
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता जीवन लुइँटेल १० वर्षपछि नेपाल फर्किएर ‘शिरिषको फूल’ नाटकमा अभिनय गर्नेछन्।
- नाटक साउन १ गतेदेखि मञ्चन हुनेछ र लुइँटेलले सुयोगवीरको भूमिका निभाउनेछन्।
- उनी पछिल्लो पटक २०१८ मा रिलिज भएको फिल्म ‘सुकुल गुण्डा’ मा देखिएका थिए।
काठमाडौं । अमेरिका गएको १० वर्षपछि चर्चित अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने पक्का भएको छ । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा उनले अभिनय गर्नेछन् ।
साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदैछ । नाटकको प्रमुख पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्नेछन् ।
थिएटर प्रमुख प्रकाश पुरीका अनुसार यो नाटककै लागि लुइँटेल आगामी साता नेपाल आउँदैछन् । फिल्म करिअरको उत्कर्षमा रहेको बेला लुइँटेल दशकअघि अमेरिका हानिएका थिए ।
नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा अभिनय गर्ने कलाकारबारे कान्तिपुर थिएटरले केही खुलाएको छैन । यो नाटकको लेखन तथा निर्देशन थिएटरकै विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन् ।
‘जीवनजी राम्रो प्लाटफर्मबाट अभिनयमा फर्किन खोजिरहनुभएको थियो । हामीलाई पनि साहित्य र अभिनयमा दखल भएको अभिनेता चाहिएको थियो । पात्रमा पनि सुहाउने कारणले उहाँलाई लिएका हौं’ पुरीले अनलाइनखबरसँग भने ।
दर्शकले बिर्सन आँटेको बेला रंगमंचमा जीवनलाई देख्दा दर्शक उत्साहित पनि पुरीले बताए । ‘उहाँको कमब्याकको लागि यो राम्रो प्लाटफर्म हो भन्ने लाग्छ’ उनले भने । गत महिना रेखा थापालाई शीर्ष भूमिकामा लिएर कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘मीरा’ले निकै चर्चा पाएको थियो ।
लुइँटेलको कुरा गर्दा, उनको पछिल्लो फिल्म ‘सुकुल गुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो । सन् २००८ देखि घरेलु फिल्ममा डेब्यु गरेका उनी दुई दशक फिल्म क्षेत्रमा सक्रिय रहे ।
उनी पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया 4