमा स्थान पक्का गरेको थियो । लिगमा १० मध्ये सबैभन्दा धेरै ९ खेल जितेको गोल्डेनगेट १९ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।
पहिलो खेलमै टाइम्ससँग पराजित भएको गोल्डेनगेटले त्यसपछि लगातार ९ खेल जितेको थियो । गोल्डेनगेटले दोस्रो चरणमा टाइम्सलाई हराएर हारको बदला समेत लिएको थियो । लिगमा बाँकी पाँचमध्ये चार टिमलाई दुई पटक हराएको गोल्डेगेटले टाइम्सलाई एक पटक हरायो भने एक पटक पराजित भयो ।
यस्तै १० मध्ये ७ मा जित र ३ हारको नतिजा निकालेको टाइम्सले १७ अंक जोड्दै दोस्रो भएर फाइनल पुग्यो । हाउण्ड्स एकेडेमीले पनि टाइम्स समान १७ अंक जोडेको थियो । तर हाउण्ड्सलाई हेड टु हेडमा पछि पार्दै टाइम्सले अन्तिम समयमा फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टाइम्सले जितबाट लिग सुरु गरेपनि बीचमा खेलाडीहरू अन्य प्रतियोगिता खेल्न जाँदा केही लय गुमाएको थियो । तर अन्तिम तीन खेल लगातार जित्दै टाइम शीर्ष दुईमा पर्न सफल भएको हो । दोस्रो खेलमा रोएलसँग पराजित भएको थियो । यस्तै त्यसपछि हाउण्ड्स र गोल्डेनगेटसँग पनि टाइम्स पराजित भयो ।
टाइम्सले कीर्तिपुर, सामाखुशी युथ क्लबलाई दुवै खेलमा पराजित गरेको थियो भने बाँकी तीन टिमसँग एक जित र एक हारको नतिजा निकालेको थियो ।
यस्तै लिगमा उत्कृष्ट सुरुवात गरेको हाउण्ड्स भने सुरुमा फाइनलको दाबेदार रहेपनि अन्तिम दुई खेल गोल्डेनगेट र टाइम्ससँग लगातार पराजित भएपछि अभागी बन्यो । टाइम्स समान १७ अंक भएपनि हेड टु हेडमा हाउण्ड्स पछि परेको हो ।
हाउण्ड्सले रोएल, कीर्तिपुर र सामाखुशी युथ क्लबलाई दुवै पटक हराउँदा गोल्डेनगेटसँग दुवै खेलमा पराजित भएको थियो भने टाइम्ससँग एक पटक पराजित भयो ।
यस्तै कीर्तिपुर ३ खेलमा जित र ७ मा हारको नतिजासहित १३ अंक जोडेर चौथो भएको थियो । रोएल समान अंक भएपनि कीर्तिपुरले पनि हेड टु हेडमै रोएललाई पछि पार्यो । अन्तिम खेलमा रोएललाई नै पराजित गरेपछि कीर्तिपुर फाइनल पुगेको थियो ।
रोएल पाँचौ र सामाखुशी छैटौं स्थानमा रहे । सामाखुशीले भने १० खेल खेल्दा जम्मा १ खेल मात्र जित्यो भने ९ खेलमा हार व्यहोर्यो । सामाखुशीले रोएललाई एक खेलमा पराजित गरेको थियो ।
प्रतिक्रिया 4