+
+
Shares

नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु

लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारीसाधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याउँदै लागु गरेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार ११ गते २१:४४
पोखराका सडकमा धुवाँको मुस्लो फाल्दै गुडेका हरिया रङका बसहरू ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ लागु गरी यूरो-६ मापदण्डलाई स्वीकृति दिएको छ।
  • मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरी नयाँ सवारीलाई मात्र लागु हुने जनाएको छ।
  • यूरो-६ मापदण्डले उत्सर्जन सीमा र परीक्षण विधिहरू निर्धारण गरेको छ।

११ असार, काठमाडौं । नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु भएको छ । लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याउँदै लागु गरेको हो ।

वन तथा वातावरण मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । यस मापदण्डअनुसार अब दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको हकमा यूरो-५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा यूरो-६ मापदण्ड बमोजिमको परीक्षण विधि मान्य हुनेछ ।

नेपालमा २०६९ सालयता नै यूरो-३ मापदण्ड कायम छ । यसले वातावरणीय प्रदूषण बढाएको भन्दै यूरो-६ लागू गर्न माग भइरहेको थियो । यूरो-३ मापदण्ड ल्याउँदा २ वर्षपछि (२०७१ सालमै) यूरो-४ मा जाने सोच राखिएको थियो । तर त्यसयता निरन्तर यूरो-३ नै कायम राखिएको थियो । यूरो-५ का हकमा भने ३५० केजीसम्म तौल भएका हलुका चार पाङ्ग्रे सवारी साधनमा लागु हुने भनिएको थियो ।

न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो-६ मापदण्ड लागु भएको मन्त्रालयले बताएको छ ।

युरो-६ लागु हुने चार पाङ्ग्रेमा भने साना यात्रुबाहक सवारी साधन (चालक बाहेक ८ यात्रु सिट क्षमता भएका), मझौला यात्रुबाहक सवारी साधन (८ सिटभन्दा बढी क्षमता) र ठूला यात्रुबाहक सबै सवारी साधनको हकमा लागु भएको छ ।

उता, न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो-६ मापदण्ड लागु भएको मन्त्रालयले जानकारी दिएको छ । सवारी साधन उत्पादन हुने अन्य कुनै देशमा प्रचलनमा रहेको यस मापदण्ड सरहको प्रदूषण मापदण्ड र यस मापदण्डबीच भिन्नता देखिएमा सवारी साधनबाट हुने उत्सर्जनमा रहने प्रदूषण कारक तत्वको अधिकतम सीमा सम्बन्धमा नयाँ मापदण्डमा तोकिएका सीमा मान्य हुने समेत प्रदूषण मापदण्डमा उल्लेख छ ।

मन्त्रालयका अनुसार युरोपका लागि संयुक्त राष्ट्रसंघीय वित्त आयोगबाट सिफारिस भएको समानस्तरको परीक्षण विधिलाई यस मापदण्डको परिपालनासम्बन्धी परीक्षण प्रयोजनमा मान्यता दिइने भएको छ । उत्पादक राष्ट्रमा मान्यता दिई अभ्यासमा रहेका र सम्बन्धित यूरो मापदण्ड सरहका वा तुलनायोग्य विधि समेत यस मापदण्डको परिपालनासम्बन्धी परीक्षण प्रयोजनमा मान्य हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

नयाँ मापदण्डमा पहिलो चरणको परीक्षणअन्तर्गत सवारी साधनका उत्सर्जन हुने कार्बन मोनो अक्साइड, हाइड्रो कार्बन, गैरमिथेन हाइड्रो कार्बन, नाइट्रोजन अक्साइडको मात्रा, कणजन्य पदार्थको मात्रा र कण संख्याको मात्राका सम्बन्धमा अधिकतम सीमा समेत तोकेर राजपत्रमा सार्वजनिक गरिएको छ ।

नयाँ मापदण्ड नयाँ आयात हुने सवारी साधनको हकमा मात्र लागु हुने भएको छ । राजपत्रमा मापदण्ड सवारी साधन भएको मितिसम्म प्रतीतपत्र वा बैंकको माध्यमबाट गरिसकिएको भुक्तानीबमोजिम आयात हुने सवारी साधनको हकमा लागु हुने छैन ।

मापदण्डअनुसार कुल वजन ३ सय किलोग्रामभन्दा बढी भएका सवारी साधनको परीक्षण इन्जिन डाइनामोमिटरमा गरिने भएको छ । दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे लघु सवारी साधनको लागि च्यासिस डाइनामोमिटरमा गरिने भएको छ । दोस्रो प्रकारको परीक्षणमा प्रदूषण कारक पदार्थ र सूचकको अधिकतम सीमा समेत सोही राजपत्रमा सार्वजनिक गरिएको छ ।

यसबाहेक जडित सवारी साधनको इन्जिनबाट हुने उत्सर्जन, वाष्पिक उत्सर्जनको अधिकतम सीमा समेत परीक्षण हुनेछ । साथै प्रदूषण नियन्त्रण उपकरणको टिकाउपनको समेत परीक्षणको मापदण्ड सार्वजनिक गरिएको छ । नयाँ मापदण्ड आएसँगै नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०६९ खारेज भएको छ ।

नयाँ मापदण्ड नयाँ सवारीको हकमा मात्र

नयाँ मापदण्ड नयाँ आयात हुने सवारी साधनको हकमा मात्र लागु हुने भएको छ । राजपत्रमा मापदण्ड सवारी साधन भएको मितिसम्म प्रतीतपत्र वा बैंकको माध्यमबाट गरिसकिएको भुक्तानीबमोजिम आयात हुने सवारी साधनको हकमा लागु हुने छैन । अहिले चलिरहेका सवारी साधनको हकमा समेत पुरानै मापदण्ड कायम रहनेछ ।

नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन एसेम्बल र उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी बनेका सवारी साधनको हकमा भने २०६९ सालकै प्रदूषण मापदण्ड लागु हुने समेत व्यवस्था मिलाइएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?