
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विपिन कार्की ‘भाइटीका’ फिल्ममा मुनाफा साझेदारको रुपमा अनुबन्धित भए।
- फिल्मको कथाले दिदीभाईको मर्मस्पर्शी सम्बन्ध र जीवन्तता दर्शाउँछ।
- फिल्म २०८३ सालको तिहारमा प्रदर्शन हुने अपेक्षा छ।
काठमाडौं । अभिनेता विपिन कार्की निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । यो फिल्ममा उनी मुनाफा साझेदारको रुपमा जोडिएका हुन् ।
पछिल्लो समय कलाकारले पारिश्रमिकको रुपमा लाखौं रुपैयाँ लिन थालेको भन्ने चर्चाबीच अहिलेका ‘डिमान्डेड’ अभिनेता मुनाफा साझेदारको रुपमा जोडिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
‘कथाले उहाँको हृदयलाई छोएछ । त्यसपछि उहाँ स्क्रिप्ट लेखनमा सुरुदेखि नै बस्न तयार हुनुभयो । साथै, नाफाको राम्रो पर्सेन्टेजमा बस्न तयार हुनुभयो’ निर्माता अधिकारीले अनलाइनखबरसँग भने ।
कार्कीबाहेकका अन्य कलाकारको कास्टिङबारे टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । दिदीभाईको मर्मस्पर्शी कथामा बन्ने बताइएको फिल्ममा विपिनले दाईको भूमिका निर्वाह गर्दैछन् ।
‘बीसौं वर्षदेखि दाईलाई टीका लगाउन नपाएको बहिनीको कथा हो । यो कथाले विपिनजीलाई छोएछ । सबै छाडेर भएपनि स्क्रिप्टमा बस्छु भन्नुभयो । कथाले जीवन्त महसुस गराएको बताउनुभयो’ रोहितले भने ।
२०८२ सालको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’पछि अभिनेता कार्कीले ‘भाइटीका’ साइन् गरेका हुन् । दीपक वलीले निर्देशन गर्ने यो ‘भाइटीका’को पटकथा महेश दवाडीको हुनेछ । २०८२ सालमा छायांकन हुने फिल्मको प्रदर्शन २०८३ सालको तिहार छेकोमा हुने अपेक्षा छ ।
अभिनेता कार्की ‘काजी’को छायांकनपछि ‘भाइटीका’मा ब्यस्त हुनेछन् । यसबाहेक निर्माता अधिकारीको पछिल्लो फिल्म ‘माइतीघर’ दशैंको फूलपातीमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4