
१२ असार, काठमाडौं । आगामी भदौ तेस्रो साता तय भएको विधान महाधिवेशनबारे निर्णय लिन बुधबार नेकपा एमालेको सचिवालय बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनको मस्यौदा लेखनको जिम्मेवारी बाँडफाँड सहित अरु तयारीबारे निर्णय लियो ।
सचिवालय बैठकको मूल एजेण्डा यही नै थियो । यसबाहेक बैठकले सरकारको वर्षदिने समीक्षा र समसामयिक राजनीतिक–सामाजिक निर्णयहरू गर्यो । यी सबै निर्णय पूर्वनिर्धारित थियो, योजनामै भएको थियो ।
तर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणी चाहिँ छलफलको एजेण्डामा थिएन । ओलीले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन खोजिरहेको कुरा उठाएका थिए ।
‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’ ओलीले भने, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन । आउन सक्नु हुन्छ ।’
तर फलानो पद (अध्यक्ष) मै आउँछु भन्ने कुरा महाधिवेशनको प्रक्रिया मार्फत् हुने ओलीले बताए । बैठक स्रोतका अनुसार ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे गरेको टिप्पणीमा अरु नेताले थप कुरा राखेनन् ।
‘पूर्वराष्ट्रपति एमालेको राजनीतिमा आउनु हुन्न, मैले नै अर्को कार्यकाल पनि चलाउँछु भन्ने अध्यक्षको मनसाय सबै नेताले बुझेकै छन्, त्यसैले पनि कसैले यसबारे थप कुरा राखेनन्’, बैठकमा सहभागी एक पदाधिकारी भन्छन् ।
ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले यो सचिवालय बैठकमा मात्र नभएर पार्टी नेताहरूसँगको हरेकजसो सम्वादमा पूर्वराष्ट्रपति भण्डारीको प्रसंग उठाउने गरेका छन् । ‘भेट्न आउने नेता–कार्यकर्ताहरूसँग अध्यक्षले पूर्वराष्ट्रपतिको कुरा नियमित जसो उठाउने गर्नुहुन्छ,’ ती पदाधिकारी भन्छन् ।
प्रधानमन्त्री ओलीले आन्तरिक संवादमा मात्र नभएर सार्वजनिक रुपमै पनि पूर्वराष्ट्रपति भण्डारीप्रति टिप्पणी गरिरहेका छन् । आफूले पार्टी नेतृत्व छोड्ने बेला नभएको सन्देश पूर्वराष्ट्रपति भण्डारीलाई सार्वजनिक रुपमै ओलीले दिइरहेका छन् ।
तर पूर्वराष्ट्रपति भण्डारीको सक्रियता पनि बढिरहेको छ । एमाले नेताहरूको नेतृत्व गर्दै चीन भ्रमण गरे लगत्तै पूर्वराष्ट्रपति भण्डारीले कोशी प्रदेशको भ्रमण गरिन् । ओेलीकै गृहजिल्ला झापामा आयोजित एमालेकै पार्टी कार्यक्रममा प्रमुख अतिथि बनिन् ।
उनी निकट नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको गतिविधिलाई एमालेको नेतृत्वमा आउने अभ्यासका रुपमा प्रचार गरिरहेका छन् । यस्तैमा गत ३ असारमा पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् । पूर्वराष्ट्रति भण्डारीले बालुवाटार जानुलाई चासोपूर्ण रुपमा हेरिएको छ ।
यसरी एमालेभित्र प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बहसको बलियो फ्याक्टर बनिरहँदा १४ असारको चर्चा चासोमा देखिन्छ । त्यसदिन मदन भण्डारीको ७४औं जन्मजयन्ती हो ।
एमालेका तत्कालीन महासचिव मदनको जन्मजयन्ती मदन भण्डारी फाउण्डेसनको ब्यानरमा मनाइने गरेको छ । ३ जेठको स्मृति सभा पार्टीले गर्ने र जन्मजयन्ती फाउण्डेसनले गर्ने एकप्रकारको परम्परा नै बनिसकेको छ । अघिल्ला वर्षहरूमा स्मृतिसभा र जन्मजयन्ती यसरी नै मनाइँदै आएको हो ।
तर यसपटक मदन जयन्ती नियमित प्रक्रियाका रुपमा मात्र सीमित नहुने प्रचार गरिँदैछ । तयारी अभ्यास पनि त्यही अनुसार भइरहेको देखिन्छ ।
मदन जयन्तीको आयोजक मदन भण्डारी फाउण्डेसन भएपनि एमालेभित्र विकसित शक्ति–संघर्षका आधारमा तयारी चलिरहेको छ । ४ असारमा जनसंगठन संयन्त्रको बैठक राखेर जनसंगठनका नेताहरूलाई संस्थागत निर्णय बिनाको गतिविधिहरूमा सामेल नहुन जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले निर्देशन दिए ।
जबकि यसको दुई दिनपछि पूर्वराष्ट्रपति भण्डारीले तिनै जनसंगठनका प्रमुखहरूसँग छलफल राखेका थिए । मदन जयन्तीको तयारी केन्द्रित कुराकानी गर्न भण्डारीले जनसंगठनका नेताहरू बोलाएका थिए । तर पार्टीको निर्देशन आएपछि पूर्वराष्ट्रपति भण्डारीले बोलाएको भेलामा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, प्रेस चौतारी नेपाल लगायतका प्रमुखहरू गएनन् ।
यी जनसंगठनहरूमा पार्टी संस्थापन पक्षका उम्मेदवारले जितेका छन् । र उनीहरू पूर्वराष्ट्रपतिले बोलाएको छलफलमै गएनन् । यसलाई भण्डारी निकट नेताहरूले पार्टी संस्थापनको योजनाका रुपमा अर्थ्याएका छन् ।
‘पार्टी अध्यक्षको अभिव्यक्तिहरू, उहाँ निकटकाहरूले गरिरहेको व्यवहार सबै हामीले हेरिरहेका छौं’ भण्डारी निकट एक नेता भन्छन्, ‘तर हाम्रो तयारी रोकिँदैन ।’
ती नेताका अनुसार, मदन जयन्तीकै अवसरमा पूर्वराष्ट्रपति भण्डारीले प्रष्ट सन्देश दिने तयारी छ । ‘त्यसैदिन उहाँले (विद्या भण्डारी) सक्रिय राजनीतिमा आउने घोषणा गर्नुहुनेछ’, उनी भन्छन् ।
प्रतिक्रिया 4