News Summary
Generated by OK AI. Editorially reviewed.- वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अस्ट्रेलियाविरुद्ध जमैकामा हुने पहिलो दुई टी–२० अन्तर्राष्ट्रिय खेलपछि सन्यास लिने घोषणा गरेका छन्।
- रसेलले भनेका छन्, 'वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धि हो।'
- वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले रसेल सधैं प्रोफेसनल र प्रतिस्पर्धी खेलाडी रहँदै आएको बताउँदै उनको जोश कहिल्यै नघटेको प्रतिक्रिया दिएका छन्।
१ साउन, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अस्ट्रेलियाविरुद्ध जमैकामा हुने पहिलो दुई टी–२० अन्तर्राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
३७ वर्षीय रसेल सन् २०१९ देखि टी–२०आई मात्र खेलिरहेका छन् र हालसम्म ८४ खेल खेलेका छन्। उनको सन्यास आगामी फेब्रुअरी २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपभन्दा सात महिना अघि आउने भएको हो। उनले करियरमा १ टेस्ट र ५६ एकदिवसीय खेल पनि खेलेका छन्।
रसेलले भनेका छन्, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धि हो। बाल्यकालमा मैले यो स्तरमा पुग्छु भन्ने सोच्दिनथेँ, तर खेलप्रति प्रेम बढ्दै जाँदा उपलब्धिहरू सम्भव हुन्छन् भन्ने महसुस भयो।’
रसेल वेस्ट इन्डिजको २०१२ र २०१६ को टी–२० विश्वकप विजेता टोलीको हिस्सा थिए। उनी विश्वका अधिकांश टी-२० लिगहरू पनि खेल्दै उपाधि जितेका छन् ।
वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले रसेल सधैं प्रोफेसनल र प्रतिस्पर्धी खेलाडी रहँदै आएको बताउँदै उनको जोश कहिल्यै नघटेको प्रतिक्रिया दिए।
अस्ट्रेलियाविरुद्ध हुने पाँच खेलको शृंखलाअन्तर्गत बाँकी खेलका लागि म्याथ्यु फोर्डेले रसेलको स्थान लिनेछन्। यसैबीच, युवा खेलाडी जेवेल एन्ड्र्यु र २३ वर्षीय जेडिया ब्लेड्सले पहिलो पटक टोलीमा स्थान पाएका छन्।
वेस्ट इन्डिज टोली: शाइ होप (कप्तान), जेवेल एन्ड्र्यु, जेडिया ब्लेड्स, रोस्टन चेस, म्याथ्यु फोर्डे, शिम्रोन हेटमायर, जेसन होल्डर, अकेल होसिन, अलजारी जोसेफ, ब्रान्डन किङ, इभिन लुइस, गुदाकेस मोटी, रोभमन पावेल, अन्ड्रे रसेल, शेर्फाने रदरफोर्ड, रोमारियो शेपहर्ड।
प्रतिक्रिया 4