News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले स्कटल्याण्डमा लिग २ मा उत्कृष्ट प्रदर्शन गरी पुनरागमन संकेत गरेको छ।
- कप्तान रोहित पौडेल र खेलाडीहरूले टोलीको सुधार र आगामी प्रतियोगिताका लागि सकारात्मक प्रतिक्रिया दिए।
- नेपालले टी-२० विश्वकप तयारीका लागि विभिन्न अभ्यास र अन्तर्राष्ट्रिय खेलहरूमा भाग लिने योजना बनाएको छ।
१० असार, काठमाडौं । नेपाली क्रिकेट टोली युके र स्कटल्याण्डको एक महिनाभन्दा लामो टुर सकाएर आइतबार स्वदेश फर्कियो । यसपटक स्वदेश फर्कँदा नेपाली टोलीले एक किसिमको उपलब्धि नै हासिर गरेर फर्कियो ।
उक्त उपलब्धि थियो, स्कटल्याण्डमा गएर लिग २ कै बलियो प्रतिद्वन्द्वीहरूलाई हराएर महत्वपूर्ण अंक बटुल्नु । तुलनात्मक रूपमा कठिन मानिने स्कटल्याण्डको कन्डिशनमा नेपालले यसअघि कमजोर प्रदर्शन गरेकोमा यसपटक भने निकै स्तरीय प्रदर्शन गरेको थियो ।
नेपालले युकेमा भएको अभ्यास खेलमा निकै सुधारिएको प्रदर्शन गरेको थियो भने त्यही लय नेपालले स्कटल्याण्डमा भएको लिग २ को खेलमा पनि निरन्तरता दियो । लिग २ को राम्रो प्रदर्शनले नेपाल खराब अवस्थाबाट पुनरागमनको सुरुवात नै गरेको छ ।
एक हिसाबले भन्नुपर्दा नेपाली टोली लिग २ मा ‘ब्याक अन ट्र्याक’ भएको छ अर्थात् लयमा फर्किएको छ । विशेषगरी नयाँ प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि देखिएको एक खालको सकारात्मक खेल शैली नेपालले अब आगामी दिनहरूमा पनि दोहोर्याउनुपर्ने हुन्छ ।
नेपालका लागि अब तत्काल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू छैन । अब नेपालको एकदिवसीय खेल पनि अक्टोबरभन्दा अगाडि तय छैन । त्यसबीचमा नेपालले अब टी-२० विश्वकपलाई लक्षित गरेर विभिन्न तयारी क्याम्पहरूमा सहभागी हुनेछ ।
लिग २ मा फर्किएको लय
नेपाली क्रिकेट टोली यस टुरअघि लिग २ मा रहेका ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो । १२ खेलमा ६ अंक जोडेको नेपालका लागि यस अवे शृंखला महत्वपूर्ण अंक बटुल्नका लागि पनि महत्वपूर्ण थियो ।
ठिक त्यसैअनुरुप नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग २ मा अब पुनरागमनको सुरुवात भएको संकेत दिएको छ । नेपाली टोली एकदिवसीय क्रिकेटमा लयमा फर्केको देखिन्छ ।
नेपाली टोलीले लिग २ को यस शृंखलामा ४ खेलमध्ये ३ खेल जितेको थियो । नेदरल्याण्ड्सलाई दुवैपटक हराउँदा स्कटल्याण्डसँग एक खेलमा किर्तिमानी जित निकालेको नेपालले अर्को खेलमा २ रनको हार बेहोरेको थियो । समग्रमा भन्नुपर्दा नेपालले एकपक्षीय खेल कुनैपनि हुन दिएन । पराजित हुँदा पनि जितको निकै नजिक पुगेर हारेको थियो ।
यसबारेमा कप्तान रोहित पौडेलले पनि यस शृंखला समग्र रूपमा धेरै राम्रो भएको बताए । ‘यो शृंखला निकै महत्वपूर्ण थियो, सबै खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुसार खेले । समग्रमा राम्रो नतिजा आएको छ’ उनले भने, ”त्यस्तो कन्डिशनमा गएर खेलहरू जितेका छौं । लिग २ कै दुई उत्कृष्ट टिमहरूलाई हरायौं, आगामी सिरिजहरूका लागि पनि त्यसले मद्दत गर्छ।’
त्यस्तै अर्का खेलाडी करण केसीले पनि युरोपका २ उत्कृष्ट टिमलाई हराउनु धेरै राम्रो भएको बताए । ‘युरोपको कन्डिशन फास्ट बलरका लागि उपयुक्त हुन्छ, त्यही अनुसार योजना बनायौं र त्यसकै अनुसार खेल्दा राम्रो नतिजा सम्भव भयो’ उनले भने ।
टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले पनि स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई हराउनु उपलब्धि नै भएको बताए । ‘त्यो कन्डिशन भनेको अलि गाह्रो नै हुन्छ, हामीले राम्रो खेलेको हो । आगामी खेलहरूलाई पनि यसले धेरै सहयोग गर्नेवाला छ’ उनले भने ।
मानसिकतामा देखिएको सुधार
नेपालले यस शृंखलामा देखाएको एक परिवर्तन खेलाडीहरूको मानसिकता र एकआपसमा देखिएको विश्वासको पनि नतिजा हो। नेपाली टोली पहिलेभन्दा केही सुधारिएको, संयमित र जिम्मेवारीका साथ खेल प्रस्तुत गरेको देखिएको थियो ।
विशेषगरी नेपालको कमजोर पक्षका रूपमा रहँदै आएको ब्याटिङ यस शृंखलामा धेरै हदसम्म सुधार भएको देखिएको छ । त्यसमा नेपालले शृंखलाअघि युकेमा गरेको अभ्यासको पनि महत्वपुर्ण भूमिका रह्यो ।
नेपाली टोलीले लिग २ खेल्न स्कटल्याण्ड जानुअघि नेपालमै कोर क्याम्प अभ्यासमा सहभागी भएको थियो भने त्यसपछि इंग्ल्याण्डमा गएर विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलेको थियो ।
अभ्यासका क्रममा पनि नेपाली क्रिकेट टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङ सुधारिएको छनक देखिएको थियो । यसलाई लिग २ को खेलमा पनि निरन्तरता दिनु चुनौतीपूर्ण थियो ।
घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितका बीच नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरेका थिए जसलाई लिग २ का खेलहरूमा पनि ब्याटरले निरन्तरता दिए ।
मध्यक्रमको ब्याटिङमा नेपालका लागि आरिफ शेखको प्रदर्शन शानदार रहेको थियो । आरिफसँगै भीम सार्की, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले राम्रो ब्याटिङ गर्दै साझेदारी पनि निर्माण गर्दै खेल चलाइरहे जहाँ लोअर मिडल अर्डर मानिने सोमपाल कामी र फिनिसर करण केसीको पनि साथ रह्यो ।
त्यस्तै ओपनिङ ब्याटिङमा कुशल भुर्तेलले केही जिम्मेवारीका साथ खेलेको देखिएको छ यद्यपी त्यसलाई निरन्तर कायम राख्न सके सुनमा सुगन्ध थपिनेछ । बलिङमा नेपालका लागि स्पिनर सन्दीप लामिछाने फेरि लयमा फर्किएका छन् भने डेब्यू गरेका नन्दन यादवले पनि शानदार प्रदर्शन गरिरहेका छन् ।
यी सबै कुराहरूको पछाडि माइन्डसेटमा भएको परिवर्तन पनि प्रमुख कारक रहन्छ । जसको श्रेय नवनियुक्त प्रशिक्षक स्टुअर्ट ललाई पनि जान्छ । उनले टिममा सबैकुरा सन्तुलित राख्ने गरेको खेलाडीहरू पनि बताउँछन् ।
कप्तान रोहित पौडेलले प्रशिक्षक ल निकै सरल रहेको बताए । ‘उहाँ एकदम स्ट्रेड फरवार्ड हुनुहुन्छ, मैदानमा प्राप्त भएका अवसरहरू सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, धेरै जटिल पनि बनाउनुहुन्न अवस्थालाई’ उनले भने ।
कमजोर टिमलाई खराब अवस्थाबाट माथि उठाउने क्षमताका लागि परिचित लले नेपाली टोलीलाई पुनरागमनको बाटो देखाइसकेका छन् र खेलाडीहरू त्यसमा हिँड्न सुरु पनि गरिसकेका छन् ।
मानसिकतामा आएको परिवर्तनले नेपाली टोलीले आगामी शृंखलाहरूमा पनि यही किसिमको प्रदर्शन गर्न सके नेपालका लागि एकदिवसीय विश्वकपको ढोका पनि खुल्न सक्छ ।
नयाँ खेलाडीले देखाएको सम्भावना
नेपालले स्कटल्याण्डमा लिग २ खेलिसकेपछि टी-२०आई शृंखला पनि खेलेको थियो । त्यसमा पनि नेपालको प्रदर्शन मिश्रित रह्यो । नेपालले २ खेल जित्दा २ खेलमा पराजित भयो ।
नेपालले नेदरल्याण्ड्ससँग ३ पटकसम्म सुपर ओभरमा पुगेर खेल हारेको थियो भने शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएको थियो । यसबीचमा दुवै टोलीलाई १-१ पटक हरायो पनि ।
यस शृंखलामा नेपालका लागि दुई मुख्य खेलाडीहरू सोमपाल कामी र गुल्शन झा उपलब्ध नहुँदा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यूको मौका पाएका थिए । किरणको प्रदर्शन सामान्य रहँदा रुपेशले भने आफूलाई अलराउण्डरको भूमिकामा चिनाइसकेका छन् ।
बलिङमा पनि विकेट निकालेका उनले ब्याटिङमार्फत क्यामिओ पारीहरू खेलेका थिए जुन् नेपालका लागि तल्लोक्रममा निकै सहयोगी साबित हुन सक्छ । आगामी टी-२० विश्वकप छनोटका लागि पनि उनले मौका पाउन सक्ने सम्भावना देखाएका छन् ।
कप्तान रोहित र भुर्तेलले नयाँ आएका खेलाडीहरूबाट पनि राम्रो प्रदर्शन भएको बताए । ‘जतिपनि नयाँ खेलाडीहरू छन्, राम्रो गरेका छन् । टी-२०मा पनि राम्रो खेल्यौं, झन् राम्रो हुनेछ भन्ने लाग्छ’ भुर्तेलले भने ।
त्यस्तै ओडिआईमा डेब्यू गरेर राम्रो प्रदर्शन गरेका नन्दन यादवले टी-२०आईमा पनि डेथ बलिङ र तल्लो क्रमको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका छन् ।
नेदरल्याण्ड्ससँग ३ सुपर ओभरमा पुगेको खेल उनकै ब्याटिङले सम्भव भएको थियो । उनले निर्धारित खेलको अन्तिम बलमा चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो जहाँबाट नाटकीय रूपमा खेलको नतिजा निस्कन ३ सुपर ओभर कुर्नुपरेको थियो ।
नन्दनले उक्त खेल पहिले नै जिताउन खोजेको बताए । ‘कसैले पनि सोचेको थिएन त्यस्तो ३ वटा सुपर ओभर हुन्छ भनेर, अलिकति अभागी पनि भयौं, सबै आश्चर्यमा थियौं बराबरी भएको भयै गरेर’ उनले भने, ‘हातमा अलि चोट लागेको भएर छक्का त प्रहार गर्न सकिनँ तर ड्र भएर सुपर ओभरमा भएपनि लान्छु भन्ने थियो।’
नन्दनले यो टुरमा गरेको प्रदर्शनबाट उनी अब नेपालका लागि दुवै फर्म्याटमा नियमित रूपमा स्थान पाउन योग्य भएको कुरा प्रमाणित गरेका छन् ।
टी-२० विश्वकपको लक्ष्य
नेपाली टोलीका लागि अब लामो समयसम्म एकदिवसीय खेलहरू तालिकामा छैन । नेपालले अब आगामी लिग २ शृंखला सिधै अक्टोबरमा हुने तय छ । तर त्यसबीचमा नेपाली टोली अब टी-२० विश्वकपको छनोटमा केन्द्रित रहनेछ ।
त्यसका लागि आगामी महिनादेखि नै विभिन्न क्याम्पहरू तय छन् । जुलाईमा नेपाली टोली श्रीलंका गएर तयारी क्याम्पमा सहभागी हुने तय छ भने अगस्टमा भारतमा विभिन्न ठाउँमा पकेट क्याम्पमा सहभागी हुनेछ भने अगस्टमै अस्ट्रेलियामा गएर पनि अभ्यास खेलहरू खेल्नेछ ।
सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने तय भइसकेको छ । २ पटक विश्वकप जितेको वेस्ट इन्डिजसँग खेल्न खेलाडीहरू पनि उत्साहित छन् ।
कप्तान रोहितले यो नेपालकै लागि ठुलो उपलब्धि भएको बताए । ‘एकदमै उत्साहित छौं । धेरै स्तरीय टिम हो वेस्ट इन्डिज र खेल्न पाउनु भनेको हाम्रो लागि आफैंमा एउटा ठुलो उपलब्धि पनि हो’ उनले भने ।
त्यस्तै भुर्तेलले पनि वेस्ट इन्डिजसँगको खेलले राम्रो एक्सपोजर मिल्ने बताउँदै खेल्न निकै उत्साहित रहेको बताए ।
नन्दनले पनि सबै खेलाडीको चाहना नै ठुलो राष्ट्रसँग खेल्न पाउनु भएको बताउँदै यस खेलले धेरै कन्फिडेन्स बढ्ने बताए । ‘वेस्ट इन्डिज भनेकै टी-२०को लागि चिनिने टिम हो, अलिकति चुनौती दिन सकियो भने जित्न सकिन्छ, धेरै उत्साहित छौं’ उनले भने ।
नेपालले खेल्ने आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोट आगामी अक्टोबरमा ओमानमा हुँदैछ । त्यसका लागि पनि वेस्ट इन्डिजसँगको शृंखलाले ठुलो अर्थ राख्नेछ ।
विशेषगरी उक्त शृंखला यूएईमा हुने भएको र ओमानसँग त्यहाँको कन्डिशन मिल्ने भएकाले नेपालका लागि उक्त खेल एक्सपोजर र अभ्यासका हिसाबले धेरै अर्थपूर्ण रहनेछ ।
त्यसपछि नेपालको लक्ष्य भनेको लगातार दोस्रोपटक एवम् समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेल्ने हुनेछ जुन कुरा प्रशिक्षक लले यसअघि नै नेपालको प्रमुख लक्ष्य भएको बताइसकेका छन् ।
प्रतिक्रिया 4