
News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानले ‘तेरे नाम’ फिल्मको हेयरस्टाइलको रहस्य खुलाउँदै भारतीय पूर्वराष्ट्रपति डा. कलामबाट प्रेरित भएको बताए।
- उक्त हेयरस्टाइल भारत र नेपालमा फेसन ट्रेन्ड बनेको थियो र युवामाझ लोकप्रिय भयो।
- सलमानले २०१५ मा डा. कलामको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरे।
मुम्बई । कुनै समय थियो, जतिबेला सलमान खानको ‘तेरे नाम’वाला हेयर स्टाइल धेरैको लागि ‘फेसन स्टेन्टमेन्ट’ थियो । सलमानको शैलीलाई पछ्याउने युवा जमात बाक्लै थिए ।
सन् २००३ मा रिलिज भएको उक्त फिल्म त्यतिबेलाको सबैभन्दा हिटमध्ये एक थियो । जसले सलमानको करिअरमा नयाँ घुम्ती दियो । ‘तेरे नाम’को उक्त हेयर स्टाइल अहिले पनि उत्तिकै चर्चितमध्ये पर्छ ।
यतिबेला सलमानले उक्त हेयरस्टाइलको रहस्य खुलाएका छन् । नेटफ्ल्क्सिमा सप्ताहन्तदेखि सुरु ‘द ग्रेट इण्डियन कपिल शो’को तेस्रो सिजनको पहिलो एपिसोडमा पाहुना बनेर पुगेका सलमानले ‘तेरे नाम’ हेयरस्टाइलबारे कुरा गरे ।
उक्त हेयरस्टाइलको सिको आफूले ‘मिसाइल म्यान’को रुपमा चिनिने भारतीय पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामबाट गरेको सलमानले बताएका छन् ।
कलामको लामो कपालप्रति आकर्षित भएर आफूले त्यो लुक बनाएको उनले बताए । ‘सानो सहरका अभिनेता प्रायः लामो कपाल राख्थे, र कलाम साबको लुकले मलाई निकै प्रेरणा दियो,’ उनले बताए । यो फिल्ममा उनले राधे नामक पात्रको भूमिका निर्वाह गरेका थिए ।
त्यतिबेला राहुल रोयले पनि उस्तै शैलीका कपाल राख्ने गरेको पनि सलमानले सम्झिए । आफूले सानो सहरको पात्रलाई विश्वसनीय बनाउनका लागि यस्तो लुक चयन गरेको उनले बताए ।
फिल्म रिलिजसँगै उक्त हेयरस्टाइल भारतभरका युवाबीच फेसन ट्रेन्ड बन्यो । ‘तेरे नाम’मा उनले अभिनय गरेको ‘राधे’ पात्रले दर्शकको भावनामा गहिरो प्रभाव पारेको थियो, जसका कारण कपाल शैली पनि चर्चित बन्न पुगेको थियो । नेपालमा समेत उक्त लुकलाई पछ्याउनेको संख्या उच्च थियो ।
सलमानले डा. कलामप्रति आफ्नो सम्मान सन् २०१५ मा पनि व्यक्त गरेका थिए, जब पूर्वराष्ट्रपतिको निधनपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मैले कलाम साबलाई सधैं भेट्न चाहेको थिएँ, तर प्रयास गरिनँ । त्यो मेरो घाटा हो ।’
प्रतिक्रिया 4