
News Summary
Generated by OK AI. Editorially reviewed.- इराकी नागरिक फौजी हमिद अल बायातीलाई रक्सौल सीमा नाकाबाट पक्राउ गरिएको हो।
- भारत प्रवेश गर्न कुनै वैध कागजात नभेटिएकाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भारतीय प्रहरीले भनेका छन्।
९ असार, काठमाडौं । नेपाल हुँदै रक्सौल सीमा नाकाबाट एक इराकी नागरिक भारततर्फ प्रवेश गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।
वीरगञ्जबाट भारतीय शहर रक्सौल प्रवेश गर्न लागेको अवस्थामा इराकको बग्दादका ४७ वर्षीय फौजी हमिद अल बायातीलाई पक्राउ गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ । प्रारम्भिक सोधपुछ र अनुसन्धानपछि उनलाई मोतिहारी केन्द्रीय कारागारमा पठाइएको भनिएको छ ।
रक्सौलको हरैयास्थित प्रहरी चौकीका इञ्चार्ज किशन कुमार पासवानले नियमित जाँचका क्रममा शंकास्पद लागेपछि उनलाई पक्राउ गरेका थिए ।
‘उनीसँग भारत प्रवेश गर्न मिल्ने कुनै वैध कागजात पनि थिएन, त्यसैले पनि नियन्त्रणमा लिइएको हो’, पूर्वी चम्पारणका प्रहरी प्रमुख स्वर्ण प्रभातलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।
‘उनी नेपालबाट एक्लै यात्रा गरेर भारत प्रवेश गर्न खोजिरहेका थिए, उनमा कुनै डर देखिएको थिएन’, एक सुरक्षाकर्मीले भनेका छन्, ‘उनको भारत प्रवेश गर्ने उद्देश्यबारे केन्द्रीय सुरक्षा निकायहरुले अनुसन्धान गरिरहेका छन् ।’
इराकी नागरिकले प्रारम्भिक सोधपुछमा आफू एक मेकानिकल इञ्जिनियर भएको भन्दै दुई पटक वैध भिसासहित भारत प्रवेश गरिसकेको समेत भनेको उल्लेख गरिएको छ ।
सन् २०२५ को अप्रिल २४ यता मात्र सशस्त्र सीमा बल (एसएसबी) र अध्यागमन निकायले अमेरिका, चीन, क्यानडा, दक्षिण कोरिया, इराकका नागरिक र खालिस्तानी अभियानसँग जोडिएका ९ जनालाई नेपाल हुँदै प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइसकिएको समेत समाचारमा उल्लेख छ ।
प्रतिक्रिया 4