News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक साधारणसभा १७ देखि २० जुलाईसम्म सिंगापुरमा हुने छ।
- बैठकमा टेस्ट क्रिकेटलाई दुई-स्तरीय प्रणालीमा विभाजन गर्ने प्रस्तावसहित टी–२० सँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुनेछ।
- गत वर्षको टी–२० विश्वकपको आर्थिक अनियमितताबारे प्रतिवेदन प्रस्तुत गरिनेछ।
१ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक साधारणसभा आजदेखि सिंगापुरमा सुरु भएको छ । २० जुलाईसम्म हुने यो सम्मेलन नयाँ अध्यक्ष जय शाहको नेतृत्वमा हुनेछ र यसलाई पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण सम्मेलन मानिएको छ। यस बैठकमा क्रिकेटका विभिन्न भविष्यगत योजनासम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुनेछ।
बैठकमा उठ्ने मुख्य विषयमध्ये एक भनेको टेस्ट क्रिकेटलाई दुई-स्तरीय प्रणालीमा विभाजन गर्ने प्रस्ताव हो। यस योजनाअनुसार बलिया टोलीहरू जस्तै भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड शीर्ष समूहमा रहनेछन् भने कमजोर टोलीहरू दोस्रो समूहमा पर्नेछन्।
यो प्रणाली तत्काल लागू नहुने र हालको विश्व टेस्ट च्याम्पियनसिप (२०२५-२७) मा कुनै असर नपर्ने जनाइएको छ। प्रस्ताव स्वीकृत भएमा यो नियम २०२७ पछि लागू हुनेछ।
टी–२० क्रिकेटतर्फ, विश्वकपमा सहभागी टोलीको संख्या बढाउनेबारे छलफल हुनेछ। हाल प्रतियोगितामा २० टोली सहभागी हुने व्यवस्था छ, तर २०२६ पछि यो संख्या २४ सम्म बढ्न सक्ने सम्भावना रहेको छ। यसका साथै, २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेशबारे अन्तिम निर्णय र छनोट प्रक्रिया पनि बैठकको महत्वपूर्ण एजेन्डा हुनेछ।
गत वर्ष अमेरिकामा भएको टी–२० विश्वकपमा देखिएको आर्थिक अनियमितताबारे अन्तिम प्रतिवेदन यस बैठकमा प्रस्तुत गरिनेछ। यो विवादकै कारण तत्कालीन आईसीसी प्रमुख कार्यकारी अधिकृत जियोफ अलार्डिसले जनवरीमा राजीनामा दिएका थिए। नयाँ सीईओ सञ्जोग गुप्ताले यस विषयमा अपडेट दिनेछन्।
यसबाहेक, आईसीसीले जाम्बियालाई पुनः एसोसिएट सदस्यता दिने र इस्ट टिमोरलाई नयाँ सदस्यको रूपमा समावेश गर्ने सम्भावना छ। त्यस्तै, एसोसिएट सदस्यहरूको प्रतिनिधित्वसहितको कार्यकारी समितिका लागि निर्वाचन पनि सिंगापुरमै हुने अपेक्षा गरिएको छ।
यस साधारणसभामा नेपाल क्रिकेट संघ (क्यान)बाट अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का पनि सहभागी छन् ।
यो बैठक जय शाहको नेतृत्वमा पहिलो वार्षिक साधारणसभा हो। गत वर्ष डिसेम्बरमा आईसीसी अध्यक्षमा निर्वाचित भएका शाह यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिवका रूपमा कोलम्बोमा भएको बैठकमा सहभागी भएका थिए।
प्रतिक्रिया 4