+
+
Shares

बालुवाटारमा कांग्रेस-एमालेबीच के भयो कुराकानी ?

बैठकमा सहभागी एक नेताले भने ‘बजेटका विषयमा देखिएका कतिपय फरक मतहरू कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले छलफल गर्‍यौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते २२:२४

४ असार, काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा लामो छलफल भएको छ ।

सरकार सञ्चालन, संसद्मा देखिएको अवरोध, बजेट, संसद्‌मा रोकिएका विभिन्न विधेयक लगायतका विषयलाई कसरी सहज रुपमा अघि बढाउने भन्नेबारे दुई दलका शीर्षस्त नेताहरूबीच छलफल भएको स्रोतले अनलाइनखबरसँग बताएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार, खासगरी संसद्को गतिरोध अन्त्य, असार दोस्रो सातासम्म समय लिएको शिक्षा विधेयक र निजामती विधेयकको ‘कुलिङ पिरियड’ को बारेमा नेताहरूबीच एक प्रकारको छलफल भएको छ ।

‘सरकार सञ्चालनसँग सम्बन्धित कुरा प्रभावकारी बनाउने, संसद्को अवरोध खुलाएर विधेयक कसरी चाँडो अघि बढाउने लगायतका विषयमा घनिभूत छलफल भयो,’ ती नेताले भने, ‘बजेटका विषयमा देखिएका कतिपय फरक मतहरू कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले छलफल गर्‍यौं ।’

त्यस्तै, संसद्‌मा पुगेको शिक्षा विधेयक र निजामती विधेयकबारे पनि बैठकमा छलफल भएको थियो ।

शिक्षकसँग वार्ता गरेर असार दोस्रो सातासम्म शिक्षा विधेयक संसद्बाट पारित गराउनेगरी सरकारले समझदारी गरेको थियो । असार पहिलो साता बितिसक्दा पनि संसद्मा अघि नबढेकाले यसलाई सम्बोधन हुनेगरी काम अघि बढाउन नेताहरूबीच छलफल चलेको छ ।

निजामती विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे कांग्रेस–एमालेबीच समझदारी बनाएर अघि बढ्नेगरी उनीहरूले छलफल गरेका छन् ।

बैठकमा कांग्रेस उपसभाम पूर्णबहादुर खड्काले कुलिङ पिरियडको विषयलाई गम्भीर रुपमा लिनका लागि आग्रह गरेका थिए ।

मुख्यतः विधेयक र संसद्को वरिपरि रहेर छलफल भएको नेताहरू बताउँछन् ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलका अनुसार, आजको बैठकमा संसद् र गठबन्धनका विषयमा नियमित रुपमा आइरहेका विषयमा छलफल भएको थियो ।

‘संसदका विषयमा र हाम्रो गठबन्धनको विषयमा आइराख्ने नियमित विषय हामीले सौदार्ह वातावारण छलफल गर्‍यौं,’ अर्थमन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘सरकारको आयु छोटो होस् भन्ने चाहनेहरू र कतिपय प्रतिपक्षीहरूका लागि आजको हाम्रो बैठकका निष्कर्षहरू साँच्चै निराशाजनक छन् ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?