८ असार, काठमाडौं । स्कटल्यान्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।
नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्यान्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्यान्डसँग एक खेलमा २ रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो ।
विमानस्थलमा बोल्दै कप्तान रोहित पौडेलले यस शृंखलामा टिमले सोचेभन्दा राम्रो खेलेको र समग्रमा हेर्दा टिमका लागि राम्रो उपलब्धि हासिल भएको उल्लेख गरे ।
त्यस्तै टी-२०आई शृंखलामा नेपालले ४ मध्ये २ खेल जित्यो । दुवै टोलीलाई एक-एक पटक हराउँदा एक-एक पटक पराजित पनि भयो ।
नेपालले स्कटल्यान्ड जानुअघि युके भ्रमण गरेर अभ्यास पनि गरेको थियो जहाँ राम्रो प्रदर्शन गरेर लिग २ खेल्न गएको थियो ।
नेपाली टोलीले अब टी-२० विश्वकप छनोटको तयारी थाल्नेछ । त्यसका लागि नेपालले भारत, श्रीलंका र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने तय छ ।
सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला पनि खेल्ने तय छ ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4