+
+
Shares

एउटा मर्मस्पर्शी गीत दिएर कहाँ हराइन् लक्ष्मी ?

लक्ष्मी थापा गुरुङ आफैंलाई रक/पप विधा मनपर्छ । गीगहरूतिर उनी यही विधाका गीतहरू गाउँछिन् । यता ‘आमा’ ठिक विपरीत विधाको गीत छ । स्थानीय स्वादको छ ।

सापेक्ष सापेक्ष
२०८२ असार २५ गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी थापा गुरुङले २०२२ मा ‘आमा’ गीत लेखिन् र जुन अहिले धेरै चर्चित छ।
  • गीतले आमाप्रति प्रेम, पीडा र सम्झनालाई सरल र भावुक तरिकाले व्यक्त गरेको छ।

मैले तिम्लाई सम्झी रुँदा
त्यहाँ तिम्लाई बाडुल्कीले दुख्यो कि लाग्छ, बरिलै
बाडुल्कीको लहर लाग्दा
मैलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ, बरिलै …

२०२२ मा खोलिएको एउटा युट्युब च्यानल छ । च्यानलको डेस्क्रिप्सनमा ‘सिङ्गर/सङ राइटर’ लेखिएको छ । र, माथि उल्लिखित शब्द भएको एउटा लिरिकल म्युजिक भिडिओ छ-आमा ।

त्यो भिडिओ १४ जुन २०२२ मा अपलोड गरिएको छ । त्यसयता च्यानल निस्क्रिय छ । गीत मर्मस्पर्शी छ । हिट छ । कमेन्टमा गायिकाको खोजी व्यापक छ ।

गीतको गायिका लक्ष्मी थापा हुन् । श्रोताका लागि उनी गुमनाम छिन् । कारण यसबाहेक न उनको थप गीत छ न त फोटो नै ।

यता गीतले यो अवधिसम्ममा भने २८ लाख बढी भ्युज पाइसकेको छ । रिल्स, टिकटक र सर्ट्स त कति बनेका छन् कति ! त्यसमाथि धेरैले कभर सङ निकालेका छन् । ती सबै ‘अर्ग्यानिक’ तरिकाबाट भएका हुन् । कलाकारले कुनै ‘बुस्ट’ गरेका होइनन् । गीत आफैं ‘बुम’ भएको हो ।

यस गीतलाई लिएर धेरैले राम्रा टिप्पणी गरेका छन् । आमामाथिको गीत भयो, कमेन्टमा प्रशंसाको त बाढी नै देख्न सकिन्छ । गीतको प्रभाव गायन सम्बन्धीको एउटा रियलिटी शोमा पनि देखियो ।

शोको प्रशारण भएको पछिल्लो भागमा पिट्टु गहतराजले यहीँ गीत गएकी छिन् । उनको गायन बलियो कि गीत, जानकार जानून् । तर उनले गीत गाइरहँदा माहोल भावुक हुन्छ । अन्य प्रतिस्पर्धी रुन्छन् । बोल्ड देखिने निर्णयक न्ह्यु बज्रचार्य पनि रुन्छन् ।

‘आमा शब्द आफैंमा विशेष छ । तिम्ले कस्तो गायौ मैले याद गरिनँ । तिम्ले महसुस गरेको मात्र मैले सुनेँ । मसँग नभएको आमालाई सम्झेँ.’ पछि टिप्पणी गर्दै न्ह्युले भनेका छन् ।

‘म अर्कै ‘स्टेट अफ माइन्ड’मा पुगेँ । आमाको याद पनि आयो । गीतले पार्ने प्रभाव भनेको यही हो, ‘ अर्की निर्णयक इन्दिरा जोशीले भनेकी छिन् । यो ‘आमा’ गीतले पारेको पछिल्लो ठूलो प्रभाव हो । यस गीतसँग यस्तो प्रभावका किस्सा धेरै जोडिएका छन् । तर, सर्जक सतहमा देखिएकी छैनन् । चुपचाप छिन् । शान्त छिन् ।

‘… आमाको प्रेममाथि लेख्नु हृदयसँग नजिक हुनु हो । तपाईंहरूको हौसला र समर्थनले मलाई सांगीतिक यात्रा निरन्तर अघि बढाउने प्रेरणा दिएको छ …’

यति हो, उनले यस गीतमा दिएको सार्वजनिक टिप्पणी । त्यो पनि गीत निकालेको एक वर्षपछि ।

कहाँ के गर्दै छिन् ?

लक्ष्मी थापा गुरुङ (खासमा उनी गुरुङ हुन्) लमजुङकी हुन् । बिहेपछि उनी आफ्ना श्रीमानसँग पोखरामा बसिरहेकी छिन् । पोखराको न्यूरोडमा ‘प्लान्ट पोखरा’ नामक उनको उद्यम छ । दिनभर त्यहीँ व्यस्त हुन्छिन् । त्यसबाहेक आफ्नी सासुआमाको रेस्टुराँमा पनि सहयोग गर्छिन् ।

यो सुन्दा संगीतलाई विदा गरेर उनी अर्कै बाटोतर्फ गएको लाग्न सक्छ । तर, त्यस्तो होइन । उनी संगीतमै छिन् । नदेखाएको मात्र हो । उनका श्रीमान् सुन्दर गुरुङ आफैं पनि यसै क्षेत्रमा छन् । जोडी नै संगीतमा छन् ।

पोखरामा दुवैको आ-आफ्नै अनौपचारिक ब्यान्ड छ । उनीहरूले ‘गीग’ (सांगितिक प्रस्तुती) पनि गरिरहेका हुन्छन् । भ्याएसम्म लक्ष्मी आफैं पोखराका रेस्टुराँहरूमा हप्तामा दुई दिन गीग गर्छिन् ।

त्यस्तै ‘आमा’ उनको बिल्कुलै नयाँ गीत होइन । पहिलो आधिकारिक रेकर्डेड गीत भने हो । त्यसअघि काठमाडौँमा आयोजना भएको ‘अकस्टिक नेपाल’ नामक प्रतियोगितामा पठाउन उनले ओरिजिनल गीतहरू बनाएकी थिइन् । जुन अहिले इन्टरनेटमा भने उपलब्ध छैन ।

किन चर्चित ? किन गुमनाम ?

लक्ष्मी थापा गुरुङ आफैंलाई रक/पप विधा मनपर्छ । गीगहरूतिर उनी यही विधाका गीतहरू गाउँछिन् । यता ‘आमा’ ठिक विपरीत विधाको गीत छ । स्थानीय स्वादको छ ।

लक्ष्मी बागलुङमै हुर्किएकी थिइन् । रैथाने भाका उनको कानमै झुन्डिएको छ । अनि आफ्नै भेकको मौलिकतालाई उनले ‘आमा’मा उतारेकी हुन् । यो गीतको शब्द उनी आफैंले लेखेकी हुन् । गीतमा उनी ‘हाँसी राखे’ भन्दिनन् । ‘हाङ्सी राखे’ भन्छिन् । त्यसले गीतलाई अर्कै स्वाद दिएको छ ।

गीतमा कुनै भारी शब्द छैन । बुझ्नै नसिकने बिम्ब छैन । धेरै बाजाहरूको स्वरले भरिएको छैन । गितारको सामान्य धुन छ । भाका खोला जस्तै सललल बगेको छ । कुनै रोकावट छैन । कुनै हतार छैन । शान्त छ । कोमलता छ । साधारण छ ।

आमाको अनुपस्थितिमा सन्तानको पीडा, सम्झना र समर्पण देखाउने शब्दहरूले गीत भरिएको छ । आमाप्रतिको माया, तिर्सनालाई शब्दहरूले न्याय गरेको छ ।
‘आमा, तिम्रो काख माया दिने चौतारी पीपलुवर झैँ’ ।

गीतमा कुनै भारी शब्द छैन । बुझ्नै नसिकने बिम्ब छैन । धेरै बाजाहरूको स्वरले भरिएको छैन । गितारको सामान्य धुन छ । भाका खोला जस्तै सललल बगेको छ । कुनै रोकावट छैन । कुनै हतार छैन । शान्त छ । कोमलता छ । साधारण छ ।

मुलत: नेपाली समाजमा पीपलको बोटलाई धार्मिक, आध्यात्मिक र स्मृतिको प्रतीक मानिन्छ । आमाको काखलाई त्यहीँ चौतारीसँग तुलना गरेर लक्ष्मीले ‘आमा जहाँ थिइन्, त्यही घर, त्यही शरणस्थल’ भनेर सम्झना देखाएकी छिन् ।

‘ढुङ्गोलाई सिरान राखी निदाएछु जस्तो भयो,’ ढुंगो अर्थात् कठोरता, शून्यता र निस्सङ्गता । ‘यसो छाती छामी हेर्छु, चर्किएला जस्तो मुटु’ । असह्य पीडा, सम्झनाको आँधी । यस्ता भावहरूले गीतलाई बलियो बनाएको छ नै, सँगै गीतको धुनले तिनलाई पगालेका छन् । न्याय गरेका छन् ।

सुरुका केही लाइन सुन्दा यो प्रेम गीत जस्तो सुनिन्छ । तर विस्तारै यो गीतले आमासँग विछोडको कथा कहन्छ । जुन सबैले सहजै गुनगुनाउन सकिने लयमा छ ।

सम्भवत: यही कारण गीत चर्चित भएको लक्ष्मीको अनुमान छ । त्यसमा गीतलाई हिट बनाउन बोकेमुन गुरुङ जस्ता कभर गायिकाको पनि ठूलो भूमिका रहेको उनी सुनाउँछिन्।

000

आजकल धेरै जना नामको भोको हुन्छन् । चर्चाको रोगी हुन्छन् । यसका लागि उनीहरू जे गर्न पनि तयार हुन्छन् । यता लक्ष्मी भने यत्रो चर्चा हुँदा पनि बेपत्ता जस्तै छिन् । मानौं, केही भएकै छैन ।

तर ‘आमा’ यस्तो गीत बनिसकेको छ, जुन अब कहिल्यै मर्दैन । यसबाट उनले प्रशस्त फाइदा उठाउन सक्ने ठाउँ छ । तर, अँह उनी त्यसो गर्दिनन् । बरु सामाजिक सञ्जालमा पनि चुपचाप बस्छिन् ।

किन त्यस्तो ? व्यक्तिगत जीवनलाई प्राथमिकता दिने उनको भनाइ छ । अर्थात् उनलाई सरल जीवन बिताउन मनपर्छ । उनी धेरै बोल्न मन पराउँदिनन् । असहज मान्छिन् । यदि धेरैले चिने आफूलाई खुला तरिकाले हिँड्न असहज हुने सोच्छिन् ।

उनी नेपथ्यमै रमाउन चाहन्छिन् । वनको फूल हुन चाहन्छिन् । आकाशमा एक्लै उड्ने चरी बन्न चाहन्छिन् ।

‘आमा’को जन्म

देशमा कोरोना महामारीका कारण लकडाउन भएको थियो । पहिलो लकडाउन भएकाले ‘अब के हुन्छ’ भन्ने अन्योल छाएको थियो । आउजाउमा पूर्ण बन्देज थियो । लक्ष्मी पोखरामै अड्किन् । आमालाई भेट्न माइत जान पाइनन् । त्यसमाथि विवाह पनि भर्खरै गरेकी थिइन् ।

त्यही समयमा उनले ‘आमा’ गीत लेखेकी थिइन् । यस्तो लेख्छु भन्ने उनको कुनै सोच थिएन । आमाको याद आयो । सबै कुरा आमालाई भन्न सक्ने अवस्था पनि थिएन । एक्लो महसुसले आक्रान्त बनाएको थियो । त्यहीँ भावलाई उनले शब्दमा उतारिन् ।

गीत लेखेको केही समयपछि नजिकका साथीहरूलाई सुनाइन् । सबैले गीत राम्रो बनेको प्रतिक्रिया दिए । उनका श्रीमान् सुन्दरले गीतारको गीतमा ‘सुन्दर’ धुन भरिदिए । र, साथीको होम स्टुडियोमा गीत रेकर्ड गरे ।

त्यसपछि के भयो ? नतिजा तपाईं हामी अघि नै छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?