News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले सन् २०१४ देखि टी-२०आई खेल्दै १०० खेल पूरा गर्यो, जुन विश्व क्रिकेटमा एउटा महत्वपूर्ण उपलब्धि हो।
- खेलमा तीनपटक सुपर ओभर हुँदा इतिहासमा पहिलो पटक यस्तो भयो, जसले खेललाई विशेष बनाएको छ।
- १०० खेलमा नेपालले ५६ जित र ४० हार व्यहोरेको छ।
३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले सोमबार नेदरल्याण्ड्ससँग खेल्दै आफ्नो १००औं टी–२०आई खेल पूरा गर्यो ।
सन् २०१४ देखि टी-२०आई मान्यतामा खेल्न थालेको नेपालले त्यसयता ११ वर्षको अन्तरालमा विभिन्न उत्तारचढावका बीच १०० वटा टी-२०आई खेल पूरा गरेको हो ।
कुनैपनि देशका लागि १०० खेलको कोशेढुंगा पूरा गर्नु आफैंमा एउटा उपलब्धि हो । त्यस उपलब्धिका बीचमा जब खेल इतिहाससँग पनि जोडिन्छ, तब यो कहिल्यै बिर्सन नसकिने क्षणका रूपमा सदाका लागि रहिरहन्छ ।
नेपालले १०० टी-२०आई खेलको कोशेढुंगा पार गर्दै गर्दा यस खेलमा एउटा ऐतिहासिक कीर्तिमान बन्यो- एकै खेलमा तीनपटकसम्म सुपर ओभर हुनु । यसअघि विश्व क्रिकेटमा कहिलेपनि तीनवटा सुपर ओभर भएको छैन ।
१००औं टी-२० खेलमा जित हासिल गर्न नसकेपनि यो खेल विश्वले लामो समयसम्म सम्झिरहने खेलका रूपमा इतिहासको पानामा लेखिएको छ । भविष्यमा अब यसरी ३ सुपर ओभर हुने सम्भावना कमै रहन्छ ।
दुर्लभ सुपर ओभर
विश्व क्रिकेटमा यसअघि कहिल्यै पनि तीनपटकसम्म सुपर ओभर भएको छैन । दुई वटा सुपर ओभर पनि एकचोटि मात्र भएको छ । एकपटकको सुपर ओभर भने कैयन् भएका छन् ।
भारत र अफगानिस्तानबीच सन् २०२४ मा भएको टी-२०आई खेल बराबरी भएपछि सुपर ओभरमा धकेलिएको थियो जहाँ पहिलो सुपर ओभर बराबर भएपनि भारतले दोस्रो सुपर ओभरमा बाजी मारेको थियो ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा भने दुर्लभ कीर्तिमान बनिछाड्यो । नेपालले खेल्ने गरेका अधिकांश खेल रोमाञ्चक हुने गर्छ । रोमाञ्चकताको हद यसपटक तीन सुपर ओभरसम्मै पुग्यो ।
निर्धारित २० ओभरमा नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेटको क्षतिमा १५२ रन मात्रै जोड्न सकेपछि खेल बराबरीमा टुंगिएर सुपर ओभरमा गएको थियो ।
अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादवले मिलेर १५ रन जोड्दै खेल बराबरी गराए । अन्तिम बलमा ५ रन आवश्यक हुँदा नन्दनले चौका प्रहार गरेपछि खेल सुपर ओभरमा गएको थियो जुन् लम्बिएर तेस्रो सुपर ओभरसम्मै पुगेको थियो ।
पहिलो सुपर ओभरमा सुरुमा ब्याटिङ गर्दै नेपालले १९ रन बनायो । रोहित पौडेल र कुशल भुर्तेल ब्याटिङमा आएका थिए जहाँ रोहितले पहिलो बलमा १ रन लिएपछि भुर्तेलले एक छक्का र एक चौका प्रहार गरे । त्यसपछि २ रन लिएका भुर्तेलले फेरि छक्का प्रहार गर्दा अन्तिम बलमा क्याचआउट भए ।
जवाफमा नेदरल्याण्ड्सका माइकल लेभिटले करण केसीलाई पहिलो बलमै छक्का प्रहार गर्दा दोस्रो बल डट र तेस्रो बलमा बाइको १ रन लिए । त्यसपछि म्याक्स ओ डाउडले छक्का प्रहार गरेपछि २ बलमा ७ रन आवश्यक भयो । त्यसपछि २ रन र अन्तिम बलमा चौका प्रहार गरेपछि फेरि बराबर भएको थियो ।
दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले १७ रन बनायो । कप्तान स्कट एडवार्ड्सले पहिलो बलमा छक्का, दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा ओ डाउडले छक्का प्रहार गरे । त्यसपछि एक बल वाइड भयो भने त्यसपछि ओडाउडले १ रन दिएर कप्तानलाई स्ट्राइक दिए । एडवार्ड्सले २ रन लिएर अन्तिम बलमा क्याचआउट भए ।
जवाफमा नेपालका लागि कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गरे । त्यसपछि १ रन लिएर दिपेन्द्रसिंह ऐरीलाई स्ट्राइक दिए । दिपेन्द्रले तेस्रो बलमा चौका प्रहार गरेपछि २ बल डट खेले । अन्तिम बलमा छक्का प्रहार गरेपछि फेरि स्कोर बराबरीमा सकियो ।
तेस्रो सुपर ओभरमा भने नेपाल पूर्णतः धराशायी भयो। पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने त्यसपछि पठाइएका रुपेश सिंहले दुई बल डट खेलेर चौथो बलमा आउट भए। नेपालले रन नै बनाउन नसकेपछि नेदरल्याण्ड्सले १ रनको लक्ष्य पाउँदा पहिलो बलमै छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पार्यो।
टी-२०आईमा १०० खेल पूरा
नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपबाट टी–२०आई यात्रा सुरु गरेको थियो। हङकङसँग पहिलो खेल जितेको नेपालको त्यसपछिको यात्रा पछिल्लो एक दशकमा उल्लेखनीय रूपमा अघि बढेको छ।
१०० टी–२०आई खेलको अवधिमा नेपालले ५५ जित र ४० हार व्यहोरेको छ। दुई खेल बराबरीमा टुंगिएको छ भने तीन खेल नतिजाविहीन रहेका छन्।
२०१४ को पहिलो खेलमा रहेका खेलाडीमध्ये सोमपाल कामी अहिले पनि टोलीमा नियमित रूपमा रहँदै आएका छन्। यद्यपी चोटका कारण उनी हालको श्रृंखलामा अनुपस्थित छन्।
टी-२०आईमा १०० खेल पूरा गर्ने नेपाल आठौं एसोसियट टोली हो भने समग्रमा २०औं हो । एसोसियटबाट नेपालभन्दा अगाडि यूएई, नेदरल्याण्ड्स, हङकङ, युगाण्डा, केन्या र मलेसियाले १०० खेल पूरा गरिसकेका छन् ।
एसोसियटमा सबैभन्दा धेरै (समाचार तयार पार्दासम्म) यूएईले हालसम्म १२१ टी-२०आई खेलेको छ ।
नेपालका लागि टी-२०आईमा सबैभन्दा धेरै रन दिपेन्द्रसिंह ऐरीले बनाएका छन्, जसले ७८ खेलमा १७५९ रन पुर्याएका छन्। कुशल भुर्तेलले ५८ खेलमा १४५४ रन, कप्तान रोहित पौडेलले १४०६ रन र आसिफ शेखले १३५४ रन बनाएका छन्।
बलिङतर्फ सन्दीप लामिछाने १११ विकेटसहित अग्रपंक्तिमा छन् भने करण केसी ९९ विकेटमा छन्। नेपालले अहिलेसम्म टी–२०आईमा बनाएको उच्च योगफल ३१४ रन हो, जुन सन् २०२३ मा एसियन गेम्सअन्तर्गत मङ्गोलियाविरुद्ध बनाएको थियो। सोही खेलमा कुशल मल्लले १३७ रन बनाएर नेपाली टी–२० इतिहासकै उच्च व्यक्तिगत स्कोर बनाएका थिए।
नेपालका लागि पाँच ब्याटरले अहिलेसम्म शतक बनाइसकेका छन्। पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध पहिलो शतक बनाएका थिए। त्यसपछि कुशल भुर्तेलले फिलिपिन्स, कुशल मल्लले मङ्गोलिया, दिपेन्द्रले मलेसिया र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शतक बनाएका थिए। नेपाली क्रिकेटको सबैभन्दा खराब टी–२०आई प्रदर्शन २०१५ मा आयरल्यान्डविरुद्ध ५३ रनमा समेटिएको थियो।
दिपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाएका छन् जुन रेकर्ड केवल बराबरी हुन सक्छ । दिपेन्द्रले एकै ओभरमा ६ छक्का पनि प्रहार गरेका छन् ।
दुई खेलाडीको डेब्यू
नेपालका लागि यस खेलमा दुई खेलाडीले डेब्यूको मौका पाए । डेब्यूमै उनीहरू एक रोमाञ्चक अनि कीर्तिमानी खेलको हिस्सा हुन पाएका थिए ।
ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले नेपालका लागि टी-२०आईमा डेब्यू गरे । यद्यपी दुवैको प्रदर्शन भने औसत रह्यो । किरणले ब्याटिङमा २५ बलमा १५ रनको सुस्त पारी खेले ।
रुपेशले ३ ओभर बलिङ गर्दा ३१ रन दिएर विकेट लिन सकेनन् । यता ब्याटिङमा भने एक चौका र एक छक्कासहित १४ बलमा १९ रन बनाए ।
यी प्रदर्शनका बाबजुद प्रशिक्षक स्टुअर्ट लले दुवै खेलाडीलाई आफूलाई प्रमाणित गर्नका लागि यसै शृंखलामा अझै मौका दिन सक्छन् ।
***
तीन सुपर ओभरसम्म पुर्याएर अन्तिममा हार बेहोर्नुपरे पनि यो खेल नेपाली क्रिकेटका लागि गौरवको विषय बन्यो। जित हात नपरे पनि नेपालको लडाइँ र सम्भावनाले समर्थकहरूलाई पनि गर्व दिलाएको छ।
ऐतिहासिक १००औं टी-२०आई खेल एक दुर्लभ रोमाञ्चका साथ अन्त्य भयो, जुन नेपाल क्रिकेट मात्र नभएर विश्व क्रिकेटकै इतिहासमा सुनौलो अक्षरले लेखिएको छ।
प्रतिक्रिया 4