News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले जुन पहिलो साता स्कटल्याण्डमा आईसीसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला खेल्नेछ।
- अभ्यासका क्रममा नेपालले बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग खेल्दै राम्रो प्रदर्शन गरेको छ।
- यस अभ्यासले स्कटल्याण्डमा नेपाली टोलीको खेल प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
१४ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो जुन पहिलो साता आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग एकदिवसीय शृंखला खेल्दै छ ।
त्यसअघि नेपाली टोलीले बेलायतमा गएर विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेल्यो । इंग्लिस कन्डिशन बुझेर नेपालले स्कटल्याण्डमा पनि उस्तै कन्डिशनमा खेल्न सहयोग पुग्ने हिसाबले फाइदा देखिएकाले यस अभ्यास खेलहरूलाई महत्वका साथ हेरिएको थियो ।
नेपाली टोलीले सबै अभ्यास खेलहरूमा जित निकाल्दै अभ्यास खेलमा सकारात्मक प्रदर्शन गरेको छ र यसले स्कटल्याण्डमा गएर पनि राम्रो खेल प्रदर्शन गर्ने सम्भावना देखाएको छ ।
नेपाल क्रिकेट संघकै योजनामा स्कटल्याण्डमा लिग २ खेल्नुअघि कन्डिशन बुझ्ने अवसरका लागि युके टुर गरेर अभ्यास गर्ने तालिका क्यालेन्डरमै समावेश थियो ।
अभ्यासमा नेपालको प्रदर्शन
नेपालले यस अभ्यास क्याम्पका दौरान चारवटा फरक टोलीसँग खेलहरू खेलेको थियो । कार्डिफको न्यू पोर्ट टोली, एमसीसी र ग्लामोर्गानसँग एकदिवसीय अभ्यास खेलेको नेपाली टोलीले ग्लोसेस्टरशायरको टोलीसँग टी२० अभ्यास खेल खेल्यो ।
सुरुवाती अभ्यास खेलमा ब्याटिङमा संघर्षका बाबजुद नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले हराएको थियो । उक्त खेलमा आरिफ शेख र गुल्शन झाले टिम संकटमा रहेका बेला शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
त्यस्तै दोस्रो अभ्यास खेलमा नेपालले मेरिलबोन क्रिकेट क्लब (एमसीसी)माथि १२३ रनको फराकिलो जित निकालेको थियो । उक्त खेलमा भीम सार्की र दिपेन्द्रसिंह ऐरीले शतक बनाएर नेपाललाई बलियो योगफलमा पुर्याएका थिए ।
काउन्टी टिम ग्लोसेस्टरशायरको दोस्रो रोजाइको टिमसँग एकैदिन भएका दुवै टी-२० खेलमा जित निकालेको नेपाली टोलीका लागि एकदिवसीयका भरपर्दा ब्याटर आरिफले पनि आक्रामक ब्याटिङ गरेका थिए ।
अन्तिमा एकदिवसीय अभ्यास खेलमा नेपालले ग्लामोर्गानको दोस्रो रोजाइको टिमलाई डिएल पद्दतिमा ५० रनले हरायो । त्यस खेलमा पनि भीम सार्कीले ९२ रन बनाउँदा कप्तान रोहितले अर्धशतक र दिपेन्द्रले ४९ रन बनाएका थिए ।
बलिङमा पनि नेपाली बलरहरूले राम्रो प्रदर्शन गरेका छन् । कुशल भुर्तेलले तीन एकदिवसीय अभ्यास खेलमा कुल ९ विकेट लिए । सोमपाल कामीले ३ खेलमा ५ विकेट लिए । नन्दन यादवले ४ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, बसिर अहमदले पनि विकेट लिएका छन् ।
समग्रमा हेर्दा काउन्टीका क्लबको दोस्रो रोजाइका टिमविरुद्ध गरेको यो प्रदर्शन र लयलाई निरन्तरता दिन थप केही मेहेनत गरे नेपाली टोलीले अब हुने खेलमा पनि राम्रो नतिजा निकाल्न सक्छ ।
ब्याटिङमा सुधार
नेपाली क्रिकेट टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङ यस अभ्यास खेलमा राम्रो देखिएको छ । घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितका बीच नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरे ।
कार्डिफसँगको पहिलो अभ्यास खेलमा १८-५ को अवस्थामा पुगेर पनि खेल जितेको नेपाली टोलीले त्यसपछिका खेलमा भने ब्याटिङमा संघर्ष गर्नुपरेन । साझेदारीहरू बनाउँदै नेपाली ब्याटरहरूले राम्रो योगफल खडा गरेर खेल जितेका थिए ।
नेपालका लागि मिडल अर्डरमा कप्तान रोहित पौडेल, आरिफ शेख, भीम सार्की र दिपेन्द्रसिंह ऐरीले अभ्यासमा राम्रो गरेका छन् । ओपनरबाट अझै स्तरीय प्रदर्शनसहित यो लयलाई अब स्कटल्याण्डमा पनि निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ ।
क्रिकेटर शरद भेषावकरले अभ्यास खेल भएतापनि यसमा गरेको ब्याटिङ प्रदर्शनले साँच्चै नै सकारात्मक पक्ष भएको बताए । ‘समग्रमा हेर्दा यो राम्रो तयारी भएको छ, जुन स्कटल्याण्डको कन्डिशन छ त्यस अनुसार खेल्न यस अभ्यासले राम्रो तयारी गराएको छ खेलाडीहरूलाई’ उनले भने ।
त्यस्तै क्यानका प्रवक्ता छुम्बी लामाले पनि यो अभ्यास गराउनुको मुख्य उद्देश्य भनेको राम्रो खेल्नका लागि नै भएको उल्लेख गर्दै जित्ने मात्रै भन्दा पनि खेलको स्तर सुधार गर्दै लैजानका लागि नै यसरी कन्डिशन मिल्ने ठाउँमा अभ्यास खेलको व्यवस्था गरेको बताए ।
लिग २ का लागि सहयोग
जुनको पहिलो सातादेखि स्कटल्याण्डमा विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपालबीचको एकदिवसीय शृंखला हुँदैछ । यस शृंखला नेपालका लागि महत्वपूर्ण रहेको छ ।
विशेषगरी लिग २ को अंकतालिकामा हाल पुछारमा रहेकाले नेपाललाई अवे खेलहरूमा सक्दो जित निकाल्नु प्लस पोइन्ट हुनेछ ।
त्यसै लिग २ को शृंखलाअघि भएको यस अभ्यासले खेलाडीहरूलाई स्कटल्याण्डको कठिन पिचमा खेल्न अभ्यस्त गराएको छ । त्यसले गर्दा नेपालले लिग २ को यस शृंखलामा केही अंक हासिल गरेर फर्कन सक्छ ।
भेषावकरले पनि अभ्यास खेलमा देखाएको लयले लिग २ मा राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए । उनले अंकतालिका हेर्नुभन्दा पनि राम्रो खेल प्रदर्शन गर्न सकेमा राम्रो नतिजा अवश्य निस्कने बताए ।
क्यानका प्रवक्ता लामाले पनि लिग २ को अब हुने खेल महत्वपूर्ण रहेको बताउँदै यस अभ्यासले उक्त महत्वपूर्ण खेलमा राम्रो नतिजा निकाल्नेगरी खेलाडी तथा टिमलाई धेरै सहयोग पुगेको उल्लेख गरे ।
***
बेलायतबाट स्कटल्याण्ड पुगिसकेको नेपालले लिग २ अघि स्कटल्याण्डको ए टोलीसँग थप २ अभ्यास एकदिवसीय खेल खेल्ने छ ।
त्यसपछि लिग २ शृंखला सुरु हुनेछ । नेपालले जुन २ मा स्कटल्याण्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने छ ।
त्यस्तै जुन ८ मा पुन: स्कटल्याण्डसँग तथा जुन १० मा नेदरल्याण्ड्ससँग खेल्ने छ । हाल नेपाल ८ टोलीमध्ये पुछारमा छ ।
प्रतिक्रिया 4