
News Summary
Generated by OK AI. Editorially reviewed.- मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने र विवेक ओझाले फिल्म ‘महाभोज’को विषयवस्तु, अभिनय र निर्देशनको प्रशंसा गरे।
- उनीहरूले फिल्मले सहकारी घोटाला र सामाजिक न्यायका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए।
- दुवै लेखकले फिल्मको सामाजिक सन्देश र कलाकारको अभिनयलाई उच्च मूल्यांकन गर्दै सपरिवार हेर्न सल्लाह दिए।
काठमाडौं । मदन पुरस्कार विजेता दुई लेखक अमर न्यौपाने र विवेक ओझाले प्रदर्शनरत फिल्म ‘महाभोज’ हेरेर प्रतिक्रिया दिएका छन् । उनीहरूले विषयवस्तु, कथावस्तुको प्रस्तुति र अभिनय पक्षको प्रशंसा गरेका छन् ।
न्यौपानेले ‘महाभोज’लाई ‘यो समयको कथा बोकेको फिल्मको संज्ञा दिए । अहिले समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई फिल्मले सशक्त रूपमा प्रस्तुत गरेको बताए ।
उनले भने, ‘यति बेला धेरै सहकारी बेकारी बनेका छन् । त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ । पीडित किसान, मजदुर र श्रमजीवी वर्ग छन् भने पीडकहरू हुनेखानेहरू छन् ।’
उनले फिल्ममा ग्रामीण भेगका विभिन्न मानिसका कथाव्यथालाई सहकारी घोटालासँग जोडेर प्रस्तुत गरिएको र कथा सलल बगेको बताए । उनले अभिनय र निर्देशकीय पक्ष सबल रहेको टिप्पणी गरे ।
फिल्म हेरेपछि देशमा कानूनको कमजोरी र बल प्रयोग गरेरै न्याय खोज्नुपर्ने परिस्थितिको चित्रणप्रति दुःख व्यक्त गरेका छन् । उनको भनाइमा, ‘यो फिल्मको कमजोरी होइन, नियम कानुनको कमजोरी हो । न्याय कानूनले दिन सक्नुपथ्र्यो तर फिल्म दिनुपर्यो ।’ दर्शकले यो फिल्मलाई महसुस गर्न सक्ने उनले बताए ।
अर्का मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझाले ‘महाभोज’मा प्रत्येक कलाकारको अभिनय निकै बलियो लागेको बताए । विशेष गरी कलाकारले आफ्ना पुराना चरित्रभन्दा निकै उच्च स्तरको अभिनय गरेको महसुस गरेको उनले उल्लेख गरेका छन् ।
ओझाका अनुसार, दुई घण्टा अवधिको यो फिल्मले समाज, परिवार र व्यक्तिगत मनोभावना तथा मनोविज्ञानलाई निकै मसिनो गरी केलाउन सफल भएको छ । चलचित्रको कथा समसामयिक सहकारी घोटाला वरपर घुमे पनि यसले घरपरिवारको नाता सम्बन्ध, गाउँ समाजको विश्वास र धोकाका सम्बन्धलाई सँगसँगै हिँडाएको छ, जुन निकै सुहाउँदो रहेको उनको भनाइ छ ।
उनले समाजको र कानुनको चरित्रबिचको द्वन्द्व, कानुनी छिद्र र विश्वासको दुरुपयोग, अनि कसरी मान्छे कानुनी र सामाजिक रूपमा सबथोक गुमाएर लाचार र विकल्पविहीन हुन पुग्छ भन्ने जस्ता विषयलाई मिहिन तवरले प्रस्तुत गरिएकोमा प्रशंसा गरेका छन् ।
ओझाले कथाले दर्शकलाई तानिरहने भन्दै सपरिवार नजिकैको सिनेमा घरमा गएर हेर्न आग्रह गरेका छन् । ’महाभोज’ले निराश नपार्ने उनको विश्वास छ ।
न्यौपानेले उपन्यास ’सेतो धरती’का लागि २०६८ सालको मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कृतिमा गहिरो सामाजिक चेतना र मानवीय संवेदनशीलता पाइन्छ ।
ओझाले आफ्नो उपन्यास ’ऐँठन’का लागि २०७९ सालको मदन पुरस्कार जितेका थिए । उनका लेखनमा समसामयिक विषयवस्तु र मनोवैज्ञानिक पक्षको विश्लेषण मुख्य विशेषताका रूपमा रहन्छ ।
यी दुई मदन पुरस्कार विजेता साहित्यकारको प्रतिक्रियाले फिल्म ‘महाभोज’ले नेपाली समाजको महत्वपूर्ण र समसामयिक मुद्दालाई पर्दामा ल्याउन सफल भएको पुष्टि गर्छ ।
दिनेश राउतको निर्देशन, विकास सुवेदीको पटकथा र हिमाल कडरियाको निर्माण रहेको यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला, विनोद न्यौपाने लगायतको प्रमुख अभिनय छ ।
यो फिल्म अहिले प्रदर्शनरत छ ।
प्रतिक्रिया 4