News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मर्चेन्ट बैंकर्स संघले आयोजना गरेको तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ मा एसबिआइ क्यापिटल र एनएमबि क्यापिटलले फुटसल उपाधि जिते।
- पुरुष फुटसलमा एसबिआइले प्रभु क्यापिटललाई हराउँदै ८० हजार नगद पुरस्कार प्राप्त गर्यो भने महिलातर्फ एनएमबि क्यापिटलले सेबोनलाई पराजित गर्यो।
- प्रतियोगितामा २२ वटा बैंकले भाग लिएका थिए र पुरस्कार नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले वितरण गरे।
७ असार, काठमाडौं । तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ को फुटसलतर्फको उपाधी एसबिआइ क्यापिटल र एनएमबि क्यापिटलले जितेका छन् ।
मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फुटसलको उपाधी एसबिआई र महिलातर्फको उपाधि एनएमबिले जितेका हुन् ।
काठमाडौंको हाडिगाउँस्थित धनयन्तरी स्पोर्ट्सको फुटसलमा सम्पन्न खेलमा प्रभु क्यापिटललाई हराउँदै एसबिआइले ८० हजार नगद जितेको हो । उपविजेता प्रभुले नगद ४० हजार जितेको छ ।
पुरुषतर्फ सर्वाधिक गोलकर्ता एसबिआइका पुजन खड्का भए । १३ गोल गरेका उनले १० हजार नगद पाए । पुरुषतर्फको उत्कृष्ट खेलाडी प्रभुका हिक्मत कुँवर भए भने उत्कृष्ट गोलकिपर एसबिआइका आलोक शिवाकोटी भए । दुवै खेलाडीले १०–१० हजार पाएका छन् ।
फुटसलको महिलातर्फको उपाधि जितेको एनएमबीले नेपाल धितोपत्र बोर्ड सेबोनलाई पेनाल्टीमा २–१ ले हरायो । निर्धारित समय बराबर भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । विजेता एनएमबिले ५० हजार नगद पाएको छ भने उपविजेता सेबोनले २५ हजार आफ्नो पोल्टामा पारेको छ ।
महिलातर्फ सेबोनकी निशा थापाले सर्वाधिक ९ गोल गरिन् । उत्कृष्ट गोलकिपर एनएमबिकी निशा देवकोटा भइन् भने एनएमबिकै मोनिसा बस्नेत उत्कृष्ट खेलाडी भइन् । सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडी तीनै जनाले १०–१० हजार पाएका छन् ।
यसअघि शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ब्याडमिण्टन र टेबलटेनिसका खेल सम्पन्न भएका थिए । टेबलटेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल विजयी भए । उनले एनआईएमबि क्यापिटलका परन्जय नेपाललाई हराउँदै १५ हजार नगद हात पारे ।
महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधानले ग्लोबल आइएमइका वीना अधिकारीलाई हराउँदै उपाधी जितेकी छिन् । विजेता प्रधानले १५ तथा उपविजेता अधिकारीले १० हजार पाइन् ।
टेबलटेनिसकै भेट्रान्सतर्फ एनआइएमबिका पराग विष्टले उपाधी जिते । उनले कुमारी क्यापिटलका अनुप शाक्यलाई हराउँदै उपाधि जिते ।
ब्याडमिण्टनको पुरुष डबल्समा सिआईटिका पुरुषोत्तम र अनिल बस्नेतले , महिलातर्फ प्रभु क्यापिटलकी सिर्जना र पूजा विजयी भए । उनीहरुले मुक्तिनाथका खेलाडीलाई फाइनलमा हराए ।
यसैगरी भेट्रानतर्फको उपाधी गरिमा क्यापिटलका अशोक र तुलसीले जितेका छन् । उनीहरुले फाइनलमा सानिमाका खेलाडीलाई हराएका छन् ।
विजेताहरुलाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कार, कप तथा प्रमाणपत्र दिएका छन् ।
प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिएका थिए ।
प्रतिक्रिया 4