
News Summary
Generated by OK AI. Editorially reviewed.- तुलसी हिन्दू धर्ममा श्रद्धासाथ पूजा र औषधिका रूपमा प्रयोग हुन्छ।
- वैज्ञानिक दृष्टिले, तुलसीले वातावरण शुद्ध राख्ने र रोग प्रतिरोध क्षमता बढाउने प्रमाणित भएको छ।
- यसको संरक्षण र प्रयोगले धार्मिक, स्वास्थ्य र पर्यावरणीय फाइदा पुर्याउँछ।
तुलसी हेमरुपां च रत्नरुपां च मञ्जरिम् ।
भवमोक्षप्रदां रम्यां अर्पयामि हरिं प्रियाम् ।।
तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा अत्यन्तै श्रद्धा र सम्मानका साथ पुजिन्छ । यसको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय पक्ष र वैज्ञानिक दृष्टिले गहिरो महत्व छ । यसको प्रयोग पूजा-पाठदेखि, औषधि उपचारसम्म गरिन्छ । नेपाली समाजमा तुलसीलाई ‘घरको लक्ष्मी’ स्वरूप मानिन्छ, जहाँ तुलसाको वृक्षारोपण हुन्छ त्यहाँ सकारात्मक ऊर्जा हुन्छ भन्ने विश्वास गरिन्छ ।
धार्मिक रुपमा हेर्दा, तुलसी देवी लक्ष्मीको रूप मानिन्छ र भगवान विष्णुको प्रिय वनस्पति हो । तुलसीको पूजा विशेष गरी असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा रोपेर कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीको दिन तुलसी दामोदर भगवानको विवाह गर्ने गरिन्छ । जहाँ, तुलसीको विवाह शालिग्राम (भगवान विष्णुको प्रतीक)सँग गरिन्छ । यसलाई धार्मिक दृष्टिले वर्षको सबैभन्दा पुण्यदायी कार्य मानिन्छ । तुलसीका पातबिना भगवान विष्णु, कृष्ण र रामको पूजा अधुरो मानिन्छ ।
पौराणिक ग्रन्थहरू अनुसार तुलसीको सम्पर्कले पनि पाप नष्ट हुन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । मरणोपरान्त यदि तुलसीको पात मुखमा राखिन्छ भने आत्मालाई मोक्ष मिल्छ भन्ने धार्मिक मान्यता छ ।
घर आँगनमा तुलसीको मठ छ भने वास्तु दोष निवारण भई घरमा पवित्रता ल्याउँछ भन्ने विश्वास रहेको छ । तुलसी भएको घरमा नकारात्मक शक्ति आउँदैन भन्ने धार्मिक मान्यता छ, यो कुरा विज्ञान सम्मत पनि छ । यिनै कारणले हाम्रो हरेक धार्मिक र पितृ कार्यहरूमा तुलसीको विशेष महत्त्व रहेको छ ।
तुलसीको वैज्ञानिक महत्त्व पनि अत्यन्तै गहिरो छ। आयुर्वेदमा तुलसीलाई ‘जडीबुटीको रानी’ मानिन्छ । यसमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्ट गुण हुन्छन् । ज्वरो, खोकी, रुघा, दम, टन्सिल, टाउको दुखाइ, पेटसम्बन्धी रोग लगायतका थुप्रै रोगको उपचारमा तुलसी प्रयोग गरिन्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तुलसीको बास भएको स्थानमा वायुमण्डल शुद्ध हुन्छ भन्ने कुरा वैज्ञानिकहरूले पनि पुष्टि गरेका छन् । तुलसीले वातावरणमा अक्सिजन उत्सर्जन गर्ने मात्र नभई हानिकारक जीवाणु र विषाणुहरूको नाश गर्न मद्दत गर्छ ।
घरको आँगनमा तुलसीको मठ घरबाट निस्कँदा दाहिने तर्फ राख्नु बढी राम्रो मानिन्छ, साथै अन्य स्थान झ्याल वा छतमा पनि राख्न सकिन्छ । तुलसीको पात चपाउँदा तनाव कम हुने, चित्त शान्त हुने र ध्यानमा केन्द्रित हुन सहयोग पुग्ने अध्ययनहरूले देखाएका छन् । साथै, तुलसीको गन्धले मनलाई प्रसन्न बनाउँछ र ध्यान तथा पूजा आराधनाका लागि उपयुक्त वातावरण बनाउँछ ।
तुलसी केवल एक वनस्पति मात्र होइन, यो हाम्रो वैदिक परम्परा, धार्मिक आस्था, पर्यावरण, संस्कृति र स्वास्थ्यसँग जोडिएको अमूल्य सम्पदा हो । यसको महत्त्वलाई परम्परागत विश्वास र आधुनिक विज्ञान दुवैले यसको महत्त्व स्वीकारेका छन् । त्यसैले हामीले तुलसीको संरक्षण र प्रवर्द्धन गर्नु अत्यावश्यक छ । प्रत्येक घरमा तुलसी रोप्ने, हुर्काउने, फैलाउने र प्रयोग गर्ने परम्परालाई जीवनशैलीको अंग बनाएर धर्म, स्वास्थ्य र वातावरण संरक्षणार्थ एकैसाथ पाइला चाल्न सकिन्छ । यसरी हेर्दा तुलसी मानव जातिका लागी एक उपयोगी वनस्पति प्रमाणित हुन्छ। तुलसीको उपयोगिताका बारेमा धेरै अध्ययन अनुसन्धान भएको छ र अझै धेरै हुन बाँकी छन् । अस्तु ।
प्रतिक्रिया 4