 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- गत असोजको बाढीपहिरोले काभ्रेको कृषि क्षेत्रमा करिब एक अर्बको क्षति पुर्याएको थियो।
- सरकारले ३५९ कृषकलाई मात्र ७७ लाख राहत सिफारिस गरेको छ।
- कृषि र पशु सेवा कार्यालयकै तथ्यांकअनुसार पनि कृषकले कम राहत पाउँदैछन् ।
२० असार, काभ्रेपलाञ्चोक । गत असोजको बाढीपहिरोबाट काभ्रेको कृषि क्षेत्र तहसनहस भएको थियो । करिब चार सय किसान प्रत्यक्ष प्रभावित भएको बाढीपहिरोले झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । नौ महिनापछि सरकारले तीन सय ५९ किसानलाई करिब ७७ लाख बराबरको राहत उपलब्ध गराउने तयारी गरेको छ ।
कृषि र पशु सेवा कार्यालयको तथ्यांकअनुसार कृषि र पशुपालनमा ९० करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको क्षति भएको थियो । ठूलो क्षतिपछि सरकारले प्रभावित परिवारलाई राहतका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका तीन सय ५९ जना कृषकलाई केवल ७७ लाख ७९ हजार पाँच सय ७० रुपैयाँबराबरको राहत रकम सिफारिस भएको हो ।
जिल्लाका विभिन्न पालिकाका ३ सय ५९ जना कृषकहरूलाई रहत प्रदान गर्न सिफरिस भएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । कृषि विकास कार्यालयका अनुसार ३ सय ५९ किसानका तीन हजार एक सय ४० रोपनी क्षेत्रफलमा लगाइएको खाद्यान्न, तरकारी र फलफूल तथा एक हजार ३ सय ८० बर्गमिटर बराबर क्षति भएको टनेलाको लागि ७७ लाख ७९ हजार ५ सय ७० रुपैया बराबरको रकम कृषकहरूलाई उनीहरूकै खातामा जानेगरी सिफारिस भएको हो ।
‘संकलन भएका कृषकका निवेदनहरू प्रदेश मन्त्रालयमा पठाएका छौं,’ कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले भने, ‘प्रदेश सरकारले दिने राहत सिधै कृषकहरूको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । यो प्रकृयाले कृषकले पाउने अनुदान दुरुपयोग हुने छैन ।’
सिफारिस निवेदनका तीन सय ५९ कृषक परिवारका दुई हजार ३० रोपनी क्षेत्रफलमा लगाइएका खाद्यान्न बाली, ४ सय ५ रोपनी क्षेत्रमा फलेका तरकारी, ७ सय ५ रोपनी क्षेत्रमा लगाइएको फलफूल नष्ट भएको दावी छ । त्यस्तै, एक हजार तीन सय ८० वर्गमिटर टनेलामा क्षति पुगेका कृषकहरूलाई राहतको लागि सिफारिस भएको छ ।

कृषकहरूले खाद्यान्न बाली क्षति भएको अवस्थामा प्रति रोपनी एक हजार ५ सय, तरकारी बालीमा क्षति पुगेको अवस्थामा प्रति रोपनी दुई हजार ५ सय र फलफूल खेतीमा क्षति भएकोमा प्रति रोपनी पाँच हजार रुपैयाँ राहत पाउने छन् भने टनेलमा क्षति पुगेमा एक सय ४० रुपैयाँ प्रति वर्गमिटर राहत रकम पाउने छन् ।
तीन सय ६९ कृषकको आवेदन परे पनि १० जना कृषकहरूले पेश गरेका कागजात पुष्टि हुने आधार नभएकाले पुन: निरीक्षण गरेर मात्र सिफारिस गर्ने तयारी भएको छनोट समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले जानकारी दिए ।
कृषकहरूले क्षति भएको स्थानको तस्वीर, क्षतिको विवरण, प्रहरी प्रतिवेदनसहित वडाको सिफारिस, स्थानीय तहको कृषि शाखाको प्राविधिक प्रतिवेदन, निवेदन तथा जग्गाको लालपुर्जाको प्रमाणपत्रको कपि साथमा राखेर कागजात पेश गरिसकेपछि पेश गरेका कागजात पुष्टि हुने आधार नभए पुन: निरीक्षण गरेर मात्र सिफारिस गरिएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले जानकारी दिए । उनका अनुसार जिल्लाबाट पठाएको निर्णय बागमती प्रदेशमा कृषि मन्त्रीको अध्यक्षतामा बैठक बसेर अनुमोदन गरेपछि सबै कृषकका खातामा रकम जानेछ ।
त्यस्तै, पशुसेवा कार्यालयले पनि असोजमा परेको अविरल वर्षा पछि आएको बाढी र पहिरोमा क्षति पुगेका पशुपालन गर्ने कृषकहरूलाई पनि राहतको लागि कागजपत्रहरू संकलन गरिरहेको छ । कार्यालय प्रमुख स्रिजा वाग्लेका अनुसार अहिलेसम्म ६५ वटा आवेदन संकलन भइसकेको र केही संकलनमा रहेकोले एक–डेढ सातामा प्रदेश मन्त्रालयमा सिफारिस गर्ने जानकारी दिइन् । उनका अनुसार बाढीपहिरोमा परेर झण्डै २२ सय पशु चौपायामा क्षति पुगेको थियो ।
गत असोजमा आएको बाढीपहिरोले काभ्रेमा कृषि क्षेत्रमा मात्रै झन्डै एक अर्ब बराबरको क्षति भएको थियो । कृषि विकास कार्यालय र पशु सेवा कार्यालय काभ्रेको तथ्यांकअनुसार ९० करोड २७ लाख ८१ हजार बराबरको क्षति भएको छ । खाद्यान्न तथा तरकारी बालीमा मात्रै ५६ करोड ६१ लाख र पशुपालनतर्फ ३३ करोड ६६ लाख ८१ हजार बराबरको क्षति भएको तथ्याङक छ । तर, आवेदन माग भएर आएका कृषकहरूले ७७ लाख ७९ हजार ५ सय ७० रुपैयाँबराबरको राहत रकम पाउने भएका छन् ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीको संयोजकत्वमा बनेको समितिले तयार पारेको विवरण अनुसार तरकारी बालीमा ४५ करोड दुई लाख, धान बालीमा ७ करोड ३८ लाख र मकै बालीमा तीन करोड ४३ लाख गरेर काभ्रेका १३ पालिकामा ५६ करोड ६१ लाख बराबरको बाली नोक्सान भएको थियो ।
यस्तै, पशु सेवा कार्यालयका अनुसार दुई हजार ६६३ पशु, १५ हजार चार सय ९५ पंक्षी, ३२ लाख लिटर दूध गरी ३३ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको क्षति पुगेको थियो । पशु सेवा कार्यालयका अनुसार सबैभन्दा धेरै २४ करोड बराबरको दूधमा, दुई करोड पाँच लाखका दुहुना गाई, तीन करोड ९३ लाखका भैंसी, एक करोड ५४ लाख ९५ हजारका कुखुरा र हाँस, एक करोड ५० लाख १५ हजारका बोका–बाख्रामा तथा गोरु, बाच्छाबाच्छी, राँगो, पाडापाडी, बंगुरमा क्षति भएको थियो ।
यसअघि तत्काल गुजाराका लागि ५ जनासम्म कृषक परिवारका लागि १५ हजार र त्यसभन्दा धेरै परिवार संख्या भएका परिवारलाई २० हजारका दरले विश्व खाद्य कार्यक्रम मार्फत सहयोग गरिएको थियो । कार्यालय प्रमुख दवाडीका अनुसार दुई हजार ६ सय ४० घर परिवारका लागि चार करोड २३ लाख रुपैया वितरण गरिएको थियो । बेथान्चोकका दुई सय ३५, रोशीका एक हजार दुई सय १९ र तेमालका एक हजार एक सय ८६ घर परिवारलाई उक्त रकम वितरण गरिएको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4