News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरे।
- कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको र खेलाडीहरू व्यवसायिक रुपमा अघि बढिरहेको बताए।
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी आर्थिक वर्षको बजेट करिब दोब्बरले बढेको कुराले खेल क्षेत्र उत्साहित रहेको जानकारी दिए।
२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे।
यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौं एसियन कबड्डी च्याम्पियनसिप (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिए।
त्यसैगरी, गत असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिए।
उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्था अनुसार यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।
त्यस्तै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताएका रहेछन्। एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे।
‘हामीले संगठित रूपमा खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन। अहिले सरकारले खेलको विकासमा उच्च ध्यान दिएको रहेछ भने अब खेलाडीहरू व्यवसायिकरूपमा अगाडि बढेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठा माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायत सबैलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु।’
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको बताउँदै कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए।
प्रतिक्रिया 4