
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा बेरोजगारी दर ४.७ प्रतिशत पुगेको छ, जुन चार वर्षकै उच्चतम हो र रोजगार बजार निरन्तर कमजोर बन्दै गएको छ।
- यूकेमा नेपाली विद्यार्थीहरू महँगी, विश्वविद्यालयको चर्को फि र जागिर नपाउँदा आर्थिक संकटमा परेको छ।
- बेलायतको मुद्रास्फीति ३.६ प्रतिशतमा पुगेको छ, जसले खाद्यान्न, इन्धन, आवास र यातायातमा मूल्यवृद्धि गरेको छ।
लन्डन । करिब ८ महिना अघि लन्डन उत्रिएदेखि जागिर खोज्न थालेका एक विद्यार्थीले अहिलेसम्म कतै केही पाएनन् । अनलाइन अप्लाइ गरे, व्यवसायीका ढोका-ढोका चहारे । साथी–सर्कलतिर अनुनय गरिरहन्छन् । तर, काम नपाएपछि लन्डन मिचम बस्ने उनको दैनिकी बडो कष्टकर बनिरहेको छ ।
रोजेश श्रेष्ठको पनि त्यस्तै विलौना छ । ‘यूके आएको पनि ७ महिना भइसक्यो तर अहिलेसम्म कुनै काम पाएको छैन, यही बेला युनिभर्सिटीले फि मागिरहेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्लिज गाइज हेल्प मी, धेरै नै गाह्रो भएको छ यूकेमा बस्न ।’
बढ्दो महँगी, विश्वविद्यालयको चर्को फि र जागिर नहुँदा नेपाली विद्यार्थीलाई यहाँ साँच्चिकै संकट छ यतिखेर । पार्टटाइम काम पाइहाले पनि त्यसले कोठाभाडा, खानपान जेनतेन पुग्ने हो । विश्वविद्यालय पढ्न आउँदा लागेको लाखौं ऋण चुक्ता त निकै परको कुरा ।
यूकेमा काम गरेको अनुभव, रिफरेन्स र कसैबाट सिफारिस खोजिन्छ । तर, भर्खर आएका विद्यार्थीलाई यी कुरामै सकस हुन्छ । बेलायतको बेरोजगारी अहिले ४.७ प्रतिशतका दरले बढेको बिहीबार सार्वजनिक तथ्यांकले देखाएको छ, जुन चार वर्षकै उच्चतम हो । जब भ्याकेन्सी (कामको रिक्त पद) तीन वर्षदेखि निरन्तर घटिरहेको छ ।
ओएनएसको रिपोर्ट अनुसार, जून २०२४ देखि १२ महिनाको अवधिमा १ लाख ७८ हजार जनाको काम (पे रोल जब) गुमेको छ । बेलायतको रोजगार बजार निरन्तर कमजोर बन्दै जाँदा अर्को महिना ब्याजदर कटौतीको सम्भावना अझ बढी भएको विश्लेषकहरूले औंल्याएका छन् ।
सरकारले अर्थतन्त्र सुधार गर्न अझ अगाडि बढ्नुपर्ने बताउँदा प्रतिपक्षी दल कन्जरभेटिभले बेरोजगारी वृद्धिलाई दुर्भाग्यपूर्ण भनेको छ । बेलायत महँगीको चपेटामा पनि परेको छ । गत जून महिनामा अपेक्षाभन्दा बढी मूल्य बढेका कारण मुद्रास्फीति ३.६ प्रतिशतमा पुग्यो जुन जनवरी २०२४ पछिको उच्च हो ।
सरकारी तथ्यांकले खाद्यान्न, इन्धन, कपडा, हवाई र रेल भाडामा उच्च मूल्यवृद्धिले मुद्रास्फीति बढ्न योगदान पुगेको देखाएको छ । मुद्रास्फीति बैंक अफ इङ्गल्याण्डको २ प्रतिशतको लक्ष्य दर भन्दा धेरै उच्च छ ।
बैंक अफ इङ्गल्याण्डले अब मुद्रास्फीति उच्च रहनुको आधारभूत कारण निर्धारण गर्ने प्रमुख निर्णय गरेको छ, किनकि यो अर्को महिना ब्याजदर घटाउने कि नघटाउने भन्ने निर्णयमा रोजगार बजार र व्यावसायिक विश्वाससँगै एक प्रमुख कारक हुनेछ ।
रोजगारदाताहरूले जागिर भर्ना रोकेर लागत घटाउन एआई प्रयोग गर्ने क्रम बढेपछि बेलायती विश्वविद्यालय स्नातकहरूले २०१८ पछि सबैभन्दा कठिन रोजगार बजारको सामना गरिरहेको तथ्याङ्कले देखाएका छन् ।
विश्वकै लोकप्रिय जागिर खोजिने साइट इन्डिडका अनुसार, हालै स्नातकहरूका लागि गरिएको विज्ञापन संख्या गत वर्षको तुलनामा ३३ प्रतिशतले घटेको छ जुन सात वर्षमा सबैभन्दा कम स्तरमा छ ।
जून महिनाको मध्यसम्म समग्र जागिर पोस्टिङ मार्च अन्त्यको तुलनामा ५ प्रतिशत कम थिए । इन्डिडको ७ टिप्समा आफ्नो रोजगारीका विकल्पहरूको विश्लेषण, आफ्नो करिअरको आकांक्षा परिभाषित गर्न, आफ्ना विकल्पहरू पहिचान गर्न, आफ्नो नेटवर्क बनाउन, खुला विचार राख्न, अनलाइन आवेदन दिन र आफ्नो बायोडाटा व्यक्तिगत रूपमा बुझाउन सुझाइएको छ ।
रोजगारदाताले उच्च कर र अप्रिलबाट लागू गरिएको न्यूनतम ज्याला परिवर्तनको सामना गर्नु परेकाले रोजगार बजार घटेको विश्लेषकहरुको बुझाइ छ ।
बेलायतमा स्नातकहरूको संख्या तीव्र रूपमा बढेको छ । यो वृद्धिले प्रतिस्पर्धालाई तीव्र बनाएको छ र धेरैलाई उनीहरूको योग्यता स्तरभन्दा तलको भूमिकामा धकेलेको छ । धेरै ग्र्याजुएट्स इन्ट्री लेभलको भूमिका अभावका कारण काम खोज्न संघर्ष गरिरहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार मार्च र मे बीचको तीन महिनामा वार्षिक तलब वृद्धि दर पनि ५ प्रतिशतमा झरेको छ ।
जोन्सन ग्रुप यूकेका आर्थिक परामर्शदाता तथा इसेक्स युनिभर्सिटीका प्रा. मुकुन्द बाँस्तोलाको बुझाइमा हालै बेलायतको बेरोजगारी दर ४.७ प्रतिशत पुगेको छ, जसले श्रम बजारमा विस्तारै संकट बढ्दै गएको संकेत गर्छ । त्यस्तै, मुद्रास्फीति दर पनि ३.६ प्रतिशतमा पुगेको छ, जुन जनवरी २०२४ यताकै उच्चतम हो । यी दुई मुख्य आर्थिक सूचकहरूले प्रत्यक्ष रूपमा जनजीवनमा प्रभाव पारिरहेका छन् ।
‘महँगी बढ्दा खाद्यान्न, इन्धन, आवास, यातायात र अन्य आवश्यक सेवाहरूको मूल्य वृद्धि हुन्छ, जसले मध्यम र निम्न आय भएका परिवारहरुलाई सबैभन्दा बढी असर गर्छ। बेरोजगारीसँगै आयको स्रोत कम हुँदा जीवनयापन झनै कठिन बन्दै गएको छ’, डा. बास्तोलाले भने ।
बेलायतमा आर्थिक गतिविधिमा देखिएको मन्दी, उच्च ब्याजदरहरू र उपभोक्ताको खर्चमा आएको गिरावटले आन्तरिक अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । व्यवसायहरूमा लगानीको गति सुस्त भएको छ, जसले दीर्घकालीन उत्पादनशीलता र रोजगारी सिर्जनामा पनि असर गरिरहेको छ ।
बेलायतको अर्थतन्त्र विश्वव्यापी घटनाक्रमसँग पनि गहिरो रूपमा जोडिएको बताउँछन् बास्तोला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार नीतिमा गरेका कडा निर्णयहरुले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता सिर्जना गरेको छ, उनले भने, साथै; युक्रेन–रसिया युद्ध र मध्यपूर्वमा जारी द्वन्द्वहरूले ऊर्जा आपूर्तिमा बाधा पुर्याइरहेका छन् ।
बेलायत जो अझै पनि ठूलो मात्रामा आयातमा निर्भर छ, यस्ता भू–राजनीतिक अस्थिरताका कारण मूल्यवृद्धि र आपूर्ति संकटसँग जुध्न बाध्य भएको छ । जसले यहाँको जनजीवनमा प्रत्यक्ष असर पुर्याएको पाइन्छ ।
लन्डनमा १० वटा टेक वे रेष्टुरेन्ट ‘होली काउ’ चलाइरहेका एनआरएनए आईसीसी पूर्व अध्यक्ष कुल आचार्य बेलायत सरकारको नीति, अतिरिक्त कर तथा आर्थिक संकटले अहिले साना तथा मझौला व्यवसायमा संकट भएको बताए ।
‘बेलायत आफैं रिसेसनमा छ । अर्थतन्त्रलाई बलियो बनाउन बेलायतले विदेशबाट एकैपटक धेरै विद्यार्थी र वर्क परमिटमा कामदार भित्र्याएर अहिले जागिर पाउन मुश्किल भएको छ’, उनले भने ।
लन्डन आएको २६ वर्षमा आफूले सधैं काम लगाइ दिए पनि अहिले आफ्नो व्यवसायले २५० जनाबाट १०० जति कामदार कटौती गर्नुपरेको आचार्यले बताए । यो कटौतीमा प्रविधिको प्रवेश, कामदारको तलब थ्रेसहोल्ड वृद्धि र मन्द व्यापार मुख्य कारण रहेको उनी बताउँछन् ।
आचार्यले कतिपय कम्पनीहरुले मोटो रकम लिएर वर्क परमिटमा नेपालबाट कामदार ल्याउने तर काम नदिने, काम दिए पनि पर्याप्त ज्याला नदिने र अनावश्यक दुःख दिने गरेको गुनासो दिनहुँ सुन्नु परेको पनि बताए ।
उनले नेपालबाट आउने विद्यार्थीलाई राम्ररी बुझेर साथमा केही महिनालाई पुग्ने थोरै बचत भए मात्र पनि लिएर आउन सुझाएका छन् । ‘अहिले यहाँको अवस्था जटिल छ, कमाउँछु भन्ने सोच राखेर बेलायत आए झन् दुःख बेहोर्नुपर्छ’, उनी भन्छन् ।
प्रतिक्रिया 4