
९ असार, काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालको ३१ महिनामा सभामुख देवराज घिमिरेले ७ जना सांसदका अभिव्यक्ति संसदीय अभिलेखबाट हटाए ।
४ मंसिर २०७९ को चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यमध्ये लेखनाथ दाहाल, शिशिर खनाल, विनोद चौधरी, दयालबहादुर शाही, डिल्लीराज पन्त, सूर्यबहादुर थापा र अमरेशकुमार सिंहले बोलेका विवादास्पद शब्दहरू संसदीय अभिलेखमा भेटिने छैनन् । सांसदहरू योगेश भट्टराई र सुनिल शर्माका केही अभिव्यक्ति विवादमा आए पनि अभिलेखबाट हटेका छैनन् ।
आइतबार मात्रै स्वतन्त्र सांसद सिंहको अभिव्यक्ति विवादमा पर्यो । चार/पाँच जिल्लामा धेरै बजेट परेको भन्दै उनले बाँकी जिल्ला नेपालमा छ कि छैन भनेर सरकारको नियतमाथि प्रश्न गरे ।
‘भाग्यमानी चार–पाँच जिल्ला छन्, तिनलाई नेपालमा राखौं । बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चीनलाई दिऔं, भारतलाई दिऔं । ती जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?,’ सांसद सिंहले प्रश्न गरे ।
सिंह बोलिरहँदा एमालेका मुख्य सचेतक महेश बर्तौलाले असंसदीय शब्द प्रयोग भएको भन्दै नियमापत्ति गरे । सभामुख देवराज घिमिरेले सांसद सिंहका केही शब्दहरू संसदीय नभएको भन्दै रेकर्डबाट हटाउने निर्णय लिए ।
‘वक्ता माननीय सदस्यको आसय जे भएपनि पाँच वटा जिल्ला बाहेक अरु जिल्लालाई नाम लिएरै अरु मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नुभएको छ,’ सभामुखले निर्णय सुनाए, ‘त्यसैले अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरामा असंसदीय भाषा प्रयोग भयो । राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भन्ने कुरालाई ध्यानमा राखेर रेकर्डबाट हटाउन निर्देशन गर्दछु ।’
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुखको निर्देशनसँगै सम्बन्धित सांसदको अभिव्यक्ति संसदीय अभिलेखमा रहँदैनन् ।
कुनै पनि सांसदको अभिव्यक्तिउपर प्रश्न उठेपछि दुई तरिकाले निर्णय लिइन्छ ।
पहिलो : प्रश्न उठेको शब्द असंसदीय हो वा होइन भनेर संसद् सचिवालयलाई अध्ययन गर्न लगाएर सभामुखले निर्णय लिन्छन् ।
दोस्रो : सांसदले बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको छ भन्ने महसुस भएलगत्तै सभामुखले त्यस्तो शब्द हटाउन निर्देशन दिन्छन् ।
दुवै तरिका अभ्यासमा छन् । जुन तरिका अपनाए पनि संसदीय मर्यादामा आँच पुर्याउने, अरूलाई होच्याउने, सामाजिक रूपमा अपाच्य, सन्दर्भअनुसार दोहोरो र निच अर्थ दिने सांसदका अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइन्छ ।
पछिल्लो समय संसद्मा असंसदीय शब्द प्रयोग गर्ने र त्यसउपर नियमापत्ति गर्ने र हटाउन लगाउने प्रवृत्ति बढेको संसद् सचिवालयकै अधिकारीहरू बताउँछन् । यसको उदाहरण चालु कार्यकालको ३१ महिनामा ७ जना सांसद्का अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनु हो ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई कटाक्ष गर्ने क्रममा प्रयोग गरेका शब्दलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालको अभिव्यक्ति विवादित बन्यो ।
२२ जेठ २०८० मा सांसद खनालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति प्रश्न गर्ने क्रममा भनेका थिए, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेका कुराहरू आए ।’
प्रचण्डको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख थियो ।
उक्त समझदारीप्रति कटाक्ष गर्ने क्रममा खनाल चिप्लिए ।
लगत्तै सभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको’ भनेर रेकर्डबाट मेटाउन माग गरे ।
सभामुख घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउने निर्णय लिए ।
सभामुखको उक्त निर्णयमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भने विरोध जनाए ।
त्यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति विवादमा पर्यो ।
१० जेठ २०८० मा तत्कालीन सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा सांसद दाहालले सरकारले पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाए ।
त्यसदिन दाहालले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड आए ? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार ।
त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरू । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्ड छन् ।’
दाहालको यस्तो अभिव्यक्ति उपर यति प्रश्न उठ्यो कि स्वयं तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसद्को रोष्ट्रमबाट स्पष्टीकरण नै दिनुपर्यो ।
प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले पटक–पटक छलफल गरे र लेखनाथ दाहालले बोलेका केही शब्दहरू हटाउने सहमति गरे । तीन नेताको सहमतिअनुसार सभामुख घिमिरेले लेखनाथ दाहालको विवादित अभिव्यक्तिबाट ‘…स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द हटाए ।
लोकोक्तिमा चिप्लिए चौधरी र थापा
संसद्मा लोकोक्ति सुनाउँदा नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीको अभिव्यक्ति विवादमा पर्यो ।
२५ जेठ २०८० मा बजेटमाथिको छलफलमा बोल्दै सांसद चौधरीले ढिलो गरी हुने तदारुकताले परिणाम दिन नसक्ने बताउन ‘जब पर्यो राति अनि बुढी ताती’ भन्ने शब्द प्रयोग गरे ।
यो शब्दले महिलालाई होच्याएको र यो स्त्रीद्वेषी शब्द भएको भनेर एमालेकी सांसद दीपा शर्माले नियमापत्ति गरिन् । सभामुखले संसदीय रेकर्डबाट हटाइदिए ।
२५ जेठ २०८० मै प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने लोकोक्ति प्रयोग गरे ।
रास्वपाका सांसद हरि ढकालले यो लोकोक्तिले दृष्टिविहीन समुदायलाई चोट पुर्याएको भनेर नियमापत्ति गरे । नियमापत्तिपछि सभा चलाइरहेकी उपसभामुख इन्दिरा रानाले सांसद पन्तको उक्त भनाइ संसदको अभिलेखबाट हटाउन निर्देश गरिन् ।
संसद्मा असंसदीय शब्दको प्रयोग भएको र त्यस्ता शब्द अखिलेखबाट हटेको जान्दाजान्दै पनि यस्तो प्रवृत्ति रोकिएको छैन । चालु कार्यकालमै संसदीय अभिलेखबाट हटेका शब्द अर्को सांसदले दोहोर्याएका उदाहरण पनि छन् ।
२५ जेठ २०८० मा कांग्रेस सांसद विनोद चौधरीले प्रयोग गरेकै जस्तो शब्द प्रयोग गर्दा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको अभिव्यक्ति विवादमा पर्यो । ६ असार २०८१ मा सांसद थापाले प्रतिनिधिसभामा बोल्ने क्रममा ‘जब राति उसै बुढी ताती’ भन्ने शब्द प्रयोग गरे ।
त्यसबेला कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।
एमाले सांसद थापाले प्रयोग गरेको शब्दमा लैंगिक भेद देखिएको र असभ्य भएको भन्दै कांग्रेसकी सचेतक थिङले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरिन् ।
नियमापत्तिपछि सभामुख घिमिरेले सांसद थापाको अभिव्यक्तिमा लैंगिक भेद देखिन आएको भनेर संसदको रेकर्डबाट हटाइएको जानकारी गराए ।
तिक्ततामा असंसदीय शब्द
राजनीतिक छेडखानी र तिक्तताले समेत संसद्मा अर्को पक्षमाथि अनावश्यक शब्द प्रयोग गर्ने र नियमापत्ति भएका उदाहरण छन् ।
७ जेठ २०८० मा प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले सांसद दयालबहादुर शाहीले नेपाली कांग्रेसका संस्थापक नेताहरूको नाम लिएर आलोचना गरे । सत्ताका लागि कांग्रेसले जस्तो पनि नीति लिएको भन्दै उनले ‘मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको’ भन्ने शब्द प्रयोग गरे ।
त्यसपछि कांग्रेस सांसदहरूले नियमापत्ति गरे । सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले ध्यानाकर्षण भएको बताइन् । कांग्रेस सांसदहरूले चित्त बुझाएनन् ।
त्यसपछि उपसभामुख रानाले सांसद शाहीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिइन् ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्माको अभिव्यक्तिलाई लिएर पनि सदनमा प्रश्न उठेको छ । ९ जेठ २०८० मा सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा राना मगरलाई उनको दलसँग जोडेर शर्माले प्रश्न गरे ।
सांसद शर्माले ‘तपाईं (उपसभामुख राना)कै पार्टी रास्वपाका साथीले कस्तो राम्रो कुरा उठाउनुभएको थियो सांसदहरू अनुपस्थित भए भनेर’ भनेका थिए ।
उपसभामुख स्वतन्त्र व्यक्ति हुने मान्यताका आधारमा उपसभामुखलाई पार्टीसँग जोडेको भनेर फ्लोरबाट प्रश्न उठ्यो । त्यसपछि सभामुखको आसनमा रहेकी रानाले भनिन्, ‘माननीय सदस्यहरू सभामुख तथा उपसभामुख कुनै पार्टीप्रति आवद्ध नहुने कुरा जानकारी गराउन चाहन्छु ।’
सांसद शर्माको अर्को अभिव्यक्ति उपर पनि सभामा प्रश्न उठेको छ ।
आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै २९ साउन २०८० को सभामा बोल्दै उनले भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आंकतकारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको ?’ त्यसबेला प्रचण्ड नेतृत्वमा सरकार थियो ।
शर्माको यो अभिव्यक्ति लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरे । ‘सरकारलाई आतंककारी भनेको र यो शब्द असंसदीय भएकोले संसदको रेकर्डबाट हटाउनुपर्ने’ उनको माग थियो ।
तर, कांग्रेसकी सचेतक सुशीला थिङले शर्माको अभिव्यक्तिको अध्ययन गर्नुपर्ने बताइन् ।
एमालेका सांसद पदम गिरीले कांग्रेस सांसद शर्माले प्रश्न मात्र गरेकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने मत राखे । त्यसपछि शर्माको अभिव्यक्ति उपर थप बहस भएन ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘माओवादी हिंसा’ भनेर प्रयोग गरेको शब्द पनि संसदीय शब्द हो वा होइन भनेर सभामा बहस भएको छ ।
१२ भदौ २०८१ मा प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले माओवादी सशस्त्र युद्धतर्फ लक्षित गर्दै ‘निहत्था नागरिकलाई मार्नु र चौकीमा आक्रमण गर्नु हिंसा भएको’ बताए ।
लगत्तै माओवादीका सांसदहरूले आपत्ति जनाए । हिंसा शब्द असंसदीय हो–होइन भन्ने अध्ययन गरेर निर्णय लिने सभामुखले बताएपछि संसद चल्यो ।
२६ भदौ २०८१ मा सभामुखले भट्टराईले व्यक्त गरेको शब्द संसदीय अखिलेखबाट हटाउनु नपर्ने निर्णय सुनाए ।
सभामुखको यो निर्णयप्रति माओवाद केन्द्रले विरोध जनायो । तर सभामुखको निर्णयअनुसार एमाले सांसद भट्टराईको अभिव्यक्ति संसदीय अभिलेखबाट हटेन ।
सांसदलाई कसले सिकाउने ?
पूर्वसांसद हृदयेश त्रिपाठीका अनुसार संसद्मा असंसदीय शब्द प्रयोग भएको भनेर विगतमा पनि प्रश्न उठ्थे । तर, पछिल्लो समयमा जस्तो अधिक थिएन ।
उनी भन्छन्, ‘नेपालको संसदीय राजनीतिमा संसद्मा विगतमा पनि राजनीतिक तिक्तता प्रकट हुन्थ्यो । त्यसबेलाको तिक्तता शिष्टता सहितको थियो । अहिले त्यस्तो छैन । यसकारण असंसदीय शब्दको प्रयोग बढेको महसुस हुन्छ ।’
संसद्मा सांसदहरू किन असंसदीय शब्द प्रयोग गर्छन् ?
त्रिपाठीको जवाफ छ, ‘मुल कुरा सांसदहरू सेल्फ कन्ट्रोल हुनुपर्छ । सांसदहरूको आत्मानुशासन हुन्छ । यसमा नरहने अवस्थाको बढोत्तरीले समस्या निम्त्याउँछ ।’
सांसदहरूले आत्मानुशासन नै गुमाउने अवस्था कसरी सिर्जना हुन्छ त ?
पूर्वसांसद त्रिपाठीको अनुभव छ, ‘राजनीतिक तिक्तता र प्रतिसोध जति हुन्छ, त्यति संसद्मा असंसदीय भाषा प्रयोग हुँदो रहेछ । पछिल्लो समय यो बढेको छ । यसकारण असंसदीय भाषा प्रयोग पनि बढेको हो ।’
राजनीतिक प्रतिशोध भए सिधै प्रश्न गरे हुन्छ नि, किन सांसदहरू लोकोक्ति, उखान प्रयोग गर्छन् होला ?
त्रिपाठीका बुझाइमा ‘सिधै भन्दा त्यसले अलि बढी नै नकारात्मक वातावरण बनाउन सक्छ । यसकारण कतिपय अधुरो शब्द वा व्यङ्ग्य गर्न खोज्छन् ।’
जेजस्तो भए पनि सांसदहरू आत्माअनुशासनमा रहँदा संसद सभ्य हुने उनको राय छ । सभ्य बहसले नै मुलुकलाई सही नीति दिन सकिने उनको सुझाव छ ।
अब आत्मानुशासनमै नरहेका सांसदहरूलाई कसले सिकाउने वा कन्ट्रोल गर्ने ?
त्रिपाठीका अनुसार संसदीय दलले समेत आफ्ना सांसदलाई संसदीय मर्यादा खयाल गर्न भन्नुपर्छ । यसका अलावा प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासबारे सांसदहरूलाई अभ्यस्त गराउन सक्नुपर्छ ।
पूर्वसांसद त्रिपाठीले भने जस्तै प्रतिनिधिसभामा सांसदहरूका आत्मानुशासन केकस्ता हुन् भनेर लिपिवद्ध गरिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा सदनको छलफलमा भाग लिने सांसदले पालन गर्नुपर्ने नियम छ । जसअनुसार सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र सांसदले बोल्नुपर्छ ।
सभामा सांसदहरूले ‘अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न’ हुँदैन ।
‘कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने र बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग गर्न नहुने’ आत्मानुशासनको विषय पनि नियमवलीमै छ ।
यसका अलावा संघीय संसद् सचिवलालयले संसदीय शब्दावली केकस्ता हुन्छन् भनेर पुस्तक नै प्रकाशन गरेर सांसदहरूलाई दिएको छ । तर व्यवहारमा संसद्मा असंसदीय शब्द प्रयोग बढेको संसद् सचिवालयकै अभिलेखले देखाउँछ ।
भत्किँदै शिष्टताको मानक
संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार संसद्मा विगतमा एकाध मात्रै नियमापत्ति हुन्थे । उनी भन्छन्, ‘गम्भीर र आपत्तिजनक विषय आउँदा, राष्ट्रिय हितभन्दा बाहिरको विषय आउँदा मात्रै प्रश्न उठ्थ्यो । कुनै व्यक्तिउपर मानहानि हुनेगरी व्यक्त अभिव्यक्तिउपर पनि नियमापत्ति हुन्थे । र, ती एकाध मात्रामा देखिन्थे ।’
विगतमा सांसद निर्वाचित भएर आएपछि सम्बन्धित दलले सांसदहरूलाई संसदीय संस्कार सिकाउने अभ्यास रहेको र पछिल्लो समय यस्तो अभ्यास नदेखिएको थापा बताउँछन् । सांसद् स्वयंले आफूलाई अनुशासनमा राखे धेरै नियमापत्ति आफैँ घट्ने उनको विश्वास छ ।
२०१६ सालदेखि नेपालमा संसदीय अभ्यास सुरु भएको मानिन्छ । संसदीय अभिलेख अनुसार १ असोज २०१६ मा बसेको प्रतिनिधिसभा बैठकमा तत्कालीन सांसद होराप्रसाद जोशीले प्रयोग गरेको शब्दमाथि प्रश्न उठेको थियो ।
संसदको अभिलेखअनुसार, जोशीले असत्य शब्द प्रयोग गरेका थिए र त्यसप्रति सांसदहरूले आपत्ति जनाएपछि तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यो ‘असत्य’ शब्द के थियो भन्ने चाहिँ खुल्दैन ।
२०४८ सालको संसदीय निर्वाचनपछिका व्यवस्थापिकाहरूमा असंसदीय शब्द प्रयोग हुने र हटाउने अभ्यास निरन्तर छ ।
२०६४ सालको संविधानसभा बैठकमा माओवादीका तत्कालीन सांसद गोपाल किरातीले ‘संविधान बनाउन नदिनेलाई खरानी बनाउने’ चेतावनी नै दिएका थिए । किरातीको यो अभिव्यक्ति रेकर्डबाट हटाउन तत्कालीन सभामुख सुवास नेम्वाङले निर्देशन दिएका थिए ।
संविधानसभामै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदलाई ‘भेडीगोठ’ भनेका थिए । त्यसलाई पनि रेकर्डबाट हटाइएको थियो ।
८ साउन २०७३ मा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘मानसिक अवस्था ठीक नभएको’ भनेका थिए । उनको यो शब्द पनि संसदको रेकर्डबाट हटाइएको थियो । १७ मंसिर २०७३ मा तत्कालीन सांसद सीपी मैनालीले तत्कालीन प्रधानमन्त्रीलाई इंगित गर्दै ‘बहुला कुकुरले टोकेको’ भन्ने शब्द प्रयोग गरेका थिए । यो पनि रेकर्डबाट हटाइएको छ ।
२४ वैशाख २०७६ मा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेका थिए । यसप्रति तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।
१८ साउन २०७८ को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले प्रधानमन्त्री केपी ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट’ नभएको भनेपछि तत्कालीन सभामुख अग्नि सापकोटाले सो भनाइ रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।
१३ जेठ २०७९ मा तत्कालीन मन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक महत्वको वक्तव्यका क्रममा ‘साउनमा दृष्टि गुमाएको गोरुले सधैं हरियो देख्छ’ भन्ने वाक्य प्रयोग गरेका थिए । तत्कालीन प्रमुख विपक्षी एमालेले त्यसमा आपत्ति जनाएपछि सो वाक्य रेकर्डबाट हटाइएको थियो ।
संसदमा शिष्ट र मर्यादित भाषा बोल्नुपर्नेमा पटक–पटक गालीगलोज मिश्रित भाषा प्रयोग हुँदै जाने र त्यसउपर सदनको नेतृत्व र सम्बन्धित दलले एक्सन नलिने प्रवृत्तिले संसदीय व्यवस्थामा कल्पना गरिएको सभ्य बहसको मानक भत्किँदै गएको पूर्वसचिव थापाको बुझाइ छ ।
फेरि पनि सम्बन्धित दल र स्वयम सांसद सर्तक हुँदा मात्रै संसद् सभ्य र व्यवस्थित हुन्छ । उनी सुझाउँछन्, ‘सांसदहरू आफैँ संस्कारयुक्त हुन आवश्यक छ । दलहरूले संस्कार सिकाउनुपर्छ । तर व्यवहार ठिक उल्टो छ । सुल्टो नभएसम्म संसद्को दृश्य थप कुरूप बन्दै जान्छ ।’
प्रतिक्रिया 4