+
लिग २ क्रिकेट :

स्टुअर्ट लको आगमनसँगै पुनरागमनको बाटोमा नेपाली क्रिकेट

२०८२ जेठ  २८ गते १९:४५ २०८२ जेठ २८ गते १९:४५
स्टुअर्ट लको आगमनसँगै पुनरागमनको बाटोमा नेपाली क्रिकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरी ६ अंक बटुल्यो।
  • प्रशिक्षक स्टुअर्ट लले टोलीलाई आत्मविश्वासी बनाउँदै लिग २ मा राम्रो नतिजा हासिल भयो।
  • ब्याटिङ र बलिङमा सुधार आवश्यक भए पनि टोलीले संघर्षपूर्ण अवस्थाबाट पुनरागमन गरेको देखिन्छ।

२८ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा भएको शृंखलामा शानदार प्रदर्शन गर्दै ४ मध्ये ३ खेलमा जित निकाल्यो ।

एसोसियटका २ उत्कृष्ट टोलीहरू स्कटल्याण्ड र नेदरल्याण्ड्सजस्ता बलियो टोलीलाई उनीहरूकै सेरोफेरोमा हराउनु नेपालका लागि चानचुने विषय पक्कै होइन । यस्तोमा नेपालले उच्च स्तरको प्रदर्शन गर्दै कुनैपनि खेलमा एकपक्षीय प्रभाव पर्नै दिएन ।

स्कटल्याण्डसँगको एक खेलमा पराजित भएको नेपालले त्यो खेलपनि अन्तिमसम्म लड्दालड्दै गुमाएको थियो । २ रनको हार बेहोर्दा नेपाल कीर्तिमानी जितबाट चुकेको थियो । यस शृंखलाबाट ६ अंक बटुल्दै नेपालले पुछारबाट पुनरागमन गरेर अब १६ खेलबाट १२ अंक पुर्‍याएको छ ।

यसै शृंखला सुरु हुनुअघि नेपालको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएका थिए । उनले अन्तर्क्रिया कार्यक्रममा आफुलाई हारेको मन नपर्ने भन्दै सबै खेल जित्ने मानसिकताले खेल्ने बताएका थिए ।

उनले भनेकै जस्तो नेपालले कुनै पनि खेलमा कमजोर प्रदर्शन गरेन । पराजित भएकै खेलमा पनि सराहनीय प्रदर्शन गरेर सबैको मन जितेको थियो । यस जितको यात्रामा करण केसीको जादुमयी फिनिसिङदेखि आरिफ शेखको संयमित पारी र नन्दन यादवको शानदार डेब्यूदेखि सन्दीप लामिछानेको पुनरागमन बलिङ प्रदर्शनसम्म सारथी बनेका छन् ।

यसअघि घरभन्दा बाहिर त्यति सुदृढ प्रदर्शन गर्न नसकेको नेपाली टोली स्कटल्याण्ड जानुअघि बाहिरी कन्डिशनमा कस्तो खेल्छ भनेर सबैको उत्सुकताको विषय थियो ।

त्यो उत्सुकताको माहोल चिर्दै नेपालले शानदार प्रदर्शन गरेर संघर्षपूर्ण अवस्थाबाट पुनरागमन गर्दै नेपाली क्रिकेटमा अर्को एउटा सुनौलो सुरुवातको संकेत गरेको छ ।

स्तरीय अभ्यासको प्रतिफल

नेपाली टोलीले लिग २ खेल्न स्कटल्याण्ड जानुअघि नेपालमै कोर क्याम्प अभ्यासमा सहभागी भएको थियो भने त्यसपछि इंग्ल्याण्डमा गएर विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलेको थियो ।

यस अभ्यास क्याम्पका दौरान कार्डिफको न्यू पोर्ट टोली, एमसीसी र ग्लामोर्गानसँग एकदिवसीय अभ्यास खेलेको नेपाली टोलीले ग्लोसेस्टरशायरको टोलीसँग टी२० अभ्यास खेल खेल्यो र सबैमा अपराजित रह्यो ।

त्यस्तै स्कटल्याण्ड पुगेर पनि नेपालले स्कटल्याण्डको ए टोलीसँग अभ्यास एकदिवसीय खेल खेलेको थियो जहाँ एक खेलमा पराजित हुँदा एक खेल भने नतिजाविहीन बन्यो ।

संघर्षरत टिमहरूलाई सुधार्दै सफलता दिलाउने प्रशिक्षकका रूपमा चिनिने स्टुअर्ट लले लय समात्न संघर्ष गरिरहेको नेपाली टोलीलाई एउटा नयाँ आयाम दिएर आत्मविश्वासी बनाएका छन् जसको प्रत्यक्ष प्रभाव लिग २ का खेलहरूमा देखिसकिएको छ ।

यी सबै अभ्यासको प्रतिफलका रूपमा हालको लिग २ मा राम्रो नतिजा निस्किएको छ । अभ्यास खेलकै लयलाई नेपालले लिग २ का खेलहरूमा पनि निरन्तरता दिँदै महत्वपूर्ण ६ अंक बटुल्न सफल भयो ।

नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले घरमा गरेको अभ्यासदेखि युके टुरले धेरै नै मद्दत गरेको बताउँछन् । ‘पीएम कप देखि लिएर कोर क्याम्प अनि त्यसपछि लन्डनमा गएर तयारी भयो, यो सबै कुराहरू अनि खेलाडीहरूको अथक मेहनत सबैले गर्दाखेरि यो राम्रो नतिजा आएको छ’ उनले भने ।

मध्यक्रमको ब्याटिङमा सुधार

लिग २ खेल्नुअघिकै अभ्यासका क्रममा पनि नेपाली क्रिकेट टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङ सुधारिएको छनक देखिएको थियो । यसलाई लिग २ को खेलमा पनि निरन्तरता दिनु चुनौतीपूर्ण थियो ।

घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितका बीच नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरेका थिए जसलाई लिग २ का खेलहरूमा पनि ब्याटरले निरन्तरता दिए । विशेषगरी यसअघि ठुलो समस्याका रूपमा रहेको मध्यक्रम ब्याटिङ धेरै संयमित र सुधारिएको देखिएको छ ।

मध्यक्रमको ब्याटिङमा नेपालका लागि आरिफ शेखको प्रदर्शन शानदार रहेको थियो । आरिफसँगै भीम सार्की, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले राम्रो ब्याटिङ गर्दै साझेदारी पनि निर्माण गर्दै खेल चलाइरहे जहाँ लोअर मिडल अर्डर मानिने सोमपाल कामी र फिनिसर करण केसीको पनि साथ रह्यो ।

नेपाली क्रिकेटका पूर्वप्रशिक्षक जगत टमाटाले यो शृंखलामा ब्याटिङमा उत्कृष्ट प्रदर्शन देखिएको उल्लेख गरे । ‘स्कटल्याण्डमा कन्डिशन हाम्रो फेभरमा त्यति हुँदैन तर पनि ब्याटिङ राम्रो भयो, पार्टनरसिप सबैले गरेका छन् । समग्रमा धेरै राम्रो भयो’ उनले भने ।

मध्यक्रमको ब्याटिङमा नेपालका आरिफ शेखले महत्वपूर्ण इनिङहरू खेल्दै नेपालको जितको आधार तय गरेका थिए । यस शृंखलामा नेपालका ३ जितमध्ये २ जितमा उनी म्यान अफ द म्याच भएका थिए ।

आरिफले यस शृंखलामा दुईपटक करियरकै बेस्ट स्कोर बनाए । दोस्रो खेलमा ७८ रन बनाएका उनले चौथो खेलमा त्यो पनि पार गर्दै ८४ रन बनाए । उनले यस शृंखलामा नेपालका लागि सर्वाधिक रन बनाए ।

बलियो टोलीविरुद्ध महत्वपूर्ण जित

नेपाली टोलीले एसोसियटकै बलियो मानिने दुई टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध शानदार प्रदर्शन गर्‍यो । नेपालका लागि लिग २ मा आफ्नो अवस्था सुधार गर्ने मात्र नभएर अवे (घरभन्दा बाहिर) खेलमा बोनस अंक बटुल्न पनि अर्थपूर्ण थियो ।

नेपालले स्कटल्याण्डलाई उसैको मैदानमा हराउँदा स्तरीय टोली नेदरल्याण्ड्सलाई दुवै खेलमा हरायो । यो नेपाली क्रिकेटकै लागि एउटा ठुलो उपलब्धि हो ।

दुई खेलका म्यान अफ द म्याच आरिफले यो जित निकै महत्वपूर्ण भएको बताए । ‘यहाँ हरेक जित हाम्रो लागि उत्तिकै महत्वपूर्ण हुन्छ, एसोसियटकै उत्कृष्ट टिमलाई हराउनु भनेको आफैंमा पनि ठुलो कुरा हो’ उनले भने ।

प्रशिक्षक टमाटाले यो प्रदर्शन विशेष रहेको उल्लेख गर्दै यसले आगामी शृंखलाका लागि मनोबल उच्च हुने बताए । ‘सबैभन्दा ठुलो भनेको नतिजा नै हो । लिग २ कति महत्वपूर्ण छ भन्ने खेलाडीहरूलाई पनि थाहा छ, त्यसमाथि पनि बलियो टोलीलाई नै हराएको छ, अब आगामी दिनमा पनि यही निरन्तरता दिनुपर्छ’ उनले भने ।

प्रवक्ता लामाले समग्र नेपाली टिम र लागि क्यानको लागि पनि यो सुखद पक्ष भएको बताए । ‘लिग २ को बलियो टिमहरु स्कटल्याण्ड र नेदरल्याण्डलाई चाहिँ हामीले अवे सिरिजमा तीनवटा  म्याच जित्नु भनेको चाहिँ नेपाल नेपाली टिमको लागि, नेपालको लागि, क्यानको लागि चाहिँ एकदमै सुखद पक्ष रह्यो’ उनले भने ।

स्टुअर्ट ल को प्रभाव

यसै शृंखलाभन्दा अगाडि नेपाली टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएका थिए । उनले नेपाल आएपछि नेपालका युवा प्रतिभाहरूसँग काम गर्न उत्साहित रहेको बताएका थिए ।

उनले आफूले हार्न नजानेको बताउँँदै नेपालको मुख्य लक्ष्य भनेको फेरि पनि एकपटक विश्वकप खेल्नु रहेको जनाएका थिए । विशेषगरी कमजोर टिमलाई सुधार्दै नयाँ उचाइमा पुर्‍याउने खुबीका लागि परिचित स्टुअर्टले उल्लेखित टिमबाट विभिन्न सफलताहरू हासिल गरेका छन् ।

संघर्षरत टिमहरूलाई सुधार्दै सफलता दिलाउने प्रशिक्षकका रूपमा चिनिने उनले लय समात्न संघर्ष गरिरहेको नेपाली टोलीलाई एउटा नयाँ आयाम दिएर आत्मविश्वासी बनाएका छन् जसको प्रत्यक्ष प्रभाव लिग २ का खेलहरूमा देखिसकिएको छ ।

खेलाडीहरूले पनि प्रशिक्षक लको शैली फरक भएको बताउँदै उनले युवालाई आफ्नै तरिकाले खेल्न छुट दिने गरेको बताएका छन् । आरिफले नेपालको दोस्रो खेलपछि प्रतिक्रिया दिने क्रममा प्रशिक्षक निकै कूल भएकाले सबैले इन्जोए गरिरहेको बताएका थिए ।

क्यानका प्रवक्ता लामाले अनुभवी प्रशिक्षक भएपछि विस्तारै प्रदर्शनमा निखार आउँदै जाने बताए । ‘अब उनले आजको भोलि नै परिवर्तन ल्याउने भन्ने त रहन्न, तर पनि अब धेरै प्लेयर हरुलाई त्यो सबै वातावरणहरू राम्रो, सबै प्लानिङ राम्रो भएर नै छोटो समयमै राम्रो सकारात्मक नतिजा आएको छ’ उनले भने ।

त्यस्तै उनले सहायक प्रशिक्षक ज्ञानेन्द्रको उपस्थिति पनि महत्वपूर्ण रहेको उल्लेख गरे । ‘अब नेसनल टिममै लामो समय खेलेको अनि पूर्वकप्तान, त्यसमाथि पनि साथीभाइ जसरी खेलिसकेको खेलाडी ज्ञानेन्द्र मल्ल सहायक प्रशिक्षकका रूपमा छन्, खेलाडीहरूको बारेमा सबै थाहा भएको हुँदा सबै कुरा मिलेको छ’ उनले थपे ।

अझै सुधारको खोजी

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहँदा ध्यान दिनुपर्ने कुराहरू भने अझै छन् । नेपालको ओपनिङ ब्याटिङसँगै टप अर्डर त्यति सन्तोषजनक देखिएको छैन ।

नेपालले यस शृंखलाका सबै खेलमा सुरुवाती २ विकेट चाँडै नै गुमाएको छ । एक खेलमा मात्र पावरप्लेमा विकेट नगुमाएको नेपाली टोलीले ३ खेलमा पावरप्लेमै १ देखि २ र ३ विकेटसम्म गुमाएको छ ।

मध्यक्रमले ब्याटिङ सम्हालेको भएपनि ओपनिङ र टप अर्डरमा भने केही ध्यान दिन जरुरी छ । त्यस्तै डेथ बलिङमा पनि नेपाल कमजोर देखिएको छ । स्कटल्याण्डसँगको खेलमा नेपालले अन्तिम १० ओभरमा १२२ रन बेहोरेको थियो ।

नेपालले अलराउण्डरका रूपमा टिममा रहेका खेलाडीहरूलाई पनि सदुपयोग गर्न जरुरी छ । गुल्शन झाको भूमिका पनि क्लियर देखिएको थिएन । उनले बलिङ पनि धेरै पाएनन् । उनी घुँडाको समस्याका कारण पनि बलिङ नगरेको कुरा आइरहेका थिए ।

यसअघि पनि नेपालले डेथ ओभरमा लय गुमाउँदा धेरै रन बेहोरेको छ । यी कुराहरूमा काम गर्न सके र सुधार ल्याउन सके नेपाली क्रिकेट टोलीको सुनौलो यात्रामा सुगन्ध पनि थपिनेछ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट स्टुअर्ट ल

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय