+
+
Shares

सिस्तुङमा रोपाइँ उत्सव : एकै दिन १०० रोपनी रोपियो धान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको धुर्कोट गाउँपालिका-६ सिस्तुङमा १०० रोपनी क्षेत्रमा एकै दिन धान रोपाइँ भव्य सांस्कृतिक उत्सवका रूपमा सम्पन्न गरिएको छ।
  • कृषक मेघनाथ अर्यालले धान खेतीलाई परम्परा र व्यावसायिकरणसँग जोड्दै 'धुर्कोटे चामल' ब्राण्डमार्फत राष्ट्रिय बजारमा पठाएका छन्।
  • स्थानीय सरकार र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमूना परियोजना मान्दै गाउँपालिकाले उनलाई उत्कृष्ट कृषकको पुरस्कार दिएको छ।

४ साउन, गुल्मी । पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका-६ सिस्तुङमा एकै दिन १०० रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । जुन पहाडी भूभागमा असम्भव सरह मानिन्छ ।

यो रोपाइँ कुनै साधारण कृषि कार्य मात्र नभइ भव्य उत्सवका रूपमा सम्पन्न गरिएको हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि एक विशेष परम्पराका रूपमा धान रोपाइँलाई विकास गर्दै आएका छन् ।

पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आएका छन् । अर्यालले आफ्नो खेतमा धान रोपाइँलाई सांस्कृतिक उत्सवका रूपमा अघि सारेका छन् ।

एकै दिन १०० जना रोपाइँ गर्ने खेतारी, ५० जना ठिगारे र तीन वटा ट्याक्टरद्वारा जोत्ने काम गरिएको थियो । रोपाइँमा त्यसको दोब्बर संख्यामा हेर्ने नाच्ने गाउने पनि सहभागी थिए । जसमा पञ्चे बाजा, राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय समुदायको व्यापक सहभागिता थियो ।

खेतीपातीलाई बोझ होइन, उत्सवका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिनका लागि धान रोपाइँलाई भव्य उत्सवका रुपमा अघि सारिएको अर्यालले बताए ।

पञ्चे बाजा, गीत-संगीत र रमाइलो गर्दै काम गर्दा थकाइ नहुने भएकोले यो उपाय अपनाएको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरू हरि खत्री र शकुन्तला गैरे, हिमाल थापाद्वारा सांगीतिक प्रस्तुति दिइएको थियो ।

सयौं स्थानीयले सामूहिक रूपमा रोपाइँमा सहभागिता जनाएका थिए । खेतमा रोपारहरूको लामो लस्कर थियो । पुरुषहरू बाजागाजासहित नाचगानमा रमाइरहेका थिए । सामूहिक खेती, परम्परा र आधुनिकतालाई जोड्ने यस प्रयासले सिंगो समुदायमा सहकार्यको भावना बलियो बनाएको छ ।

स्थानीय सरकारका प्रतिनिधिहरू र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमूना परियोजनाका रूपमा मूल्यांकन गरेका छन् । यसै वर्ष उनलाई गाउँपालिकाले उत्कृष्ट कृषकका रुपमा पुरस्कृत समेत गरिएको थियो ।

यी यस्ता क्रियाकलापहरूले युवालाई कृषितर्फ आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ । गुल्मी सिस्तुङको यो उदाहरणले पहाडमा कृषि केवल जीविकोपार्जनको माध्यम नभई उत्सव, रोजगार र पर्यटनको माध्यम बन्न सक्ने सम्भावनाको ढोका खोलेको छ ।

उत्पादनसँगै उद्योग पनि

अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ ।

यसै वर्षदेखि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।

२५ किलोग्रामको बोरामा प्याक गरिएको चामलको बोरालाई २ हजार ५ सयमा बेच्ने गरि मुल्य तयार गरिएको छ । स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पूरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताए । अर्यालका अनुसार उनले अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन गरेका थिए ।

उनले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाएको बताएका छन् । चामल बजारमा माग धेरै भएको उनको भनाइ छ । यसले गाउँमा कृषि व्यवसायिकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ ।

स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु–याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ ।

गाउँमा बाँझिदै गरेका खेतीबारि लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिएका छन् ।

अघिल्लो वर्षको मंसिर महिनामा अर्यालले पहिलो पटक उत्पादन गरेको ४ सय मुरी धान प्रर्दशनसमेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरी धान उत्पादन गर्ने कृषक पाइँदैन ।

तर, अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाएका थिए । उनले गरे हेरक कुराको सम्भव रहेको प्रस्तुत समेत गरेका छन् ।

अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उनले बताए ।  भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताए ।

गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मिहिनेत पछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आएका छन् ।

धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ ।

तीन वर्ष पहिले एक करोड बढि लगानीबाट सुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?