
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कार्यकक्षमा जान सकेका छैनन्, विद्यार्थीले तालाबन्दी गरेपछि कार्यालयहरू बन्द छन्।
- सर्वोच्च अदालतको आदेशपछि ताला खोलिएपछि कार्यालयहरू खुल्ने क्रम सुरु भएको छ, तर विद्यार्थीहरूले अझै ताला खोलेका छैनन्।
- विश्वविद्यालयले १५७ इकाइहरूबाट ८० प्रतिशत विद्यार्थीलाई सेवा दिँदै आएको छ, तर पूर्वाधार सुधार आवश्यक रहेको छ।
२० असार, काठमाडौं । एक महिनाभन्दा बढी समयपछि शुक्रबार त्रिभुवन विश्वविद्यालका पदाधिकारी त्रिवि परिसर कीर्तिपुरमा झुल्किए । तर उनीहरू कार्यकक्षमा होइनन्, त्रिभुवन स्मृति भवनमा देखिए । १४ जेठदेखि त्रिवि पदाधिकारीहरू कार्यकक्षमा जान सकेका छैनन् । सत्तारुढ नेपाली कांग्रेस निकट नेविसंघका विद्यार्थीले तोडफोड र तालाबन्दी गरेपछि उनीहरू कार्यकक्षमा जान नपाएका हुन् । कहिले पुल्चोक त कहिले कहाँ बसेर पदाधिकारीले काम गर्दै आइरहेका छन् ।
शुक्रबार त्रिविको ६६औं वार्षिकोत्सव थियो । जानैपर्ने बाध्यताकाबीच त्रिविका सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्त, उपकुलपति खड्ग केसी, शिक्षाध्यक्ष दुविनन्द ढकाल, रजिस्ट्रार केदारप्रसाद रिजालसहित त्रिविको टिम वार्षिकोत्सव कार्यक्रममा उपस्थित थियो ।
सभा हल नजिकै छ- उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय । वार्षिकोत्सव मनाइरहँदा तीन वटै कार्यालयका ढोकामा ताला झुन्डिएका थिए । स्मृति भवनमा वार्षिकोत्सव कार्यक्रम चलिरहँदा भने एउटा सूचना आयो– ‘आंशिक प्राध्यापकले चाहिँ ताला खोले रे ।’
विद्यार्थीको तालाबन्दीसँगै ३० जेठमा आंशिक प्राध्यापकले ठप्प हुनेगरी उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला ठोकेका थिए । त्यसपछि कर्मचारीसमेत कार्यालयमा जना पाएका थिएनन् । दिनभर बाहिरै चौरमा बसेर कर्मचारी साँझ घर फर्किन बाध्य थिए ।
तर शुक्रबार वार्षिकोत्सवसँगै आंशिक प्राध्यापकले ताला खोलेपछि कर्मचारी भने कार्यकक्षमा जान पाएका छन् । आंशिक प्राध्यापक संघले फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्त गर्न लागेको विरोधमा ताला लगाएको थियो । २२ गते त्रिविको सभा भएकाले सोही दिन कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई आफ्ना कुरा राख्ने भन्दै ताला खोलेको विज्ञप्तिमार्फत जानकारी पनि गरायो ।
त्यसपछि दिउँसो १२ बजेतिर उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा पुग्दा मूल ढोका भने खोलिएको थियो । जहाँ सुरक्षा गार्डहरू ढोका सरसफाइ गरिरहेका थिए । रजिस्ट्रार कार्यालयको ढोकामा २२ दिनदेखि थुप्रिएको पत्रिकाभित्र लैजाने तरखर गर्दै थिए, सुरक्षा गार्ड । ‘बल्ल ढोका खुल्यो । अझैमाथि कोठामा विद्यार्थीले लगाएको तला खुलेको छैन,’ ती सुरक्षा गार्डले भने । आंशिक प्राध्यापकले ताला खोलेसँगै त्रिवि आंशिकरूपमा खुलेको संकेत उनले गरे । त्यसो त सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको थियो । त्यसैको दबाबमा पनि आंशिक प्राध्यापकले ताला खोल्न बाध्य भएका हुन् ।

तर नेविसंघबाट स्ववियुमा निर्वाचित भएका विद्यार्थीले भने ताला खोलेका छैनन् । ‘विद्यार्थीलाई चाहिँ सर्वोच्चको आदेश नलाग्ने रहेछ कि के हो ?,’ एक कर्मचारी उपकुलपति कार्यालयको मूल ढोकामा बसेर प्रश्न गरिरहेका थिए ।
शुक्रबार दिउँसोसम्म विद्यार्थीले लगाएको ताला खुलेको छैन । अदालतको आदेश गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रहरीले ताला खोल्ने तयारी गरेको छ ।
यसरी तालाबन्दीकै बीच त्रिविले आफ्नो ६६औं स्थापना दिवस मनायो । सभामा सहकुलपति एवं शिक्षामन्त्री पन्तले तालाबन्दीको विषय उठाए ।
‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतैकतै ताला खुल्ने सुन्दै छु । त्रिविमा जटिलता छ । अफ्ठ्यारो छ,’ सहकुलपति पन्तले भने, ‘जटिलता हटाउनु पर्छ । सबै मिल्यौं भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौं । गलत राजनीतिबाट मुक्त गर्नुपर्छ ।’
विद्यार्थी र प्राध्यापकको पारा देख्दा दिक्क लाग्ने गरेको समेत गुनासो सहकुलपति पन्तले गरे ।
‘विद्यार्थी र शिक्षकले बाटो बिराएको छ । प्राध्यापकले बाटो बिराएपछि विद्यार्थीले सही बाटो लिन सक्दैनन् । तर यसको मूल जड राजनीति हो । राजनीति जस्तो हुन्छ । अरू क्षेत्र पनि त्यस्तै हुने हो ।’
सभामा त्रिविका पदाधिकारीले भने तालबान्दीबारे बोल्न चाहेनन् । अदालतको आदेश कार्यान्यन भएपछि मात्र कार्यकक्षमा फर्किले सोचमा पदाधिकारी छन् ।
८० प्रतिशत विद्यार्थी ओगटेको त्रिवि
सबैभन्दा जेठो विश्वविद्यालय त्रिविले देशको ८० प्रतिशत विद्यार्थीलाई पढाउँदै आएको छ । उपकुलपति केसीका अनुसार त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ ।
‘६४ वटा आंगिक क्याम्पस छ ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा इकाइ र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ । देशको ७७ जिल्लामा विस्तार छ,’ उपकुलपति केसीले भने ।
समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा आलोचित हुने गरेको त्रिविले गत वर्षदेखि समयमै नतिजा प्रकाशित गर्न लागेको छ ।
‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको संख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालई तीन महिनामा झार्न सफल भएका छौँ,’ कसीले भने, ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठूलो उपलब्धि लिनुपर्ने परिस्थिति छ ।’
समयमै नतिजा निकालेका कारण यो वर्ष ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको उपकुलपति केसीले बताए ।

‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठूलो संख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालमा ९० हजार विद्यार्थी हुदैनन् ।’
यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए ।
रजिस्ट्रार केदारप्रसद रिजालले भने त्रिविमा भौतिक संरचनाको सुधार आवश्यक रहेको बताए ।
‘देशको ८० प्रतिशत विद्यार्थीलाई सकिनसकी सेवा पुर्याएको छ । धेरैको रोजाइमा त्रिवि छ । आज पनि ४०० बढी प्रोग्राम सञ्चालन भइरहेको छ । यसैले राष्ट्रपति, प्रधानमन्त्री उत्पादन गरेको छ । विश्वभर यहाँ उत्पादन भएका पुगेका छन् । तर पूर्वाधारको अफ्ठ्यारो परेको छ,’ रजिस्ट्रार रिजालले भने ।
स्थापना कालमा प्राध्यापक र विद्यार्थी बसेर त्रिविलाई अनुसन्धानमुखी बनाउने भनिए पनि त्यसो हुन सकेको छैन ।
‘ज्ञान उत्पादन गर्ने कुरामा फोकस छौं कि ग्राजुएट मात्र उत्थ्पादन गरिरहेका छौं यो गम्भीर प्रश्न छ,’ उपकुलपति केसीले भने ।
प्रतिक्रिया 4