
१७ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको बताए ।
‘प्रतिनिधि सभामा पुगेर पास गर्दा बीचमा तोडमोड भएको सबैभन्दा हट डिभेट भएको विषयलाई नै उल्ट्याइएको फरक ढंगले प्रस्तुत गरिएको विषय अत्यन्त गम्भीर छ,’ महामन्त्री शर्माले भने, ‘नेपालको संसदीय अभ्यासमा हेर्दा २०४६ पछि हेर्दा समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने पहिलो पटक हो । यो गम्भीर छ ।’
यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरे ।
‘यो अक्षम्य गल्तीको छानबिन गरेर दोषीलाई कारबाही नै गर्नुपर्छ । प्रतिनिधि सभाको सभामुखज्यूले यसबारेमा गम्भीरतापूर्वक छानबिन गराएर जो दोषी हुनुहुन्छ, कारबाही गर्नुपर्छ । राष्ट्रिय सभाले सच्याउनुपर्छ, सच्याउनसक्छ,’ उनले भने ।
महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।
प्रतिक्रिया 4