
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘डन ३’ को छायांकन सन् २०२६ मा सुरु र रिलिज सन् २०२६ मा हुने योजना छ।
- फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा रहने निश्चित भएको छ।
- अझै अन्य कलाकारको टुंगो नलागेको भए पनि तयारी जारी छ।
मुम्बई । बलिउडको चर्चित फ्रेन्चाइजी फिल्म ‘डन’को तेस्रो श्रृंखला ‘डन ३’ सन् २०२६ मा छायांकन हुने भएको छ ।
फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म जनवरी २०२६ बाट सुटिङ सुरु हुने र डिसेम्बर २०२६ मा हलमा रिलिज हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।
यो फिल्म विभिन्न कारणले ढिला हुँदै आएको थियो । पहिलो कारण- फिल्ममा शाहरुख खानको स्थानमा रणवीर सिंहको प्रवेश हो । रणवीरलाई शीर्ष भूमिकामा कास्ट गरिएपछि सामाजिक संजालमा आलोचना भयो ।
निर्देशक अख्तर र अभिनेता सिंहले स्थिति सामान्य नहुँदासम्म फिल्मको काम अघि नबढाउने निर्णय गरेका थिए । साथै रणवीरलाई फिल्मका लागि मार्शल आर्ट प्रशिक्षण आवश्यक भएकाले पनि तयारीमा समय लाग्यो ।
यसबीच, ‘डन ३’मा प्रियंका चोपडाको स्थानमा कियारा आडवाणीलाई कास्ट गरिएको थियो । तर कियारा गर्भवती भएपछि फिल्मको काम फेरि रोकिएको हो ।
निर्देशक अख्तर आफैं पनि युद्धको कथावस्तुमा आधारित फिल्म ‘१२० बहादुर’मा अभिनय गरिरहेका छन्, जुन फिल्म सन् २०२५ नोभेम्बर २१ मा रिलिज हुने बताइएको छ ।
सबै तयारी पूरा भएपछि ‘डन ३’ अघि बढ्ने भएको विवरणमा जनाइएको छ । शीर्ष भूमिकामा रणवीर देखिने पक्का छ । सुरुमा बाहिरिएकी प्रियंकाको पुनरागमनको सम्भावनाले पनि चर्चा पाएको छ ।
यसअघि अभिनेत्री कृति सेनन र शरवरी वागको नाम पनि अगाडि आएको थियो, तर पछिल्लो रिपोर्ट अनुसार निर्माता फेरि कियारालाई नै प्राथमिकता दिने तयारीमा छन् ।
‘डन ३’ सन् २००६ मा आएको ‘डन’ र २०११ को ‘डन २’ पछि यो सिरिजको तेस्रो भाग हो, जसमा पहिले शाहरुख लिड रोलमा थिए । यसपटक रणवीरले जिम्मेवारी सम्हाल्ने छन् भने फिल्ममा अन्य कलाकारको टुंगो चाँडै लाग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4