 
																			१० असार, विराटनगर । मोरङ कटहरी गाउँपालिका- २ आदर्श टोलका मोहम्मद ताहिर हुलाकी सडक किनारमा साइकल मर्मत पसल चलाउँछन् । विराटनगर बजारमा लामो समय पसल चलाएका उनी सिंघिया खोलापूर्व हुलाकी सडकमा सरेको डेढ वर्ष नाघ्यो ।
घरबाट सफा-सुग्घर पसल आउने उनी फर्कंदा धुलाम्मे हुन्छन् । धुलाम्मे सडकका कारण पसलमा ग्राहक पनि थोरै पुग्छन् । ‘बाटो बनेको छैन, साह्रै धुलो छ,’ ताहिर भन्छन्, ‘सडक बनिदिए सजिलो हुन्थ्यो ।’
दिनभर कुद्ने सवारीले उडाउने धुलो उनकै पसलमा पुग्छ । सवारीको अत्यधिक चाप हुने सडक नबन्दा सास्ती दैनिक बढ्दो छ ।
मोरङ धनपालथान गाउँपालिका- ४ का दिलिप अधिकारीलाई हरेक दिन विराटनगर आउजाउ गर्नुपर्छ । हुलाकी सडक सामान्य अवस्थामा हुँदा उनको घरबाट विराटनगरको दूरी धेरै टाढा छैन । तर बाटो नबनेका कारण धुलोबाट जोगिन भित्री बाटो हुँदै घुमेर हिँड्नुपर्छ ।
‘हुलाकी सडकमा त हिँड्नै सकिँदैन धुलोले गर्दा,’ उनले भने, ‘घुमेर आउँदा धुलोबाट त जोगिन्छ तर समय बढी लाग्छ ।’ बाटो बनिदिए आउजाउ गर्न सजिलो हुने उनी बताउँछन् ।

ठेक्का लागेको पाँच वर्षसम्म काम नहुँदा हुलाकी राजमार्ग हुँदै यात्रा गर्ने मोहम्मद र दिलिप जस्ता हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् । तर नागरिकको सास्ती कम गर्न राज्यले ध्यान दिएको छैन ।
जनप्रतिनिधिलाई नटेर्ने ठेकेदार
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर सडकको काम सुस्त गतिमा छ ।
२०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति भएको छ ।
ठेकेदारले भद्रगोल अवस्थामा सडक छाडेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलाम्मे हुन्छ ।
अलपत्र अवस्थामा रहेको हुलाकी सडकको काम अघि बढाउन मोरङका जनप्रतिनिधिले तीन वर्षअघिदेखि पहल गरेका थिए । ठेकेदार सम्पर्कविहीन भएपछि आन्दोलन गरेका जनप्रतिनिधि नै थाकेका छन् ।
यो सडक निर्माणका लागि दुई वर्षअघि मोरङ- २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली पालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार, कटहरीका अध्यक्ष देवराज चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै काम गर्न दबाब दिएका थिए ।
स्थानीयले सडक निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउदेखि चक्काजामसम्म गरे । तर ठेकेदारले टेरेनन् ।
२०७६ सालमा दुई वर्षभित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालि काठमाडौंले काम नगरेपछि गत वर्ष मोरङ- ५ का सांसद योगेन्द्र मण्डलले ट्याङ्कर भाडामा लिएर केही समय धुलाम्मे सडकमा पानी हालेका थिए ।
एकपछि अर्को पेटी ठेकेदार

हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि हो । तर निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएको छैन । यो सडकको काम पेटी ठेकेदारमार्फत भइरहेको छ ।
सुरुमा भुपाल श्रेष्ठले जिम्मा लिएका थिए । उनले काम सुरु गरेर छाडेपछि सडक अलपत्र भयो । पाँच वर्षको अवधिमा ठेकेदारले साइड ड्रेन निर्माणको काम पूरा गरेनन् । बिजुलीको पोल सडकमै छ ।
पछिल्लो पाँच महिनायता हुलाकी सडकको ६ किलोमिटर खण्ड निर्माणको जिम्मा अभिषेक गिरीले लिए । पाँच महिनाअघि निर्माणको जिम्मा लिएका उनले अधुरै रहेको साइड ड्रेन निर्माणको काम गरेका छन्, तर सुस्त ।
अभिषेक गिरीका अनुसार हुलाकी सडक निर्माणको मुख्य समस्या भुक्तानी हो । सडकमा गरेको कामको भुक्तानी आयोजनाले नदिएको उनले बताए । पाँच महिनाको अवधिमा गिरीले चार करोड रुपैयाँ बढीको काम गरेको दाबी पेस गरेका छन् । हुलाकी सडक आयोजनाले उनलाई एक करोड ७० लाख रुपैयाँ हाराहारी मात्रै भुक्तानी गरेको छ ।
निर्माण सुरु भएको पाँच वर्ष नाघे पनि बिजुलीको पोल सडकबाट हटाइएको छैन । गिरीका अनुसार पोल हटाउने प्रक्रिया सुरु भएको छ । तत्काललाई हिँडडुल गर्नका लागि खाल्डाखुल्डी परेकोले ठेकेदारले सडकको बाँकी काम भने बर्खा सकिएपछि मात्रै गर्नेछ ।
हुलाकी सडकको मोरङ खण्डमा भद्रगोल अवस्था विराटनगरसँग जोडिएको ६ किलोमिटर खण्डको मात्रै हो । बेतौनाबाट कटहरीको नयाँ बजारसम्म १२ किलोमिटर निर्माण सम्पन्न हुने क्रममा छ ।
विराटनगर बजार क्षेत्रमा सडक विस्तारको योजना छैन । बरगाछीदेखि केसलिया खोलासम्म चार किलोमिटर देवएन्ड सायर भूमि जेभीले ठेक्का लिएको छ । २०७६ सालमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सुरुमा भागेको थियो । स्थानीयले आन्दोलन गर्दै नेता बहिष्कार अभियान चलाएपछि फर्किएर काम सुरु गरेको ठेकेदारले निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
लिङ्क रोडको अवस्था पनि उस्तै
हुलाकी सडकको लिङ्क रोडको अवस्था पनि उस्तै छ । पथरीदेखि रंगेलीसम्म हुलाकी मार्गको लिङ्क रोड निर्माणको ठेक्का दुईवटा प्याकेजमा कान्छाराम कन्स्ट्रक्सनले पाएको छ । कान्छारामले पनि सडक निर्माण अधुरै छाडेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार हुलाकी सडकको यो खण्डको ठेक्का कात्तिक २०७६ मा लागेको थियो ।
हालसम्म यसको काम २२ प्रतिशत मात्रै प्रगति छ । उनका अनुसार यो सडक निर्माणका लागि ७७ करोडमा ठेक्का लागेको थियो । हालसम्म १६ करोड रकम भुक्तानी भएको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटकपटक म्याद थप भएको छ । नयाँ आर्थिक वर्षमा फेरि म्याद थप्ने तयारी छ । म्याद थप गर्दा लगत भने नबढ्ने उनले पोखरेलले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा भने आयोजनासँग बजेट नहुँदा ठेकेदारलाई काम अनुसारको भुक्तानी भएको छैन ।
 
                









 
                     
                                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4