
२१ असार, बुटवल । बसको ठक्करबाट पश्चिम नवलपरासीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका डीएसपी पन्तले बताए ।
बसका चालक रामग्राम इमिलीटोल बस्ने ३१ वर्षीय सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिए ।
प्रतिक्रिया 4