
३१ असार, काठमाडौं । नेपाल शिक्षक संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य नर्बदा पोखरेलको ‘मेरो जीवनयात्रा’ नामक पुस्तक मंगलबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
आफ्नो शिक्षण जीवनको ४० वर्ष र त्योभन्दा अगाडिको विद्यार्थीकालीन जिन्दगी भाडाको कोठामा बसेर, पारिवारिक पृष्ठभूमि सामान्य रहेको राजधानीकै ललितपुरकी नारीले अध्ययनसँगै अध्यापन गर्दाको संघर्ष तथा पछिल्लो समय राजनीति र समाजसेवामा समेत अग्रसर गरिएका अध्याय पुस्तकमा समेटेकी छिन् ।
कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विमोचन गरेको उक्त पुस्तकमा पोखरेलले श्रीमान्, छोराछोरी र परिवारको साथले स्नातकोत्तरसम्मको अध्ययन गर्न सफल हुन सकेको र नारी एउटा घर, समाज र राजनीतिलाई सँगसँगै कसरी व्यवस्थापन गर्न सक्छिन् भन्ने अनुभव धाराप्रवाह रूपमा लेखिएको छ । प्रकाशक स्वयं पोखरेल रहेकी उक्त पुस्तकको सम्पादन भने नेपाली भाषा विज्ञ हरि अधिकारीले गरेका हुन् ।
पोखरेलले आफ्नो जीवनकालमा हालसम्म आफूलाई सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफू परिवार, शिक्षण पेसा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुन सकेको व्यक्त गरिन् ।
सम्पादक अधिकारीले पुस्तकको संक्षिप्त परिचय दिएका थिए । कार्यक्रममा उपस्थित कांग्रेस नेता तथा कार्यकर्ता, पूर्वशिक्षक तथा सहकर्मी, एवं सामाजिक अभियन्ता तथा परिवारका सदस्यले समेत पोखरेलको अथक परिश्रम तथा योगदानबारे खुलेर प्रशंसा गरे ।
प्रमुख अतिथि थापाले नर्बदाजस्ता हजारौं मन सफा रहेका, मिहिनेती कार्यकर्ता नै कांग्रेसका बलिया स्तम्भ रहेको जिकिर गर्दै शुभकामना सन्देश दिए ।
प्रतिक्रिया 4