+
+
Shares

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘यती’, एआईको रचनाशिल्पमा छाडापन हावी

असभ्य र अनुचित संवाद समेटिएका भिडिओहरू बनाउन यस एआई टुलको गलत प्रयोग बढ्दै छ । तिनमा भ्युज लाखौंमा गइरहेको छ भने शेयर पनि उस्तै मात्रामा भइरहेको छ ।

सापेक्ष सापेक्ष
२०८२ असार १० गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जालमा एआई टुलले बनाएको मिथकीय जनावर यतीको भिडियोहरू फैलिएका छन्।
  • गुगलले विकास गरेको \'भियो थ्री\' टुलले बनाएको भिडियोहरू गलत प्रयोग भइरहेको देखिन्छ ।
  • सामाजिक सञ्जाल र कानूनी व्यवस्था कमजोर हुँदा प्रविधिको दुरुपयोग र यसको प्रभाव गम्भीर बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

केही समययता सामाजिक सञ्जालमा रौँले ढपक्क ढाकिएको, ठूलो शरीर भएको हिमाली मिथकीय जनावर ‘यती’ बारम्बार देखिन थालेको छ । तर यो ‘यती’ फरक छ । नेपालीमा बोल्ने यो ‘यती’ व्यङ्ग्य गर्ने, भ्लग गर्ने, समाजका समस्याहरू औंल्याउने, राजनीतिक टिप्पणी गर्ने रूपमा देखिरहेको छ ।

तर सञ्जालमा सनसनी मच्याउने सो ‘यती’ वास्तविक होइन । यो एआई टुल प्रयोग गरी तयार पारिएको भिडिओ कन्टेन्ट हो । जुन गुगलले हालै सार्वजनिक गरेको भिडिओ जेनेरेसन टुल ‘भियो थ्री’ मार्फत बनाइएको हो ।

यो टुल गुगलले गत २० मे २०२५ मा सार्वजनिक गरेको थियो । हुन त अहिले बजारमा भिडियो तयार पार्न सक्ने टुलहरू प्रशस्त छन् । तर यस टुलको खास विशेषता भिडिओमा सुहाउँदो अडियो तयार ‍पार्नु हो । प्रयोगकर्ताहरूले त्यसैको फाइदा उठाउँदै यस प्रकारका भिडियो बनाएका हुन् ।

यो टुल एआईमाथि अनुसन्धान गर्ने गुगलको डिपमाइन्ड डिपार्टमेन्टले विकास गरेको हो । ‘भियो थ्री’मा प्रयोगकर्ताले दिने प्रम्प्ट (लिखित निर्देशन)का आधारमा केही बेरमा नै भिडिओ बन्छ । विशेषगरी सिनेम्याटिक, शैक्षिक, रचनात्मक भिडिओहरू बनाउन यो टुल उपयोगी छ । तर, यसको गलत प्रयोग पनि उत्तिकै भइरहेको छ । त्यसको उदाहरण ‘यती’ को भिडिओ हो ।

यद्यपि ‘यती’ मात्र नभएर असभ्य र अनुचित संवाद समेटिएका भिडिओहरू बनाउन यस एआई टुलको गलत प्रयोग बढ्दै छ । तिनमा भ्युज लाखौंमा गइरहेको छ भने शेयर पनि उस्तै मात्रामा भइरहेको छ ।

उदाहरणका लागि ‘यती’ भ्लग्स नेपाल’ नामक टिकटक अकाउन्टका भिडयोहरू लिन सकिन्छ । यस अकाउन्टको एउटै भिडियोमा ५९ लाख भ्युज आएको छ । यसरी एआईमार्फत बनाइएका भिडियोहरूमा सकारात्मकता तथा मनोरञ्जन पनि पाइन्छ । तर एउटा पक्षले भने निरन्तर रूपमा गाली गलौज, बेइज्जत, अश्लीलता आदि पनि फैलाइरहेका छन् ।

हुँदाहुँदै एआई निर्मित ‘यती’ जस्ता पात्रहरूलाई चलचित्रको प्रवर्द्धन पनि प्रयोग गर्न थालिएको छ । यो काम ‘अभिमन्यु : च्याप्टर–१’ ले गरिरहेको हो ।

एआई निर्मित ‘यती’को भिडियो नेपालीबाहेक अन्य भाषामा पनि छन् । सम्भवत: अङ्ग्रेजी भाषी त्यस्ता भिडियोहरू देखेर नेपाली प्रयोगकर्ताहरूले पनि ‘यती’ को भिडियो बनाएका हुन सक्छन् । किनकि त्यस्तो प्रकारका कन्टेन्टमा बनाउने व्यक्तिको परिचय गोप्य हुन्छ । अनि उसले भन्न खोजेको कुरा सजिलै भन्न सक्छ ।

तर सरोकारवालाहरू भने यो प्रवृत्ति गलत भइरहेको बताउँछन् ।

भविष्यका एआई मोडलमा खतरा

नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) का अनुसन्धान सहायक जुतन भुसाल ‘यती प्रवृत्ति’ भविष्यमा एआई मोडलहरूका लागि ठूलो असर भएको बताउँछन् । अहिले एआईबाट कन्टेन्ट बनाउने प्रक्रिया सामान्य देखिए पनि भविष्यका मोडलहरूको तालिमका लागि आवश्यक पर्ने डेटासेटमा असर पर्ने उनको भनाइ छ ।

‘अहिलेका धेरै एआई टुलहरू बनाउन आधारभूत डेटा सामाजिक सञ्जालबाट लिइएको छ । भविष्यका टुलका लागि पनि सञ्जालबाटै लिइन्छ’ भुसालले भने, ‘तर त्यसबेला तालिमका लागि अहिलेका एआई मोडलले बनाएका कन्टेन्टहरू प्रयोग हुँदा भविष्यका मोडलहरूमा गम्भीर असर देखिन सक्छ’

उनका अनुसार गलत डेटा प्राप्त गर्दा एआई मोडल वास्तविक संसारभन्दा भिन्न हुने र गुणस्तरीय नहुन सक्छ । त्यससँगै प्रयोगकर्ताको नजरबाट हेर्ने हो भने वास्तविक कुन हो र एआईले तयार पारेको कन्टेन्ट कुन भन्ने भ्रम सिर्जना हुन सक्छ ।

यो छोटो समयमा त्यस्ता एआई कन्टेन्ट छ्यापछ्याप्ती हुनुमा एआई मोडल नि:शुल्क पाइनु, सशुल्क भए पनि सस्तो पाइनु र त्यसबाट आर्थिक लाभ लिन खोज्नु कारण रहेको उनको तर्क छ ।

यदि अहिलेकै रफ्तारमा एआई कन्टेन्टहरू निर्माण हुने भए अबको ५/६ वर्षमा कन्टेन्टको वास्तविकता थाहा पाउन नसकिने अवस्था आउन सक्ने भुसाल बताउँछन् ।

प्रविधिको दुरुपयोग र त्यसको खतरा

अहिले सञ्जालमा देखिएको ‘यती प्रवृत्ति’ प्रविधिको दुरुपयोग भएको समाजशास्त्री डा. मीना पौडेल बताउँछिन् । उनका अनुसार जुनसुकै माध्यममार्फत जातीय, धार्मिक, सामाजिक विभेद फैलाउने काम गर्नु समाजलाई आपराधिककरण गर्नु हो ।

‘समाज, राजनीति, देशलाई गाली गर्ने खालका कन्टेन्टले नवपुस्तालाई यहाँ बस्नु ठिक छैन, यहाँ केही हुँदैन भन्ने सोच हालिदिन्छ’ पौडेल भन्छिन्, ‘त्यसले उनीहरूमा सकारात्मकता प्रदान गर्दैन । आफ्नो साथीभाइ, परिवार, क्षमता, भविष्यप्रति उनीहरू सकारात्मक हुन सक्दैनन् ।’

क्षणिक समयका लागि हाँसो प्रदान गरे पनि कालान्तरमा यस्ता कुराले आपराधिक घटना र नैराश्ययता फैलाउने उनको धारणा छ । ‘निराशाजनक समय कटाउन रोजगार नभएका समूहले प्रविधिले दिएको अवसर प्रयोग गर्दा सामग्री पनि निराशाजनक नै उत्पादन हुन्छन्’ पौडेल भन्छिन्, ‘किनकि सिर्जनात्मक काम गर्न उनीहरूसँग सकारात्मकता हुँदैन । उनीहरूले सम्भावनाहरू देख्दैनन् । विष रोपेपछि विष नै उम्रन्छ ।’

अर्का समाजशास्त्री डा. दिपेश घिमिरे ‘एआई यती” जस्ता सामग्री फैलनुमा डिजिटल साक्षरता कमी भएको विचार व्यक्त गर्छन् । उनका अनुसार डिजिटल साक्षरता नहुँदा इन्टरनेटमा देखिने सामग्री सही हो/होइन, वास्तविक हो/होइन, एआई निर्मित हो/होइन भन्ने कुरा थाहा पाउन सकिँदैन । त्यसले गर्दा जे कन्टेन्ट हेरिन्छ, त्यसलाई नै विश्वास गर्न बाध्य भइन्छ ।

‘अत्यन्त छोटो समयमा भाइरल हुन सक्ने त्यस्ता सामग्रीहरूले राम्रो गरिरहेकालाई दुरुत्साहित गर्ने र अर्कोतिर आम मान्छेमा व्यापक भ्रम फैलाउने गर्छ’ घिमिरे भन्छन्, ‘त्यस्ता ‘विशेषगरी बालबालिका, किशोरकिशोरी, अशिक्षित, निरक्षर, प्रौढ जस्ता वर्गमा यसले दीर्घकालीन असर पार्छ ।’

नियमन गर्ने स्पष्ट कानूनको अभाव

एआई निर्मित यस्ता सामग्रीले कसैलाई असर परे कानूनी उपचारमा जान सक्ने अधिवक्ता राष्ट्र विमोचन तिमल्सिना (र्‍यान्डम नेपाली) सुनाउँछन् । तर नेपालसँग मुलुकी अपराध संहिता २०७४, गोपनीयता सम्बन्धी ऐन, विद्युतीय कारोबार ऐन २०६३ जस्ता सीमित कानूनी आधार मात्र भएको उनले बताए ।

त्यसो हुँद जति कानूनी उपचार पाउनु पर्ने त्यति पाउन नसकिने तिमल्सिनाको भनाइ छ । ‘युरोपेली संघमा एआई सम्बन्धी कानुन आइसकेको छ । नेपालमा पनि अहिले बन्ने क्रममा छ । तर कहिले बन्ने थाहा छैन’ उनी अगाडि भन्छन्, ‘त्यसले गर्दा एआईले बनाएका कन्टेन्टहरूमा लेबलिङ भइरहेको छैन । त्यसलाई नियन्त्रण लिन सकिरहेको छैन।’

यसकारण त्यस्ता सामग्रीमा तत्कालै नियन्त्रण गर्न नेपालमा सजिलो नभएको उनको भनाइ छ । यसको प्रमुख कारण नियन्त्रणका लागि चाहिने कानूनी आधार प्रस्ट नहुनु रहेको उनी सुनाउँछन् ।

मानसिक स्वास्थ्यमा गम्भीर

सामाजिक सञ्जाल सुरुमा संसारभरिको जानकारी लिन र टाढाका मानिसहरूसँग जोडिन बनाइएको भए पनि अहिले यो आक्रोश र नकारात्मकता व्यक्त गर्ने मञ्च बनेको बताउँछिन्, मनोचिकित्सक डा. खुस्बु अग्रवाल । उनका अनुसार पहिले केही भन्न आमने-सामने हुनुपर्थ्यो भने अहिले सञ्जालमा सीधै कसैलाई गाली गर्ने वा नकारात्मक कुरा पोस्ट गर्ने चलन बढेको छ । यस्ता कुराले मानसिक स्वास्थमा अकल्पनिय क्षति पुर्‍याउन सक्छ ।

‘सरकार वा नेताहरूलाई गाली गरिएका सामग्रीहरू हेर्दा देशमा केही भएन भन्नेजस्ता नकारात्मक भावनाहरू आउँछन्,’ उनी भन्छिन्, ‘जसले गर्दा सरकारप्रति अविश्वास, आक्रोश र निराशा बढ्छ, कतिपय अवस्थामा देश छाडौं भन्ने सोचसमेत आउन सक्छ ।’

अनि त्यस्ता कन्टेन्टहरू सामाजिक सञ्जालमा आउने कुनै कुरा छुट्छ कि भन्ने डर (फोमो) ले गर्दा प्रयोगकर्ताहरूले बढी मात्रामा प्रयोग गरिरहेको उनको भनाइ छ । यसले गर्दा मानिसहरू बाध्य भएर धेरै समय अनलाइन बिताउँछन् । र, सोहीक्रममा मानिसहरू नकारात्मक कन्टेन्टसम्म पुग्ने उनको भनाइ छ ।

नियन्त्रण बाहिर गइरहेको प्रविधि

डेटा रिपोर्टलको डिजिटल नेपाल २०२५ को तथ्याङ्क अनुसार हाल देशमा १ करोड ६५ लाख व्यक्तिले इन्टरनेट प्रयोग गरिरहेका छन् । जुन कुल जनसंख्याको ५५.८ प्रतिशत हो ।

त्यसैगरी नेपालमा प्रयोग भएका मोबाइल फोनको संख्या कुल जनसंख्याको १३२ प्रतिशत छ । यसका साथै कुल जनसंख्याको ४८.१ प्रतिशतले सामाजिक सञ्जाल चलाउँछन् । त्यसमा पनि १८ वर्षभन्दा माथिका कुल जनसंख्याको ७२.८ प्रतिशत सामाजिक सञ्जालमा छन् ।

यसले गर्दा ‘यती’ शैलीका एआई निर्मित भिडियोहरू सजिलै धेरै प्रयोगकर्तासम्म पुग्न समय लाग्दैन । यसमा सामाजिक सञ्जालका एल्गोरिदमको पनि ठूलो भूमिका हुन्छ । प्राय: जस्ता कन्टेन्ट हेर्यो, उस्तै प्रकृतिका सामग्री फिडमा दिने एल्गोरिदम हुन्छन् ।

यसबाहेक नेपाली भाषाको कन्टेन्ट नियमन गर्न सञ्जाल कमजोर नै छ । अंग्रेजी संवाद अश्लील भए टुलले तुरुन्त हटाउन सक्छ । तर नेपाली मौलिक शब्दहरू प्रयोग गरी प्रयोगकर्ताहरूले सेन्सर सिस्टम छलेका छरिरेका छन् ।

सवाल यत्ति हो, प्रयोगकर्तामा कहिले डिजिटल साक्षरता पुग्छ? सरकारले नियमन तथा व्यवस्थापन गर्ने गरी कहिले कानून बनाउँछ? अनि सृजनात्मक स्वतन्त्रता कतिको न्यायिक हुन्छ?

जवाफ सजिलो छैन । तर, प्रश्न उठिसकेको छ ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?